काठमाडौं- तपाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स), वीर अस्पतालमा उपचारका लागि जाँदै हुनुहुन्छ भने माथिको फोटोमा उल्लेख भएअनुसार सिसिटिभी क्यामेरा रहेछ भनेर ढुक्क नहुनुहोला। बरु सोही फोटोमा ठूला अक्षरमा लेखिएका पाकेटमारदेखि सावधान भन्ने कुरामा बढी ध्यान दिनुहोला र सचेत पनि।
अस्पतालमा सिसि क्यामेरा जडान त छ तर त्यहाँ भएका आधाभन्दा बढी क्यामेराले काम गर्दैन। 
र, यही मौकाको फाइदा उठाउँदै अस्पतालमा चोरीका घटना बढेको छ। 
वीर अस्पताल छिर्दै गर्दा हरेक स्थानमा विभिन्न जानकारी मुलक सन्देश लेखेका पोस्टर टाँसिएका छन्। जसको तल तपाई सिसिटिभि क्यामेराको निगरानीमा हुनुहुन्छ भनेर पनि लेखिएको छ। 
सिसी क्यामेराको निगरानीमा रहेछु भनेर वीर अस्पताल जाने सबैले आफु सुरक्षित भएको भ्रममा पर्न सक्छन्। तर वीर अस्पतालमा जडान भएका आधाभन्दा बढी सिसिटिभी क्यामेराले काम गर्दैनन्। भने, ओपिडि वार्डहरुमा  क्यामेरा जडान नै गरिएको छैन। न्याम्स भवनको माथिल्लो तलमा रहेको रहेको  विशिष्ट व्यक्तिको कक्ष (भिआइपी क्याबिन) रहेको भर्याङमा सिसिटिभीको निगरानीमा रहेको जानकारी टाँसिएको छ तर त्यहाँ कतै क्यामेरा जडान गरिएको छैन। 
.jpg)
त्यही भवनको वार्डमा भर्ना भएर सकेका बिरामीको पटकपटक सामान हराएको अस्पतालकै कर्मचारी बताउँछन्। 
तीन वर्षअघिबाट वीरमा क्यामेरा जडान गरिएको हो। ती कम गुणस्तरका क्यामेरा जडान गरिएको केही समय नहुँदै बिग्रिए।  अस्पतालले बिग्रेका क्यामेराका ठाउँमा नयाँ क्यामेरा जडान गरेको छैन। 
अस्पतालका अनुसार अस्पतालका विभिन्न स्थानका करिब ४० सिसिटिभी क्यामेरा जडान गरिएको छ। जसमध्ये करिब ३० क्यामेराले काम गर्दैनन्। राेचक कुरा त के भने वीर अस्पतालमा ठ्याक्कै कति क्यामेरा जडान छन् भन्ने जानकारी स्वयं अस्पताल प्रशासनलाई नै जानकारी छैन। 
केही दिन अघिमात्र अस्पतालको तेस्रो तलामा रहेको दन्तरोग विभागमा सामान चोरी भएको थियो। सो विभागका कर्मचारीले कसले सामान चोरी गरेको हो भनेर सिसिटिभी फुटेज हेर्न खोजे। तर त्यो दृश्य क्यामेरामा कैद भएको थिएन। किनकि त्यहाँ जडान भएको क्यामेराले कामै गर्दैनन्। 
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी भने अस्पतालभित्रका केही क्यामेरा मात्र बिग्रेको र बाँकी क्यामेराले काम गरिरहेको दावी गर्छन। उनले स्वास्थ्यखबरको जिज्ञासामा भने,‘कति क्यामेरा जडित छन्, त्यो त सोध्नुपर्छ तर धेरै बिग्रेका छन् भन्ने कुरा साँचो होइन। डेन्टल विभागको क्यामेरा बिग्रेको कुरा आएको छ। मर्मत गर्न भनिएको छ। केही दिनमा मर्मत हुन्छ। बाँकी क्यामेराले काम गर्छन।’
उनले अस्पतालको बाहिर भाग टिकट काउन्टर, अस्पतालको गेट, न्याम्स भवनको अगाडि रहेका सबै क्यामेराले काम गरिरहेको दावी गरे। 
क्यामेराले काम नगर्दा सेवाग्राही मात्र होइन अस्पतालकै कर्मचारीको सामान हराएपनि भेटिदैँन। 
एकवर्ष अघि  न्याम्स  भवनको तल्लो तलामा रहेको फार्मेसीको क्यास काउण्डर नै फोडेर ६० हजार रकम चोरी गरेका थियो । तर त्यहाँ जडान गरिएको क्यामेरालेल काम नगरेकाले चोरीबारे थप जानकारी भएन। 

‘अस्पतालमै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीकै समेत मोवाइल चोरी भयो तर भेटिएन। यहाँ हरेक दिन कसैको केही न केही सामान हराउँछ तर भेटिदैँन,’ अस्पतालका एक कर्मचारी भन्छन्।
अस्पतालका कर्मचारीले निर्देशकले भनेभन्दा विपरीत आधाभन्दा धेरै क्यामेराले काम नगरेको बताउँछन्। 
‘कुन क्यामेराले काम गरेको छ/छैन त्यो कुरा उपकुलपति र निर्देशक कसैलाई थाहा छैन। क्यामेराले काम गरेनगरेको  निगरानी पनि छैन। देखाउनका लागि क्यामेरा छ तर काम गर्दैन,’ ती कर्मचारीले भने।