समर्पण श्री
काठमाडौं- २५ वर्षअघि नेपालमा न्यूरो सर्जरी सेवा र सर्जनको अभाव थियो। केवल वीर अस्पतालमा मात्र संचालनमा थियो न्यूरो सर्जरी सेवा। तत्कालीन अवस्थामा करिब २ करोड जनसंख्या भएको नेपालमा एक ठाउँमा मात्र न्युरो शल्यक्रिया हुनु दुःखदायी थियो।
त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा त्यतिबेला निर्देशक थिए डा गोविन्द शर्मा। उनी सन् १९९४ मा अमेरिका पुगे। उनको भेट प्रा डा मेर्विन बेगनसँग भयो। अमेरिकी सोसाइटी अफ न्यूरो सर्जनका अध्यक्ष थिए डा बेगन।
निर्देशक डा शर्माको चाहना थियो– टिचिङमा न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने।
डा शर्माले बेगनलाई यो विषयमा जानकारी गराए।
संयोग नै भनौं, डा बेगन पनि नेपालजस्तो विकासशील देशमा न्युरो सर्जरीको विस्तार गर्ने सोचमा रहेछन्। डा शर्माको प्रस्तावपछि बेगनले अमेरिकाका विभिन्न व्यक्ति तथा संस्थाहरूसँग छलफल चलाए। त्यसपछि उनले नेपाल आउने निधो गरे।
डा बेगन सन् १९९५ मा धर्मपत्नी क्यारल बेगनका साथ नेपाल आए। नेपाल आउने क्रममा उनले न्युरो सर्जरी सेवा सुरु गर्न आवश्यक उपकरण र सामग्री पनि साथमा नै ल्याएका थिए।
तर, टिचिङमा न्युरो सर्जरी सेवा सुरु गर्न स्थानको अभाव थियो।
अस्पतालमा एउटा बन्द भएको कोठा थियो। सोही कोठामा न्यूरो सर्जरी युनिट बनाउने निर्णय भयो। नर्सिङ प्रमुख कृष्णा प्रजापतिले बन्द भएको कोठा खोलिदिइन्। कोठामा धुलै धुलो र फोहोर थियो।
बेगन दम्पती अस्पतालका कर्मचारीसहित अरुले पनि कोठा सफा गर्न मद्दत गरे। नर्स प्रजापतिका अनुसार डा बेगनकी श्रीमती क्यारलले सो कोठाको भुईं र भित्ता पुछ्ने काम गरेकी थिइन्।
‘त्यहाँ क्यारलले फोहर कोठाको भुईं र भित्ता आफैं पुछ्नुभयो। उहाँको इच्छा र लगाव देख्दा हामी दंग पर्यौं,’ नर्स प्रजापतिले २५ वर्षअघिको दिन सम्झँदै भनिन्।
अस्पतालका पूर्व निर्देशक डा भोलाराज जोशीका अनुसार सो समयमा टिचिङमा न्युरो सर्जरी युनिट खोल्नु हुँदैन भनेर केहीले विरोधसमेत गरेका थिए। ‘तर सबै बाधा र अवरोध चिर्दै युनिट सुरु भयो,’ डा जोशीले भने।
डा जोशीका अनुसार सुरुमा ६ हप्ताका लागि भनेर नेपाल आएका प्रा डा बेगन ५ वर्षसम्म नेपालमा नै बसे। अहिले पनि डा बेगन हरेक वर्ष नेपाल आउने र केही समय बसेर अमेरिका फर्किने गरेका छन्।
०००
यस वर्ष पनि डा बेगन दम्पती नेपाल आएका थिए। बिहीबारसम्म उनीहरू काठमाडौंमा नै थिए। अस्पतालमा न्युरो सर्जरी सेवा सुरु भएको २५ वर्ष पुगेको उपलक्ष्यमा सोमबार बेगन दम्पतीलाई सम्मान गरिएको छ।
अस्पतालको न्यूरो सर्जरी विभागले राजधानीमा विशेष कार्यक्रम गरी बेगन दम्पतीलाई सम्मान गरेको हो। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले बेगन दम्पतीलाई सम्मान गरेका हुन्। सो अवसरमा न्युरो सर्जरी सेवा सुरु गर्न सहयोग गर्ने तत्कालीन समयका सक्रिय नेपाली डाक्टर र नर्सलाई पनि सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा प्रा डा बेगनले भने, ‘२५ वर्षअघि शून्यबाट सुरु भएको न्युरो सर्जरी युनिट अहिले हुर्किएर निकै ठूलो भइसकेको छ। यो देख्दा मलाई खुसी लागेको छ।’ उनले न्युरो सर्जरी विभागलाई अझै विकास र विस्तार गर्नुपर्नेमा जोड दिए।
‘म डा गोविन्द शर्मालाई धेरै धन्यवाद दिन चाहन्छु। किनकि उहाँकै प्रयासका कारण म नेपाल आउन सकेको हुँ। आज उहाँ यो संसारमा हुनुहुन्न। तर उहाँको प्रयासबाट सुरु भएको न्यूरो सर्जरी सेवा अहिले हुर्किएको छ। बढ्दै गएको छ,’ डा बेगमले स्व डा शर्मा र न्युरो सर्जरी विभागको स्मरण गरे।
०००
१९९५ जनवरीमा टिचिङ अस्पतालमा पहिलोपटक न्यूरो सर्जरी ओपडी सेवा सुरु भएको थियो। न्यूरोको पहिलो शल्यक्रिया भने फेब्रुअरी ६ मा भएको हो। न्युरो सर्जरी सुरु भएको पहिलो वर्ष १ सय १ जनाले सेवा पाएको न्युरो सर्जन डा सुशील शिल्पकार बताउँछन्। ‘सुरुमा ६ बेडबाट न्युरो सर्जरी युनिट सुरु भएको थियो,’ डा शिल्पकारले भने।
डा बेगनले न्यूरो सर्जरी युनिटको सुरुवात मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा पनि जोड दिए। यसका लागि उनले टिचिङका २ डाक्टरलाई तालिमसमेत दिएका थिए। तालिम लिनेमा थिए, डा मोहनराज शर्मा र डा सुशील शिल्पकार।
‘उहाँले हामीलाई हात समाएर सिकाउनुभयो। मध्यरातमा आएर अप्रेसन गर्न सिकाउनुभयो,’ न्यूरो सर्जरी विभागका हालका प्रमुख डा शर्मा सम्झन्छन्, ‘पछि दुवै डाक्टर तालिम लिन अमेरिका गयौं। हामी फर्केर आएपछि उहाँले नेपाल छाड्नुभयो। तर हरेक वर्ष नेपाल आउने गरिराख्नु भएको छ।’
०००
८५ बसन्त पार गरेका बेगनको अनुहारमा सोमबार खुसीको चमक थियो। लाग्थ्यो– २५ वर्षअघिको उत्साह र लगाव अहिले पनि उस्तै छ।
सोमबार सम्मानित हुँदा उनले २५ वर्ष अघिको विगत सम्झिएका थिए। र पुलकित हुँदै भनेका थिए, ‘म अत्यन्तै खुसी छु। किनकि, २५ वर्षअघि आफूले सुरु गरेको विभाग फलेको फुलेको आफ्नै आँखाले देख्न पाएँ।'
०००
२५ वर्षअघि टिचिङको साँघुरो कोठाबाट सुरु भएको न्यूरो सर्जरी सेवा अहिले निकै फस्टाएको छ। विभागीय प्रमुख डा शर्माका अनुसार हालसम्म टिचिङबाट १५ हजारभन्दा बढी बिरामीको न्युरो सर्जरी भइसकेको छ भने वर्षमा १ हजारभन्दा बढीले यो सेवा लिँदै आएका छन्।
सोही विभागका कारण अहिले टिचिङबाट दक्ष न्यूरो सजर्न उत्पादन हुन थालेका छन्। २५ वर्षअघि नेपालमा जम्मा ३ जना मात्र न्यूरो सर्जन थिए भने हाल एक सयभन्दा माथि पुगेको तथ्यांक छ। न्युरो सर्जन उत्पादनको मुहान नै टिचिङ भएको डा शर्माको दाबी छ।
यहाँसम्म कि टिचिङले सन् २०१० मा न्युरो सर्जरीमा पिएचडी सरहको एमसिएच कार्यक्रम नै सुरु गर्न सफल भएको छ। हालसम्म ८ जनाले एमसिएच गरिसकेका छन्। न्युरो सर्जरी पनि सब-स्पेसलाइजेसनमा जानुपर्ने डा शर्माको मत छ। यसका लागि काम अगाडि बढाइरहेको डा शर्माले जानकारी दिए।
‘हाम्रो प्रमुख उद्देश्य भनेको बिरामीको केयर गर्ने, राम्रो उपचार गर्ने, नयाँ जनशक्ति उत्पादन गर्ने र अनुसन्धान गर्ने हो,’ विभागीय प्रमुख शर्माले भने, ‘यसमा हामी सफल भइरहेका छौं।’ अनुसन्धानमा पनि अस्पताल अब्बल रहको उनको दाबी छ।