ओस्टिओपोरोसिस एक यस्तो स्थिति हो, जसमा शरीरका हड्डीहरु निकै कमलो र कमजोर हुन्छन् । हड्डी यतिसम्म कमजोर हुन्छन् कि खोक्दा, निहुँरिदा दुख्ने र हलुका तनाव अथवा सानो चोटपटक लाग्दा पनि भाँचिन सक्छन् ।
ओस्टिओपोरोसिसका कारण हुने फ्र्याक्चरले प्रायजसो पिठ्यू, नाडी र मेरुदन्डको हड्डीलाई असर पार्ने गर्छ । ओस्टिओपोरोसिसले महिला र पुरुष दुवैमा आफ्नो असर देखाउँछ तर पनि बढी भने रजस्वला रोकिइसकेका एसियाली महिला र गोरो वर्णका महिलामा देखिने गर्छ ।
ओस्टिओपोरोसिसका जोखिम
– उमेरः अध्ययनका अनुसार जति उमेर बढ्दै जान्छ त्यति नै यो रोग लग्ने सम्भावना बढी हुन्छ ।
– पारिवरिक इतिहास : आफ्नो परिवारमा आमा–बुबा, दाजु–बहिनी कसैलाई ओस्टिओपोरोसिस छ भने त्यस्ता व्यक्तिहरुलाई पनि यो रोग देखिन सक्ने सम्भावना हुन्छ ।
– शारीरिक बनोटः महिला र पुरुष जसको शरीरको बनावट र आकृति सानो हुन्छ, त्यस्ता व्यक्तिमा यो रोग देखिने सम्भावना बढी हुन्छ ।
– शरीरमा हार्मोनको अवस्थाः रजस्वला रोकिने बेलामा इस्ट्रोजेन हार्मोनको कमीले गर्दा हड्डीहरु कमजोर हुने गर्छन् । यसका साथै थाइरोइड हार्मोन बढी हुने मानिसमा पनि ओस्टिओपोरोसिस हुने सम्भावना बढी हुन्छ ।
– क्याल्सियमको कमीः जीवनभर अधिक समयसम्म क्याल्सियमको कमी हुनुको ओस्टिओपोरोसिस रोग लाग्नुमा ठूलो भूमिका हुन्छ । क्याल्सियमको कमीले हड्डीको घनत्व घटाउँछ । समयभन्दा पहिले हड्डीको नोक्सान हुन्छ र भाँच्चिने सम्भावना बढ्छ ।
– भोजनको विकारः सीमित रुपमा पौष्टिक भोजनको खपत गर्ने महिला र पुरुष दुवैमा हड्डी गम्भीर रुपमा कमजोर भएको हुन्छ ।
– स्टिरोइड्ः लामो समयसम्म स्टिरोइड औषधिको प्रयोग गर्नाले हड्डी पुनःनिर्माणमा असर पु¥याउने गर्छ र यो रोग लाग्ने सम्भावना बढ्न जान्छ ।
– मदिरा सेवन : अत्यधिक रुपमा दिनहुँ मदिरा सेवन गर्नु ओस्टिओपोरोसिस रोगको मुख्य कारक तत्व हो ।
ओस्टिओपोरोसिसले ल्याउने जटिलता
विशेषगरी पिठ्यूँ र मेरुदन्डको हड्डी भाँचिनु ओस्टिओपोरोसिसको एक गम्भीर जटिलता हो । लड्दा पिठ्यूँको हड्डी भाँचिने, अपांगता हुने र मृत्यु हुने सम्भावना बढी हुन्छ । यसका साथसाथै ढाड दुख्ने, शरीरको उचाइ घट्ने र शरीर कुप्रिने गर्छ ।
ओस्टिओपोरोसिस निवारणका उपाय
– प्रोटिनः हड्डी विकासको निम्ति प्रोटिन निकै आवश्यक पर्छ । यस कारण खानाबाट प्रोटिनको मात्रा नपुगेमा डाक्टरको सल्लाहअनुसार प्रोटिन अन्य स्रोतबाट पूरा गर्नुपर्ने हुन्छ ।
– शारीरिक वजनः उपयुक्त तौल र वजनको व्यवस्थापन गर्नु हड्डी स्वास्थ्यको निम्ति अत्यन्त जरुरी हुन्छ ।
– क्याल्सियमः दूध र अन्य दूधजन्य उत्पादन, सागपात, सोयाको उपजहरु सेवनले शरीरमा क्याल्सियमको मात्रा केही हदसम्म पु¥याउने गर्छ र यसबाट नपुगेमा डाक्टरको सल्लाहबमोजिम बहिरी रुपमा अन्य स्रोतबाट पूरा गर्नुपर्ने हुन्छ ।
– भिटामिन डीः भिटामिन डीले शरीरमा क्याल्सियम सेचन गर्न साहयता गर्छ ।
– व्यायामः व्यायाम गर्नाले हड्डी मजबुत हुने र हड्डी नोक्सान हुने गतिमा कमी आउने गर्छ ।
– घामको किरणः हप्ताको ३÷४ दिन विशेषगरी जाडो याममा बिहानको पारिलो घाममा बस्ने बानी बसाल्नु निकै फाइदाजनक हुन्छ ।