काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिबेला कर्मचारीमा सरुवाको डर छाएको छ।
स्वास्थ्य मन्त्रालयमा मन्त्री फेरिनु र कर्मचारी सरुवा हुने चलन पुरानै हो। नयाँ मन्त्रीले मन्त्रालयमा जिम्मेवारी लिएर पदवहाली गरेपछि पहिलो काम नै कर्मचारीको सरुवा गर्न थाल्ने विगतको अनुभव भएका कारणले पनि कर्मचारीमा त्रास फैलिएको हो।
स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाल आएपछि कर्मचारीहरु फेरि पनि जिम्मेवारी हेरफेर हुने भयो भन्न थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते ढकाललाई स्वास्थ्य र स्वास्थ्यको जिम्मेवारी सम्हालिरहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेकाे हुन्।
प्रधानमन्त्री ओलीका विश्वासपात्रका रुपमा चिनिएका ढकाल स्वास्थ्य मन्त्रालय आएपछि एकथरि कर्मचारीमा उल्लास र अर्काथरी कर्मचारीमा सरुवा हुने पीरले निराशा छाइरहेको अवस्था छ।
राजनीतिक आस्थाका आधारमा आफु अनुकूल कर्मचारी सरुवा गर्ने प्रचलनले मन्त्रालयमा पुरानै हो।
कर्मचारी सरुवालाई स्वास्थ्य मन्त्रालयको दीर्घ रोगकै रुपमा पनि चिनिन्छ।
एक कर्मचारी भन्छन्,‘अहिलेका मन्त्रीले एक महिना हुन लाग्दा पनि सरुवा गरेका छैनन्। अलि अचम्म लागेको छ। एकैपटक ठूलो संख्यामा सरुवा पो गर्छन कि?’
ती कर्मचारीको अनुमान जस्तै नयाँ मन्त्री आउने भएपछि एकथरी कर्मचारीमा आफ्नो सरुवा हुने ठानेर मानसिक रुपमै तयार भएका भेटिन्छन्।
यो समय मन्त्रालयमा प्रशासन महाशाखाका सहसचिव शिवराम न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा, ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादवलगायतको नाम सरुवा हुने लिस्टमा कर्मचारीले राखेका छन्। यी कर्मचारी डेन्जर जोनमा रहेको मन्त्री निकटका एक कर्मचारीले जानकारी दिए।
यसबीचमा, समायोजनका क्रममा कोशी अञ्चल अस्पताल पुगेका डा गुणराज लोहनी काठमाडौं आउने दौडमा छन्।
स्रोतका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा विवेकलाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा, केन्द्रका प्रमुख डा सागरकुमार राजभण्डारीलाई कुनै एक अस्पतालमा, वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई इपिडिमियोलोजीमा र वीरमा मन्त्री निकटका व्यक्तिलाई निर्देशक बनाउन लागिएको छ।
यसका साथै, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक बन्नका लागि डा सन्तोष पौडेलले दौडधुप समेत सुरु गरेको बताइएको छ। डा पौडेल जुनियर भएको भन्दै केहीले विरोध समेत गरिरहेका छन्।
ट्रमा सेन्टरमा नै पदस्थापन भएका ११औं तहका डा मदनकुमार उपाध्याय पनि काठमाडौंमा नै आउन चाहिरहेका छन्। डा उपाध्यायलाई उपेन्द्र यादव मन्त्री हुँदा वीरगन्जस्थित नारायणी अस्पतालमा कामकाज गर्न खटाइएको हो।
पदस्थापन ट्रमामा भएका कारण पनि डा उपाध्यायले ट्रमामा नै पदस्थापन होस् भन्ने चाहिरहेको मन्त्री ढकाल निकटका एक कर्मचारीले जानकारी दिए।
'ट्रमामा नभए मन्त्रालय वा विभागका कुनै महाशाखामा भए पनि उहाँ आउन खोज्नु भएको छ', ती कर्मचारीले भने।
उनका अनुसार उपचारात्मक सेवा महाशाखामा रहेका डा तारा पोखरेल पनि डेन्जर जोनमा रहेका छन्।
स्वास्थ्य मन्त्रालयबाट केही समय अघि अवकाश पाएका एक सहसचिवले भनेका थिए,‘ स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवा ठूलो समस्याको रुपमा रहेको छ। चाँडोचाँडो मन्त्री फेरिरहने र आएपछि पहिलो काम नै कर्मचारी सरुवा गर्ने प्रवृत्तिले स्वास्थ्यले अन्य मन्त्रालयले जस्तो काम गर्न नसकेको हो।'
हुनपनि नयाँ सरकार गठन भएयता स्वास्थ्यमा ३ जना मन्त्री फेरिए। मन्त्री फेरिएसँगै विभागमा महानिर्देशक, मन्त्रालयका कर्मचारी पनि फेरिएका छन्।
के भन्छन् मन्त्री ढकाल?
स्वास्थ्यमन्त्री ढकालले राजनीतिक आस्थाका आधारमा नभइ कामका आधारमा कर्मचारी फेरबदल गर्ने अभिव्यक्ति दिँदै आएका छन्।
मन्त्री ढकाल मन्त्रालय आएको डेढ महिना पुरा भएको छ। सुरुका दिनमा राजधानीस्थित ठूला अस्पताल, चितवन, धरानका अस्पताल प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका थिए।
उनले अन्य मन्त्रालयभन्दा विकृत पाएको र यो समयमा आफ्नो तीतो अनुभव रहेको बताउँदै आएका छन्।
स्वास्थ्यमन्त्रीका रुपमा मंसिर ६ गते पदावहालि गर्दै भनेका थिए, 'मन्त्रालयमा निष्ठा र इमानको खडेरी हुन नदिई आस्थाका आधारमा भन्दा कामका आधारमा कर्मचारीलाई व्यवहार गरिने छ।’
उनले आइतबार औषधि व्यवस्था विभागको एक कार्यक्रममा मन्त्रायमा कर्मचारी सरुवा ठूलो समस्या रहेको बताएका थिए।
यद्यपी, अन्य स्वास्थ्यमन्त्रीले जस्तै कर्मचारी सरुवामा तत्काल चासो नदेखाएका ढकालले यसलाई निरन्तरता दिन्छन् वा अबको काम सरुवामा नै केन्द्रित गर्छन समयले देखाउने छ।
तर, उनले भनेझै आस्थाका आधारमा भन्दा कामका आधारमा कर्मचारीलाई व्यवहार गरिने कुरामा विश्वास गरिहाल्न कर्मचारीलाई भने ग्राहो परेको छ।