नेपाल आएका पर्यटकलाई पेटको समस्या धेरै देखिन्छ। उनीहरुलाई दिसा लाग्ने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्याले बढी सताएको हुन्छ। ३० वर्षदेखिको अवस्था हेर्ने भने यो समस्यामा खासै परिवर्तन भएको छैन। यसमा रेस्टुरेन्ट हाइजिनले ठूलो भूमिका खेल्छ। बाहिर भएको एउटा अध्ययनले रेस्टुरेन्ट हाइजिनलाई व्यवस्थित गरेको खन्डमा समस्या समाधान हुने देखिएको छ।
पर्यटक नेपाल आउने योजनामा छ भने उसले यहाँका सबै सुविधा इन्टरनेटमा खोज्न थाल्छ। त्यो समयमा उसले स्वास्थ्य सुविधा, स्वास्थ्यमा देखिने समस्या, उपचारको सहजताबारे पनि खोज्छ। उसले औषधि बोकेर आउँछ। यसलाई सेल्फ ट्रिटमेन्ट भनिन्छ। आफूले बोकेर ल्याएको औषधिले भएन, निकै गाह्रो भयो भने मात्र अस्पताल आउने हुन्।
सरकारी स्तरका बेवसाइटमा यस्ता कुरा निकै कम भेटिन्छन्। पर्यटक यहाँ आएर बिरामी हुने मात्र होइन, आउँदासमेत विभिन्न रोग लिएर आउन सक्छन्। यस्ता विषयमा राज्यले चासो दिनुपर्छ। यसले पछिसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रभावित बनाउन सक्छ।
हामीले करिब ३५ वर्षदेखि ट्राभल मेडिसिन सेवा दिइरहेका छौँ। यहाँ बिरामी भएर आउने पर्यटकले बेलाबेलामा गुनासो गर्छन् कि, उपलब्ध स्वास्थ्य संस्था, आइपर्न सक्ने समस्याबारे पहिले नै भनिदिए सतर्क हुन सजिलो हुन्थ्यो।
नेपालका ठूला सहरमा दिन प्रतिदिन प्रदूषण बढ्दो छ। जसले रुघाखोकी, इन्फ्लुएन्जा, छातीमा समस्या, श्वास फेर्न समस्या लगायतका समस्या धेरै हुन्छ। गत वर्ष खुम्बुमा जाने धेरै पर्यटकलाई इन्फ्लुएन्जा भएर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो। पर्यटकले इन्फ्लुएन्जा भ्याक्सिन लगाउन जरुरी छ। यसबारे सरकारले बताउन सक्नुपर्छ।
अर्को समस्या भनेको लेक लाग्नु हो। आजकल पर्यटकहरु एडभेन्चर ट्राभलमा रुचि राख्न थालेका छन्। मुटु, मिर्गौला प्रत्यारोपण गरेका, शरीरका ठूलाठूला शल्यक्रिया गरेका व्यक्ति, गर्भवतीसमेत टे«किङ जान चाहन्छन्। उनीहरुले धेरैले आफ्ना डाक्टरसँग परामर्श गरेर आएका हुन्छन् नै। तर यहाँको अवस्था जति विकट ठाउँ गयो, उति नै स्वास्थ्य सेवा पनि विकट छ। यस्तो समयमा हामीले उनीहरुलाई जाने ठाउँको अवस्था, स्वास्थ्यमा देखिन सक्ने समस्या, समस्या भए कसरी समाधान हुन्छ, चिकित्सक, उद्धारको व्यवस्था कस्तो छ भनेर सम्पूर्ण जानकारी दिनुपर्छ। त्यो जानकारी दिने काम हुँदैन।
गाइडहरुले समेत स्वास्थ्य सेवाको अवस्थाका बारेमा जानकारी दियो भने पर्यटक ती क्षेत्रमा जाँदैनन् भन्ने डरले सबै जानकारी लुकाउँछन्।
आजकल लेक लागेर मर्नेहरुको संख्या धेरै छ। हरेक वर्ष ७÷८ जना लेक लागेर मर्छन्। लेक लाग्ने समस्याबारे जानकारी दिनुपर्छ। एभरेस्टको खुम्बु क्षेत्रमा ९० प्रतिशत पर्यटकलाई लेक लागेर उद्धार गर्नुपर्छ।
नाम्चे, फेरिचे, लुक्ला, खुम्बु, गोक्योमा मेडिकल स्टेसन छ। तर उनीहरुलाई यसबारे थाहा नै छैन। त्यहीँ उपचार हुने भए पनि जानकारीको अभावमा उनीहरु ठूलो समस्यामा पर्छन्।
यो पटक सबैभन्दा धेरै डेंगुका बिरामी ठमेलबाट आएका थिए। एक जना पर्यटक जोडी हामीकहाँ आए। श्रीमान्लाई ज्वरो आइरहेको थियो। त्यो समयमा डेंगु फैलिरहेको अवस्था थियो। उनलाई डेंगु भएछ। उनको उपचार भयो। पछि उनले भने,
‘हामीलाई यहाँ डेंगु फैलिरहेको छ भन्ने जानकारी मात्र दिएको भए म फुल बाहुला भएको लुगा लगाएर हिँड्थें, सर्तक हुन्थें। यस्तो जानकारी त पर्यटकलाई होटलबाटै पनि दिने व्यवस्था हुनुपर्छ।’
नेपाल आउने पर्यटकलाई यस्ता कुराको जानकारी दिनुपर्छ ताकि उनीहरु सुरक्षित हुन सकून्। हामीले लुकाएर राम्रो हुने होइन।
अर्को भनेको सडक दुर्घटनाबारे पनि उनीहरुलाई सही जानकारी दिनुपर्छ। पछिल्लो समय सडक दुघर्टना दिन प्रतिदिन बढ्दो छ। हरेक दिन सडक दुर्घटनामा परी ज्यान गुमाइरहेका छन्। हामीसँग परामर्श लिन आउने पर्यटकलाई सकेसम्म
भीडभाडयुक्त साधनभन्दा पर्यटक बस नै प्रयोग गर्न सल्लाह दिन्छौँ।
- (सिविक अस्पतालकी मेडिकल डाइरेक्टर पाण्डेसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)
यो पनि :