काठमाडौं– कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग स्वास्थ्य सेवामा तीव्र रूपमा विस्तार भइरहेका बेला यसबाट हुने सम्भावित बिरामीको क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा अमेरिकन मेडिकल एसोसिएसन (एएमए) ले नयाँ अवधारणा अघि सारेको छ।
चिकित्सकीय सेवामा प्रयोग हुने एआई प्रविधिका कारण बिरामीलाई हानि पुगेमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षको अधिकार, भूमिका र जोखिम रोक्न सक्ने क्षमताका आधारमा निर्धारण गर्नुपर्ने एएमएको प्रस्ताव छ।
एएमएको डिजिटल हेल्थ एन्ड एआई सेन्टरले एआई प्रविधिको विकासदेखि स्वास्थ्य सेवामा प्रयोग र निगरानीसम्म संलग्न सबै पक्षको जिम्मेवारी स्पष्ट पार्ने नयाँ रूपरेखामाथि काम गरिरहेको जनाएको छ।
एएमएका अध्यक्ष डा. विली अन्डरवुड तृतीयले चिकित्सकीय एआईका कारण क्षति पुगेमा बिरामीले न्याय र क्षतिपूर्तिका लागि प्रभावकारी बाटो पाउनुपर्ने बताएका छन्।
‘चिकित्सकीय एआईका कारण क्षति पुगेमा बिरामीसँग न्याय खोज्ने अर्थपूर्ण विकल्प हुनुपर्छ। चिकित्सकले पनि आफूले उचित रूपमा जान्न र नियन्त्रण गर्न सक्ने विषयका आधारमा मात्रै जिम्मेवारी वहन गर्नुपर्ने विश्वासका साथ यी प्रविधि प्रयोग गर्न सक्नुपर्छ,’ उनले भनेका छन्।
एएमएले यस्तो रूपरेखा अघि सारेको बेला अमेरिकामा च्याटजीपीटीको स्वास्थ्य सल्लाहका कारण युवतीको मृत्यु भएको आरोप लगाउँदै परिवारले ओपनएआईविरुद्ध मुद्दा दायर गरेको घटना सार्वजनिक भएको छ।
परिवारले आफ्नी छोरीलाई च्याटजीपीटीले मिर्गी (एपिलेप्सी) को औषधि सेवन बन्द गर्न मार्गदर्शन गरेको र त्यसपछि उनको मृत्यु भएको आरोप लगाएको छ। मुद्दामा च्याटजीपीटीले चिकित्सकीय अनुमति र इजाजतबिना औषधिसम्बन्धी सल्लाह दिएर चिकित्सा अभ्यास गरेको आरोपसमेत लगाइएको छ।
यो घटनाले एआईबाट प्राप्त स्वास्थ्य सल्लाहको विश्वसनीयता, त्यसको सम्भावित जोखिम र गलत सल्लाहका कारण बिरामीलाई क्षति पुगेमा कसलाई जिम्मेवार बनाउने भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ।
एएमएको प्रस्तावित रूपरेखाले चिकित्सकीय एआईको जीवनचक्रमा संलग्न चार पक्षको जिम्मेवारी स्पष्ट गर्नुपर्नेमा जोड दिएको छ।
१. एआई विकासकर्ता तथा उत्पादक
एआई प्रविधि विकास गर्ने कम्पनी तथा उत्पादकले आफ्नो उत्पादन सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गर्नुपर्नेछ। उत्पादन बजारमा आइसकेपछि पनि त्यसको सुरक्षा र प्रभावकारिता कायम राख्ने तथा आफ्नो नियन्त्रणभित्र रहेका जोखिम सम्बोधन गर्ने जिम्मेवारी उनीहरूको हुनेछ।
२. स्वास्थ्य संस्था तथा एआई प्रयोगकर्ता
स्वास्थ्य संस्थाले कुन एआई प्रविधि छनोट गर्ने, कसरी कार्यान्वयन गर्ने, त्यसको सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने र वास्तविक स्वास्थ्य सेवामा प्रयोग भइरहँदा कसरी निगरानी गर्ने भन्ने विषयमा जवाफदेही हुनुपर्नेछ।
३. चिकित्सक
चिकित्सकले आफ्नो चिकित्सकीय निर्णय र त्यसमा प्रयोग गरेको विवेकका लागि जिम्मेवारी लिनुपर्नेछ। तर यो जिम्मेवारी एआईको निर्धारित प्रयोग, त्यसका ज्ञात सीमितता र बिरामीको उपचारका क्रममा चिकित्सकलाई उपलब्ध सूचनाका आधारमा निर्धारण हुनुपर्ने एएमएको धारणा छ।
४. बिरामी
एआई प्रविधिमा भएको त्रुटि वा अन्य जवाफदेही पक्षको असफलताका कारण क्षति पुगेमा बिरामीले न्याय, उपचार र क्षतिपूर्तिका लागि प्रभावकारी बाटो पाउनुपर्नेछ।
विशेषगरी एआईले चिकित्सकलाई सहयोग गर्ने प्रविधिका रूपमा काम गर्ने कि चिकित्सकीय निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने भन्ने विषयसँगै त्यसबाट हुने गल्तीको जिम्मेवारीसमेत स्पष्ट हुनुपर्ने बहस अमेरिकामा चर्किंदै गएको छ।
चिकित्सकीय एआईका कारण हुने क्षतिको जिम्मेवारी चिकित्सकमाथि मात्रै थोपर्न नहुने र प्रविधि विकासकर्ता तथा प्रयोग गर्ने संस्थाले पनि आफ्नो भूमिकाअनुसार जवाफदेहिता वहन गर्नुपर्ने एएमएको प्रस्तावको मुख्य लक्ष्य रहेको छ।