यतिखेर जाडो सकिएर गर्मी चढ्दै छ। यो रुघाखोकी अर्थात् फ्लुको मौसम हो। विश्वभरि नै फैलिरहेको कोरोना भाइरस (केभिड १९) र मौसमी फ्लुका प्रारम्भिक लक्षण मिल्दाजुल्दा हुन्छन्। एकै किसिमको लक्षण हुने भएकाले आममानिसमा रुघा–खोकी लाग्ने बित्तिकै कोरोना भाइरस हो कि भन्ने मनोवैज्ञानिक समस्या देखिएको छ।
सामान्य ज्वरो, रुघा–खोकी लाग्दा पनि नागरिकहरु यतिबेला कतै कोरोना भाइरसको संक्रमण त छैन भन्ने त्रासले टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्।
अस्पतालअनुसार कोरोनाकै त्रासले अघि–पछिको भन्दा यतिबेला सामान्य रुघा–खोकी, ज्वरो आएका बिरामीले अस्पतालमा भीड बढेको छ। यसरी कोरोनाको त्रासले अस्पतालमा पुग्ने बिरामीलाई मनोसामाजिक परामर्श गराएर पठाउने गरेको अस्पतालको भनाइ छ।
अस्पतालले अहिलेसम्म साढे ५ सय जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ। त्यसमध्ये डेढ महिना अगाडि एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो।
उसो त सरकारले कोरोनाको उच्च जोखिम भएको देशबाट फर्किएका नेपालीको अन्तर्राष्ट्रिय विमानस्थलमै ज्वरो जाँच गर्दै आएको छ। यदि विमानस्थलबाट रुघा–खोकी र ज्वरो आएका व्यक्ति भेटिए उनीहरुलाई एम्बुलेन्समा राखेर टेकु अस्पतालमा लैजाने व्यवस्था गरिएको छ।
चिकित्सकले नेपालमा कोरोना भाइरस भित्रिनसकेकाले त्रसित नभई सचेत रहन सबै नेपालीलाई आग्रह गरेका छन्। सामान्य रुघा–खोकी लागे घरेलु औषधि खाएर आराम गर्दा मौसमी फ्लुबाट बच्न सकिन्छ। यदि रुघाखोकी लागेर, ज्वरो बढ्दै गयो र श्वास फेर्न गाह्रो भए अस्पताल जान चिकित्सकको सुझाव छ।