काठमाडौं- हिजोआज कुराकानीको एउटै विषय छ ‘कोराना भाइरस’। स्कुले बच्चादेखि वृद्धवृद्धा कोरोना भाइरसकै चर्चामा दिन बिताइरहेका छन्।
स्कुल, कलेज बिदा भएपछि बालबालिका, किशोरकिशोरी सामाजिक सञ्जालमा कोरोना भाइरसबारे सर्च गर्दै कहाँ के भयो भन्ने अपडेट लिइरहेका छन्।
कोरोना भाइरसबारे नसुनेको अझ भनौँ केही न केही नजानेको मानिस भेट्न मुस्किल छ। सबैमा रोगको संक्रमण हुने त्रास छ। खाद्यान्न पसल, स्टोर किनमेल गर्नेहरुको भीडले भरिएको छ। त्यहाँ पनि चर्चा कोरोनाकै छ।
विश्वभरका १८८ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छैन। संक्रमण फैलन सक्ने उच्च जोखिममा भने छ।
यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। साथै भीडभाड कम गर्न विद्यालय, सिनेमा हल, क्लब, लामो दुरीका सार्वजनिक यातायातका साधन सबै बन्द गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन्।
यो समय सर्वसाधारणमा क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र आइसोलेसन शब्दले द्धिविधामा पारेको देखिन्छ।
सुन्दा उस्तैउस्तै लाग्ने यी शब्दले के भन्न खोजेको हो भन्नेबारे अलमल देखिएपछि यी शब्दका भिन्नताबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसरी प्रष्ट पारे :
के हो क्वारेन्टाइन?
हेर्दा लक्षणअनुसार संक्रमण नभएको तर संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ। क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ।
कोरोना भाइसरको सन्र्दभमा १४दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ। कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिन भित्र लक्षण विकसित हुन्छ। त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन।
के हो सेल्फ क्वारेन्टाइन?
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ।
त्यस्तो समयमा त्यसव्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन। यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ।
यस्तो अवस्था अरुको सम्र्पकमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ।
के हो आइसोलेसन?
यदि कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ।
यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ। आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।
सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न ठूला अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ।
उक्त क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामी देखिए उनीहरुलाई सोही अस्पतालमा आइसोलेसनमा राखि उपचार गर्ने व्यवस्था मिलाएको छ। सो समयमा बिरामीको कोरोना भाइरस संक्रमण भएनभएको ल्याव जाँच पनि हुनेछ। जाँचको रिपोर्ट नेगेटिभ आएमा उक्तलाई घर पठाइने रणनीति छ। यदि रिपोर्ट पोजिटिभ देखिएमा थप उपचार गरिनेछ।