अशोक पोखरेल
मेडिकल फिजिसिस्ट (चिकित्सा भौतिकशास्त्री) भन्नाले भौतिक विज्ञान र सम्बन्धित उपकरणमा विशेषज्ञ, उपचारात्मक र नैदानिक चिकित्सा प्रक्रिया र उपचारको लागि टोलीको सदस्यको रूपमा प्राविधिक सहयोग प्रदान गर्ने दक्ष जनशक्ति भन्ने बुझिन्छ। मेडिकल फिजिसिस्टमा जीव विज्ञानको पनि राम्रो ज्ञान हुनु जरुरी छ।
क्लिनिकल मेडिकल फिजिसिस्टको भूमिका र जिम्मेवारी आवश्यकताका आधारमा भिन्न हुन्छन्। मुख्यतया क्यान्सर रोगको उपचारसँग सम्बन्धित उपकरण र कम्प्युटर प्रणालीहरूको सुरक्षा र प्रदर्शनसँग सम्बन्धित साथै रेडियोथेरापी, डायग्नोस्टिक इमेजिङ र आणविक चिकित्सासँग सम्बन्धित कार्यहरु मेडिकल फिजिसिस्टका कार्यहरुमा पर्दछन्।
चिकित्सा भौतिकशास्त्रीको भूमिकामा प्रायजसो विकिरण संरक्षण जिम्मेवारीहरू पनि समावेश छन्। आइएइए हाल मेडिकल फिजिक्सको क्षेत्रलाई मजबुत गर्न धेरै अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको छ। यसको प्रमुख कार्य मेडिकल फिजिसिस्टको अन्तर्राष्ट्रिय मान्यता सहितको भूमिका र जिम्मेवारी र उनीहरूको शिक्षा र प्रशिक्षणको लागि मुख्य आवश्यकताहरू, क्लिनिकल तयारी सहित परिभाषित गर्नु हो।
क्लिनिकल रूपमा योग्य मेडिकल फिजिसिस्टहरूको भूमिका र जिम्मेवारी र उनीहरूको शिक्षा र क्लिनिकल प्रशिक्षणको लागि यसले मुख्य भूमिका खेल्दै आएको छ। साथै यसले अन्य विभिन्न अनुसन्धानात्मक लेखहरु प्रकाशन गर्दै आएको छ। आइएइएको प्रकाशनलाई मेडिकल फिजिक्सको अन्तर्राष्ट्रिय संगठन र मेडिसिनमा अमेरिकन एसोसिएसन अफ फिजिसिस्ट मार्फत समर्थन गरिएको छ।
मेडिकल फिजिसिस्टहरू के गर्छन्?
चिकित्सा भौतिकशास्त्रीहरू विशेषगरी तीन क्षेत्रसँग सम्बन्धित छन्: क्लिनिकल सेवा र परामर्श, अनुसन्धान र विकास र शिक्षण। औसतमा तिनीहरूको समय यी तीन क्षेत्रबीच समान रूपमा वितरण गरिन्छ।
१) क्लिनिकल सेवा र परामर्श
धेरै मेडिकल फिजिसिस्टहरू क्यान्सर रोगको निदान र उपचारको क्षेत्रमा चिकित्सकको सहयोगीको रुपमा बिरामीको साथ संलग्न हुन्छन्। उदाहरणको रुपमा विकिरण विज्ञान विभागहरुमा बाह्य विकिरण बिम वा आन्तरिक रेडियोधर्मी स्रोतहरुको उपयोग गरेर, क्यान्सर बिरामीका लागि विकिरण उपचारको योजना बनाउने काममा मेडिकल फिजिसिस्टको भूमिका महत्वपूर्ण हुन्छ। यसका साथै क्यान्सर थेरापीमा प्रयोग भएका विकिरण स्रोतहरूबाट निस्कने विकिरणको सही मापन गर्नु पनि उनीहरुको प्रमुख कार्य हो।
आणविक औषधिको विशेषतामा मेडिकल फिजिसिस्टले चिकित्सकहरूसँगको समन्वयमा क्यान्सर भएको भागको पहिचान गर्ने र महत्त्वपूर्ण शारीरिक चरणहरू, जस्तै मेटाबोलिक दरहरू र रगत प्रवाह निर्धारण गर्ने प्रक्रियाहरूमा चिकित्सकसँग मिलेर काम गर्छन्। अन्य महत्त्वपूर्ण सेवाहरूमा उपचारसँग सम्बन्धित उपकरण प्रदर्शनको छानबिन, इमेजिङ प्रणालीमा गुणस्तर नियन्त्रणको संगठन, विकिरण स्थापनाहरूको डिजाइन र विकिरण जोखिमहरूको नियन्त्रणमार्फत गुणस्तर नियन्त्रण गरिन्छ। चिकित्सा भौतिकशास्त्रीबाट उपचार पद्दतिसँग देखिएका जटिल प्राविधिक समस्याको निमित्त क्लिनिकल र वैज्ञानिक सल्लाह साथै समाधानका निमित्त आवश्यक स्रोतहरु पहिचानको अपेक्षा गरिन्छ।
२) अनुसन्धान र विकास
मेडिकल फिजिसिस्टहरू चिकित्सा अनुसन्धान टोलीमा एक महत्वपूर्ण र अक्सर नेतृत्वदायी भूमिका खेल्छन्। तिनीहरूको गतिविधिहरूमा क्यान्सर, हृदय रोग, र मानसिक रोग जस्ता महत्वपूर्ण क्षेत्रहरूसहित, सीमाहरू समेटिएको हुन्छ। क्यान्सरमा विकिरणको प्रयोगपछि जैविक परिवर्तनको आधारभूत संयन्त्र, बिरामीको उपचारमा नयाँ आधुनिक मेसिनहरूको प्रयोग र विकिरणको सटिक मापनका लागि नयाँ प्रविधिको विकास जस्ता विकिरणसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान गर्ने काम गर्छन्।
मुटु रोगमा भौतिक विज्ञहरू रगत प्रवाह र अक्सिजनेसनको नापमा काम गर्छन्। मानसिक रोगमा रेकर्डिङ र बायोइलेक्ट्रिक क्षमताको व्याख्यामा काम गर्छन्। मेडिकल फिजिसिस्टहरू चिकित्सा क्षेत्रमा डिजिटल कम्प्युटरहरूको प्रयोग र डाइग्नोस्टिक समस्याहरूको समाधानका लागि सूचना सिद्धान्तको प्रयोग सहित सामान्य चिकित्सा महत्त्वको अनुसन्धानमा पनि काम गरिरहेका छन्। प्रोसेसिङ, भण्डारण र चिकित्सा छविहरू पुनःप्राप्ति; मानव शरीर र खाद्य सामग्रीमा रेडियो गतिविधिको मात्रा मापन र शरीरमा रेडियोधर्मी पदार्थहरूको शारीरिक र अस्थायी वितरण अध्ययन अनुसन्धानमा पनि काम गरिरहेका छन्।
मेडिकल फिजिक्स विज्ञहरू डायग्नोस्टिक रेडियोलोजीमा प्रयोग हुने नयाँ उपकरण र प्रविधिको विकासमा पनि संलग्न छन्। यसका साथै एक्स-रे छविहरूको हेरफेरको लागि चुम्बकीय र इलेक्ट्रो-अप्टिकल भण्डारण उपकरणहरूको प्रयोग, डिजिटल कम्प्युटर प्रविधिको प्रयोग गरेर स्थिर र गतिशील छविहरूको गुणात्मक मात्रात्मक विश्लेषण, तन्तुका विशेषताहरू र संरचनाको विश्लेषणको लागि विकिरण विधिका साथै अन्य नयाँ क्षेत्रहरूमा पनि सामेल छन्। कम्प्युटरीकृत टोमोग्राफी र चुम्बकीय रेजोनेन्स इमेजिङको एनाटमीको विस्तृत क्रस-अनुभागीय छविहरू प्रदर्शन गर्नका लागि महत्वपूर्ण मेडिकल फिजिसिस्टहरू इन्फ्रारेड र अल्ट्रासाउन्ड स्रोतहरूको प्रयोग गरेर इमेजिङ प्रक्रियाहरूमा अनुसन्धान र विकासमा पनि संलग्न छन्। हाल सक्रिय अनुसन्धान अन्तर्गत विभिन्न अनुसन्धान क्षेत्रहरूका विशिष्ट उदाहरणहरू यस क्षेत्रलाई समर्पित वैज्ञानिक पत्रिकामा भेट्न सकिन्छ ।
३) शिक्षण
प्रायः मेडिकल फिजिसिस्टहरू विश्वविद्यालय र कलेजहरूमा प्राध्यापन गर्छन, जहाँ उनीहरूले भविष्यका मेडिकल फिजिसिस्ट, रेजिडेन्ट चिकित्सक, मेडिकल स्टुडेन्ट्स र टेक्नोलोजिस्टलाई प्रशिक्षण दिन मद्दत गर्छन्। जसले निदान र उपचार गर्न प्रयोग गरिने विभिन्न प्रकारका उपकरणहरू सञ्चालन गर्छन्। तिनीहरू मेडिकल फिजिक्स, बायोफिजिक्स र रेडियोबायोलजीको पक्ष विभिन्न स्नातक र स्नातकोत्तर विद्यार्थीहरूका लागि कोर्सहरू पनि सञ्चालन गर्छन्।
मेडिकल फिजिसिस्टको योग्यता के हो?
धेरै विश्वविद्यालयहरूले मेडिकल फिजिक्समा शैक्षिक कार्यक्रमहरू प्रदान गर्छन् जुन मास्टर वा पिएचडीको डिग्री हुन्छ। मेडिकल फिजिसिस्ट हुनको लागि मान्यताप्राप्त संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा पिएचडी गरेको हुनुपर्छ। यी कार्यक्रमहरूमा प्रवेश गर्नुभन्दा पहिले सामान्य फिजिक्सको पूर्ण तयारी आवश्यक हुन्छ।
शैक्षिक प्रशिक्षण मात्रैले मेडिकल फिजिसिस्ट बनाउँदैन। चिकित्सा समस्याहरूको व्यावहारिक अनुभव आवश्यक छ। यो अनुभव एक रेसिडेन्सी ट्रेनिसिप वा अस्पतालमा एक वा दुई वर्षको पोस्ट डक्टोरल प्रोग्राम मार्फत प्राप्त गर्न सकिन्छ। मेडिकल फिजिक्स, फिजिक्स, रेडिएसन बायोलजी वा सम्बन्धित क्षेत्र र क्लिनिकल मेडिकल फिजिक्समा प्रशिक्षण गरेको हुनुपर्छ। क्लिनिकल मेडिकल फिजिसिस्टहरू मेडिकल स्कुल, अस्पताल वा क्लिनिकमा कार्यरत हुन्छन्। यी भौतिकशास्त्रीहरु क्लिनिकल सेवा र परामर्श, अनुसन्धान र विकास र शिक्षणबीच आफ्नो समय विभाजन गरी कार्यसम्पादन गर्दछन्। केहि मेडिकल फिजिसिस्टहरू औद्योगिक वा अनुसन्धान स्थितिहरूमा पनि काम गर्छन् र उनीहरु कुनै क्लिनिकल जिम्मेवारीमा हुँदैनन्। मेडिकल फिजिसिस्टले रेडियोलोजिस्टहरू र रेडिएसन आन्कोलोजिस्टहरूको शिक्षा र प्रमाणीकरणमा योगदान गर्छन्।
नेपालमा मेडिकल फिजिक्सको अवस्था
हालसम्म नेपालका कुनै पनि विश्वविद्यालयमा मेडिकल फिजिक्सको पढाइ हुँदैन। हाल नेपालमा जम्मा १३ जना नेपाली मेडिकल फिजिसिस्ट उपलब्ध छन्। बाँकी आवश्यक जनशक्ति भारत लगायतका देशबाट आयात भएका छन्। तर दु:खको कुरा अहिलेसम्म पनि लोकसेवा आयोगले मेडिकल फिजिसिस्टको लागि भनेर आधिकारिक रुपमा विज्ञापन निकाल्दैन। यहाँ विभिन्न क्यान्सर अस्पतालमा कार्यरत मेडिकल फिजिसिस्टहरु कि त भारत, बंगलादेश र इटालीबाट मास्टर डिग्री सकाएर काम गर्दैछन् भने कतिपय नेपालमा फिजिक्समा स्नाताकोत्तर गरी मेडिकल फिजिक्समा थेसिस गरी मलेसिया लगायतका देशमा ६ महिनाको क्लिनिकल प्रशिक्षण गरी नेपालमा लामो समयसम्म अनुभव सँगालेका विज्ञहरु छन्।
आइएइएले हालसम्म नेपालका ५ जना विद्यार्थीलाई इटालीमा मेडिकल फिजिक्स पढ्नको लागि छात्रवृत्ति प्रदान गरेको छ भने अन्य छोटो समयको तालिम पनि विभिन्न देशहरुमा प्रदान गर्दै आइरहेको छ। नीति निर्माण गर्ने तहमा बसेकाहरुलाई मेडिकल फिजिक्स र यसको आवश्यकताको बारेमा थाहा नभएर हो वा भएर पनि थाहा नपाएको जस्तो गरेको हो बुझ्न सकिएन। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने प्रत्येक स्वास्थ्य संस्था जहाँ एक्स-रे, सिटी स्क्यान र एमआरआई मेसिन छन्, त्यहाँ कम्तीमा १ जना मेडिकल फिजिसिस्ट हुन्छन् तर नेपालको अवस्था हेर्ने हो भने एकातिर दक्ष जनशक्तिको अभाव छ भने अर्कोतर्फ भएका जनशक्तिको पनि सही रुपमा परिचालन हुन नसक्दा समय क्रममा उनीहरु पनि बाहिर पलायन नहोलान् भन्न सकिँदैन। यसर्थ सम्बन्धित निकायले बेलैमा यतातिर पनि ध्यान पुर्याउनुपर्ने देखिन्छ।
(लेखक सेन्ट अन्ना युनिभर्सिटी हस्पिटल फेरारा, इटालीमा मेडिकल फिजिसिस्टको रेसिडेन्सियल तालिम गर्दैछन्।)