नेपाल सरकारले चीनको वुहान (हुबेई प्रान्त) मा रहेका नेपालीलाई स्वेदेश फर्काएर १४ दिनसम्म अलग्गै ठाउँमा विशेष निगरानीका साथ राख्ने निर्णय गरिसकेको छ। चीनमा नोबेल कोरोना भाइरसको संक्रमण फेलिएपछि उनीहरुलाई नेपाल ल्याउने तयारी भएको हो।
तर, यसअघि नै नेपाल आइसकेका, आइरहेका वा वुहान बाहेक चीनका अरु ठाउँबाट फर्केकाहरुले भने के गर्ने, कति दिनसम्म कहाँ बस्ने भन्ने अन्योल देखिन्छ। उनीहरु यसको उत्तरको लागि दैनिक जस्तो अस्पताल आउने गरेका छन्।
लक्षणविहीन अवस्थामा रहेकाहरु पनि घर जाँदा परिवारका अरु सदस्यलाई संक्रमण सर्ने पो होकी भनेर मानसिक रुपमा सशंकित देखिन्छन्। अरु ठाउँमा बस्दा वा पुग्दा पनि अरुको शंकालु नजरको शिकार हुनुपरेका पनि छन्। हुन त यो भाइरसको बारेमा विश्वले नै धेरै कुरा सिक्दै छ र सिक्न बाँकी पनि छ। तर हालसम्मका अनुभव र जानकारीहरुको आधारमा सुझावहरु भने दिन सकिन्छ।
सबैभन्दा पहिला कोरोना भाइरसको जोखिम कस्ता व्यक्तिलाई बढी हुन्छ भनेर बुझ्न जरुरी हुन्छ। चीनको आधिकारिक तथ्यांक हेर्ने हो भने औसतमा कडा लक्षण देखिएका वा मृत्यु भएकाहरुको उमेर ६५ वर्ष माथि देखिन्छ। त्यसमा पनि कुनै न कुनै दीर्घ रोगले ग्रस्त भएकाहरु बढी छन्।
हाल प्रयोगमा आइरहेको रुघाखोकी वा मौसमी फ्लुबाट बच्ने उपायहरु नै घरपरिवारमा अरुलाई नसरोस् भन्ने मुख्य उपायको रुपमा लिन सकिन्छ। त्यसमा थप जनावरको समिपमा/नजिक आवश्यक नभई नजाने र मासु राम्रोसँग पकाएर खाने सुझाव विश्व स्वास्थ्य संगठनले दिएको छ। यी उपायलाई राम्ररी अबलम्वन गर्नु जरुरी छ।
घरका अरु सदस्यलाई संक्रमण नसरोस भन्नाको लागि अलग्गै कोठामा बस्नुपर्छ। बोल्नुपर्ने अवस्थामा आफूले फेस मास्क लगाउने गर्नुपर्छ। आफ्नो व्यक्तिगत लुगादेखि अरु सरसामान सकेसम्म अरुले नछुने र कसैले छोएमा राम्रोसँग साबुन-पानीले हात धुने गर्नुपर्छ। यदि आफूले सर्जिकल मास्क लगाइरहेको भए घरका अरु सबै सदस्यले पनि मास्क लगाइरहन अनिवार्य भने हुँदैन।
मास्कलाई जताभावी राख्नु हुँदैन र फाल्ने ठाउँ पनि निश्चित हुनुपर्छ। मास्क लगाउँदा सो मास्कमा घरीघरी हातले छुनु हुँदैन भने घरका अरु सदस्यले सो मास्क छोएमा तुरुन्त हात धुनुपर्छ।
हालै एउटा प्रारम्भिक अनुसन्धानले नोबेल कोरोनको भाइरस दिसामा पनि भेटिएको नतिजा प्रकाशित गरेको छ। वैज्ञानिकहरुले यसलाई नोबेल कोरोना भाइरस सर्ने नयाँ बाटो हुनसक्ने सम्भावनाको रुपमा लिएका छन्। यद्ध्यपि थप अनुसन्धानहरु भने जारी छन्। तसर्थ, शौचालय गएपछि पनि अनिवार्य राम्ररी साबुन-पानीले हात धुनु राम्रो हुने छ।
साथीभाइसँग पनि भेटघाटलाई सीमितता दिनुपर्छ। अर्थात् १४ दिनसम्म सकेसम्म अरुबाट अलग्गै बस्दा सबैभन्दा उत्तम हुने छ। तर याद गर्नुपर्छ, यो बीचमा कसैलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने वा खोकी लागेमा जतिसक्दो चाँडो सरकारले तोकेको अस्पतालमा सम्पर्क गर्नुपर्छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)