काठमाडौं – कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण २५ भन्दा बढी राष्ट्रमा फैलिसकेको छ। विश्व समुदायले निकै चासोका साथ नियाली रहेको कोरोना भाइरसको विषयमा अहिले विभिन्न बहस तथा अनुसन्धान भइरहेका छन्। कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न १० जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ।
१. के चीनबाट कुनै पत्र या प्याकेज प्राप्त गर्नु सुरक्षित छ?
यो सुरक्षित छ। चीनबाट प्राप्त गर्ने विभिन्न पत्र र प्याकेजहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम छैन। कोरोना भाइरस लामो समयसम्म जीवित नरहने विभिन्न अध्ययनले देखाएको छ।
२. घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ?
कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन। तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ। जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ।
३. निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ?
निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन। यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ। अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ। यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ।
४. नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ।
५. माउथवासले कुल्ला गरेर मुखको सफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?
मुखको सरसफाईले कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। केही माउथवासले मुखमा रहेका किटाणुबाट केही मिनेटसम्म सुरक्षा प्रदान गरेपनि कोरोना भाइरसको संक्रमणबाट भने जोगाउँदैन।
६. लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ?
लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन।
७. तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ?
तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ। तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ।
८. के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छ? या युवाहरु पनि यसको जोखिममा पर्छन्?
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। वृद्धवृद्धा, दीर्घ रोगी ( दम, मधुमेह, मुटुजन्य रोग ) लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ। त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ। यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ।
९. कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ?
एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन। यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो। त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन। यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन्। किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ।
१०. कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छ?
हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन। कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ। केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ। विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ।