प्रिय डाक्टर!
तिमीलाई नचाहिउन्
प्रलोभनका इशाराहरू
अनि नचाहिउन्
सम्पन्नताको खोक्रो मज्जा
बस्
एउटै कामना छ
पूर्वजन्मका संस्कारद्वारा
श्रद्धाका साथ
तिम्रा हातहरूले
सेवा र सत्कार गर्न सकुन्
सर्वसुलभ उपचार गर्न सकुन्
नेपाली जनतालाई!!
व्यर्थै खेद छ
महापुरुषूरुको संगतहरूमा
ती देवताको छायाहरूमा
समयको होस बुझाउने
सुपरिचित अनुहारहरूमा
त्यसैले त
बस्
एउटा सन्देश लिएर आऊ
प्रिय डाक्टर
मानम्
एउटा एप्रोन लाउने ठिटो
जो सुन्दरताको उपासना गर्छ र
सत्यको झिल्का दिने
सम्झौता गरिरहन्छ
बरु
पूँजीवादी समाज
अनेक टुना राख्न खोजिरहोस् र
पनि टोलाइरहोस्,
सेवाको भावलाई नमस्कार टक्र्याऊ
अनि पेसालाई उज्यालो रसिलो बनाउ
प्रिय डाक्टर
स्वदेश फर्किएर आऊ।
शून्यप्राय छन्
प्रिय डाक्टर
तिमी बिना
तिमीले आफू हार खादा रुमल्लिने
गल्लिहरु,
तिमी बिना
तिमीले बाटो बिराउँदा अलमलिने
कुइराहरु,
तिमी बिना
तिमीले सानो हुँदा
कालो पाटीमा डाक्टर बन्न
बुनेका अक्षरहरु!
शून्यप्राय छन्
प्रिय डाक्टर
तिमी बिना
तिम्ले चिकित्सा पढ्न
सरकारले लगानी गरेका छात्रवृत्तिहरु,
तिमी बिना
अन्तिम वर्ष पास हुँदा
तिमीले होस्टेलको सिरानीमा
बगाएका आँसुहरु,
तिमी बिना
तिमीले शिक्षण अस्पतालको
इमर्जेन्सी वार्डमा
बिरामीको ओठमा आविष्कार
गरेका मुस्कानहरू,
तिमी बिना
तिमीले जाजरकोटको
हैजा प्रकोपमा
एक्लो प्रयासले
गरेका चमत्कारहरु!
सबै शून्य शून्य छन्
प्रिय डाक्टर
तिमी बिना
तिम्रो बाबाको साहारा
आमाको न्यानो काँख
साथी संगीको हाँसो
अनि देशको
चिकित्सा जगत्!
अझै पनि तिमी
लाखौंलाख कमाउने
सोच र लोभमा परी
उतै बसिराख्न सक्छौ र?
के,तिमी आफूचाहिँ
आउने पिढीका लागि
गोविन्द केसी बन्ने
आँट गर्नु पर्दैन र?
के तिमीप्रतिको
सरकारको लगानी
बालुवामा पानी नै हो त?
प्रिय डाक्टर
पखेटा उम्रिएको भानहरुमा
विश्व परिक्रमा गरेर
विदेशमा नै गुँड बनाउने
सोचहरु त्यागिदेऊ
र केही माया देशका लागि
पनि साचिदेऊ!
बिन्ती
फर्किएर चाँडै आऊ
प्रिय डाक्टर
तिमी आउने बाहानामा
देश रोग मुक्त हुने बाटो हेरिरहेछ।
संसार संग्राम हो
तर पनि
तिमीलाई त मतलब हुनुहुँदैन
लोभ क्रोध हिंसाको
ईर्ष्या र हँसिलो लालीको
दुनियाको क्रूरताको
तिमीलाई त
वियोगमा ढल्किन लागेका
वृद्ध बा आमाको
उपचारमा लाग्न छ!
कठै!
ती आफ्ना सन्तान हुर्काउन
पगालेका छातीहरु
रोएका दिलहरु
टिल्पिलाएका आँखाहरु
आशाका मलिन धर्काहरु
टेक्ने अनेक पाइलामा
सन्तानकै छाप देख्ने
बा आमाका धर्तीहरु,
हेर्ने अनेक ताराहरूमा
सन्तानकै तस्बिर देख्ने
बा आमाका आकाशहरु,
तिमीलाई माया लाग्दैन र?
खै! तिमी कसरी पो
अन्जान सहरमा पोखिन सक्छौ र?
ती सागर बिना,
जसले तिमी यतिविध्न भरिन
बुँद बुँद खर्च गरेका छन्,
त्यसैले त
प्रिय डाक्टर
स्वदेश फर्किएर आऊ।
अनेकौं
संघर्षले चिथोरेका चेहेराहरूमा
आँग नछोपिने स्टकोटहरूमा
उधारोको निसानी टोपी सिउरिएर
तिम्रा बा
तिम्रो नजिक आउदैनन् र सपनीमा?
तिमी के भनेर सम्झाउँछौ बा लाई?
जब आफ्नै छोरो डाक्टर
हुँदा पनि
तिम्रा बा उपचार
नपाएर भौंतारिरहन्छन्!
प्रिय डाक्टर
तिमी त यो देशको
खम्बा हौ
जो बिना
स्वास्थ्य निति धर्मराउँछ
तर पनि
खै त्यो विदेशी भूमिमा
कसरी तिम्रो आदर्शयुक्त हृदयले
आन्नदको भक्तिभाव पाउँछ?
तिम्रा
गरिब बा आमालाई
नेपालमा
निःशुल्क उपचार गर्ने
प्रबन्ध खै कसले मिलाउँछ?
सारा रोग निको पारी
डोह्याएर घर कसले लान्छ ?
साझँ बिहान
औषधि कस्ले
पिलाउँछ?
जन्मदिने माटो र
बा आमा प्रतिको
सेवा भन्दा ठूलो स्वर्गीय
अनुभूति अरु के हुन सक्छ र?
साँच्चै एकचोटी
महाकवि देवकोटालाई आफूभित्र सुनाऊ
'खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ'
अनि
प्रिय डाक्टर
स्वदेश फर्किएर आऊ।
-डा अच्युत शाली घिमिरे
यो पनि