काठमाडौं- औषधि उत्पादनको गुणस्तर, नियमन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रणाली विकास गर्ने विषयमा केन्द्रित रहेर प्रकाशित ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त प्रकाशन विमोचन गरिएको हो। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल (एपोन) अध्यक्ष विप्लव अधिकारीलगायत संस्थाका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो। एपोन अन्तर्गतको क्वालिटी सर्कल टोलीले प्रकाशनसँगै औषधि उत्पादन तथा गुणस्तरसम्बन्धी प्राविधिक कार्यक्रमसमेत आयोजना गरेको थियो।
‘सूचनाबाट उद्योगको परिदृश्यसम्म’ (From Information to Industry Insight) नारासहित प्रकाशित दोस्रो संस्करणमा औषधि उद्योगमा विकसित भइरहेका नयाँ प्रविधि, अन्तर्राष्ट्रिय नियामक व्यवस्था, औषधिको गुणस्तर परीक्षण र नेपालको औषधि उत्पादन क्षेत्रले अपनाउनुपर्ने गुणस्तर प्रणालीबारे सामग्री समेटिएका छन्।
प्रकाशनमा इन्डियन फर्माकोपिया २०२६ का नयाँ व्यवस्था, औषधिको घुलनशीलता परीक्षण, नाइट्रोसामिन अशुद्धताको जोखिम व्यवस्थापन, औषधि उत्पादनमा प्रयोग हुने सहायक पदार्थ तथा प्याकेजिङको गुणस्तर र उत्पादनको स्थिरताजस्ता विषय समेटिएका छन्।
त्यसैगरी नेपालको औषधि उद्योगमा साझा प्राविधिक दस्तावेज (सीटीडी) डोजियर कार्यान्वयन, बजारमा गइसकेका औषधिको निगरानी तथा सिंगल पट प्रोसेसिङ प्रविधिबारे पनि प्रकाशनमा चर्चा गरिएको छ।
कार्यक्रममा भारत तथा अन्तर्राष्ट्रिय औषधि क्षेत्रका विज्ञहरूले विभिन्न प्राविधिक विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
भारतको इन्डियन फर्माकोपिया कमिसनका वरिष्ठ प्रधान वैज्ञानिक अधिकृत डा. गौरव प्रताप सिंह जादौनले इन्डियन फर्माकोपिया २०२६ का नयाँ व्यवस्था, मोनोग्राफ विकास तथा औषधिमा प्रयोग हुने अशुद्धताको सन्दर्भ सामग्रीबारे प्रस्तुति दिएका थिए।
त्यस्तै, औषधि घुलनशीलता परीक्षण प्रणालीका विज्ञ आरएस पालले डिसोल्युसन टेस्टिङ सिस्टम र युएसपी एप्र्याटस ४ को प्राविधिक प्रयोगबारे जानकारी गराएका थिए।
क्रोमाटोग्राफी तथा मास स्पेक्ट्रोमेट्री क्षेत्रका प्राविधिक महाप्रबन्धक डा. बृजेश पाण्डेले नाइट्रोसामिन अशुद्धताले औषधिको सुरक्षामा पार्न सक्ने जोखिम, त्यसको पहिचानका लागि प्रयोग हुने उच्च क्षमताको मास स्पेक्ट्रोमेट्री प्रविधि र जोखिम न्यूनीकरणका उपायबारे प्रस्तुति दिएका थिए।
औषधिमा नाइट्रोसामिन अशुद्धताको विषयलाई अन्तर्राष्ट्रिय नियामक निकायले पनि विशेष महत्त्व दिँदै आएका छन्। यस्ता अशुद्धताको पहिचान, जोखिम मूल्यांकन र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण तथा गुणस्तर नियन्त्रण प्रणाली विकास गर्नुपर्ने विषय कार्यक्रममा उठाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा उत्पादित औषधिको गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न यस्ता प्राविधिक प्रकाशन र छलफल उपयोगी हुने बताए।
-1793344695.png)
क्वालिटी सर्कलकी संयोजक प्रशंसा श्रेष्ठले ‘फर्मा इन्साइट’ औषधि उद्योगसँग सम्बन्धित प्राविधिक ज्ञान, अनुसन्धान र व्यावहारिक अभ्यासलाई एकै ठाउँमा जोड्ने प्रयास भएको बताइन्। उनका अनुसार प्रकाशनले औषधि उद्योगमा गुणस्तरसम्बन्धी नयाँ ज्ञान र प्रविधिको आदानप्रदानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
‘फर्मा इन्साइट’को दोस्रो संस्करणको सम्पादक मण्डलमा संयोजक प्रशंसा श्रेष्ठ, सह-संयोजक निष्मा बज्राचार्य, वरिष्ठ सदस्य सहज न्यौपाने तथा सदस्यहरू आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल रहेका छन्। उनीहरूले एपोनको क्वालिटी सर्कलअन्तर्गत प्रकाशनको सम्पादन तथा व्यवस्थापनमा गरेका हुन्।