काठमाडौं- भारत सरकारले क्यान्सरका औषधिमा व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेपछि त्यहाँ घटेको औषधिको मूल्य नेपालमा पनि घट्ने भएको छ। नेपालमा क्यान्सरका औषधिका प्रमुख आयातकर्तामध्येको एक कम्पनी यतिकेम डिस्ट्रिब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले भारतमा मूल्य घटेका औषधि नेपालमा पनि सस्तो हुने बताएका छन्।
उनका अनुसार भारतबाट आयात हुने औषधिको मूल्य घटेर आएपछि नेपालमा पनि सोहीअनुसार नयाँ मूल्य लागू हुनेछ। ‘भारतमा मूल्य घटेका औषधिको लाभ नेपाली बिरामीले पनि पाउँछन्,’ वैद्यले भने, ‘तर भारतबाटै घटेको मूल्यमा औषधि आउन थालेपछि मात्रै नेपालमा पनि नयाँ मूल्य लागू हुन्छ।’
भारतमा अबको दुई साताभन्दा कम समयमै केही क्यान्सरका औषधिको मूल्य ठूलो मात्रामा घट्ने भएको छ। केही औषधि ९० प्रतिशतभन्दा बढी सस्तो हुने भए पनि पछिल्लो समय बिरामीले प्रयोग गरिरहेका नयाँ औषधिको मूल्यमा भने कुनै परिवर्तन नहुने देखिएको छ।
भारतको औषधि मूल्य नियामक निकाय नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले सार्वजनिक गरेको विवरणअनुसार, हाल ४० हजार ४२१ भारतीय रुपैयाँ पर्ने पाल्बोसिक्लिब क्याप्सुलको एक ब्रान्डको मूल्य घटेर २ हजार ७२० रुपैयाँ कायम हुनेछ। त्यस्तै, हाल ८० हजार ७२ रुपैयाँ पर्ने थायोटेपा इन्जेक्सनको मूल्य घटेर ७ हजार १५० रुपैयाँमा झर्नेछ।
तर फोक्सोको क्यान्सरमा प्रयोग हुने ओसिमर्टिनिबजस्ता नयाँ औषधिको मूल्य भने यथावत् रहनेछ। हाल ३० वटा ओसिमर्टिनिब ट्याब्लेटको एक प्याकेटलाई ४ लाख १६ हजार भारतीय रुपैयाँ पर्ने गरेकोमा नोभेम्बर ९ पछि पनि सोही मूल्य कायम रहनेछ।
एनपीपीएले अक्टोबर २७ सम्म औषधि उत्पादक कम्पनीहरूले उपलब्ध गराएको विवरणका आधारमा ५४३ ब्रान्ड तथा प्याकेजको पुरानो र संशोधित अधिकतम खुद्रा मूल्य (एमआरपी) सार्वजनिक गरेको हो।
भारत सरकारले के निर्णय गरेको हो?
भारत सरकारले अक्टोबर १७ मा प्रत्यक्ष सरकारी मूल्य नियन्त्रणमा नरहेका १३७ प्रकारका क्यान्सरका औषधिमा व्यापारिक मार्जिन अधिकतम ३० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसलाई ट्रेड मार्जिन र्यासनलाइजेसन (टीएमआर) भनिन्छ।
व्यापारिक मार्जिन भन्नाले औषधि उत्पादक कम्पनीले थोक विक्रेता वा वितरकलाई बेच्ने मूल्य र बिरामीले औषधि खरिद गर्दा तिर्नुपर्ने अधिकतम खुद्रा मूल्यबीचको अन्तरलाई जनाउँछ। सरकारले अधिकतम खुद्रा मूल्यको ३० प्रतिशतमा व्यापारिक मार्जिन सीमित गर्दा वितरकलाई बेच्ने मूल्यको तुलनामा यो वृद्धि ४२.८६ प्रतिशत बराबर हुन्छ।
यो व्यवस्था पेटेन्ट प्राप्त औषधिमा समेत लागू हुने बताइएको छ। नयाँ मूल्य नोभेम्बर ९ देखि लागू हुनेछ। सरकारले यस निर्णयबाट केही औषधिको मूल्य ७० प्रतिशतसम्म घट्न सक्ने जनाएको थियो।
तर एनपीपीएको तथ्यांकअनुसार मूल्य घट्ने औषधिको संख्या र परिमाण सरकारको अनुमानभन्दा पनि बढी देखिएको छ।
सार्वजनिक गरिएको ५४३ औषधि तथा प्याकेजमध्ये ३९७ वटाको मूल्य घट्नेछ भने १४६ वटाको मूल्यमा कुनै परिवर्तन हुनेछैन। कुलमध्ये ९७ वटा अर्थात् झन्डै पाँचमध्ये एक औषधिको मूल्य ७० प्रतिशत वा त्योभन्दा बढी घट्नेछ। त्यस्तै, ५० वटा औषधिको मूल्य ८० प्रतिशत वा सोभन्दा बढी र पाँचवटाको मूल्य ९० प्रतिशतभन्दा बढी घट्ने देखिएको छ।
कुन-कुन औषधिको मूल्य घट्दै छ?
रगतको क्यान्सरमा प्रयोग हुने ड्यासाटिनिब ७० मिलिग्रामका ६० वटा ट्याब्लेटको मूल्य १७ हजार ८११ भारतीय रुपैयाँबाट घटेर १ हजार ८०८ रुपैयाँमा झर्नेछ। डाइरोनिब ब्रान्डको यो औषधिको मूल्यमा ठूलो गिरावट आउन लागेको हो।
त्यस्तै, प्रोस्टेट क्यान्सरमा प्रयोग हुने एबिराटेरोन २५० मिलिग्रामका १२० वटा ट्याब्लेटको मूल्य ३६ हजार ८९ रुपैयाँबाट घटेर ४ हजार ६४ रुपैयाँ कायम हुनेछ। एबिराट ब्रान्डको उक्त औषधि अब पहिलेको तुलनामा निकै सस्तो हुनेछ।
त्यसैगरी, ४०० मिलिग्रामको बेभासिजुम्याब इन्जेक्सनको मूल्य ६५ हजार २०५ रुपैयाँबाट घटेर ८ हजार ९५७ रुपैयाँमा झर्नेछ।
यी औषधिहरू विभिन्न कम्पनीले फरक–फरक ब्रान्डमा उत्पादन तथा बिक्री गर्ने गरेका छन्।
नयाँ र महँगा क्यान्सर औषधिको मूल्य भने यथावत्
सरकारको निर्णयले पुराना तथा धेरै ब्रान्डमा उपलब्ध औषधिको मूल्य घटाए पनि नयाँ र महँगा औषधि प्रयोग गरिरहेका बिरामीलाई भने तत्काल राहत नपुग्ने देखिएको छ।
एनपीपीएको विवरणमा ओसिमर्टिनिब, एलेक्टिनिब, ट्रेमेलिमुम्याब, डोस्टार्लिम्याब, इभोसिडेनिब, सेलुमेटिनिब र पेम्ब्रोलिजुम्याबजस्ता औषधिको मूल्यमा कुनै परिवर्तन भएको छैन। यीमध्ये धेरै औषधि पेटेन्ट संरक्षणअन्तर्गत रहेका औषधि हुन्।
विवरणअनुसार फोक्सोको क्यान्सरमा प्रयोग हुने ओसिमर्टिनिब (ट्याग्रिसो) को मूल्य ४ लाख १६ हजार भारतीय रुपैयाँ नै कायम रहनेछ। त्यस्तै, एलेक्टिनिब (एलेसेन्सा) को मूल्य ४ लाख ३१ हजार रुपैयाँ रहनेछ।
क्यान्सर उपचारमा प्रयोग हुने ट्रेमेलिमुम्याब (इम्जुडो) ३०० मिलिग्रामको इन्जेक्सनको मूल्य ४ लाख १८ हजार रुपैयाँ र डोस्टार्लिम्याब (जेम्पर्ली) ५०० मिलिग्रामको इन्जेक्सनको मूल्य ३ लाख ९१ हजार रुपैयाँ यथावत् रहनेछ।
त्यसैगरी, इभोसिडेनिब (टिब्सोभो) २५० मिलिग्रामका ६० वटा ट्याब्लेटको मूल्य ६ लाख ५८ हजार रुपैयाँ र सेलुमेटिनिब (कोसेलुगो) २५ मिलिग्रामका ६० वटा क्याप्सुलको मूल्य १० लाख २२ हजार रुपैयाँ कायम रहनेछ।
पेम्ब्रोलिजुम्याब (किट्रुडा) को १०० मिलिग्रामको एउटा भायलको मूल्य पनि २ लाख १७ हजार रुपैयाँ नै रहनेछ।