डा उदय कोइराला
कोरोना भाइरसले विश्वलाई आतंकित बनाएको छ। एचआईभी, हेपाटाइटिस सी जस्ता भ्याक्सिन नभएका रोगसँग हामी लडिरहेका छौं। तर, हाल देखिएको कोरोनाले विश्वलाई हल्लाएको छ।
अहिलेसम्म कुनै पनि शक्तिशाली राष्ट्रले यसको संक्रमणलाई न त रोक्न सकेका छन्, न उपचारको पद्धति नै पत्ता लगाउन सकका छन्। झन् नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरु बढी विवश देखिन्छन्।
सरकारले कोरोनाको जोखिम रोकथाम तथा नियन्त्रणका लागि चालेका कदम सह्रानीय छन्। यो भाइरसलाई नष्ट गर्ने उपाय भनेको खोपको आविष्कार वयसलाई अनुकुलहुने वातावरण नबनाउनु हो।
अहिलेको अवस्थामा शारीरिक र सामाजिक दूरी कायम गर्नु अति नै आवश्यक छ। जुन लकडाउनले मात्र सम्भव छ। कोरोनाको संक्रमण रोक्नकालागि परीक्षण र ट्रेसिङ अति आवश्यक छ। तर, नेपालमा पूर्ण रुपमा परीक्षण र ट्रेसिङ गर्न स्रोत साधनले सम्भव छैन।
कोरोना भाइरस बिरामीको थुक, ¥याल र छिटा हावा वा हातहुँदै नाक, मुख र आँखाको माध्यमबाट सर्ने गर्छ। कोरोनाको संक्रमण रोक्न प्रभावकारी उपाय भनेको बिरामीको सम्पर्कमा आउँदा मास्क अनिवार्य रुपमा लगाउनुपर्छ। यो नै सबैभन्दा सजिलो, सस्तो र वैज्ञानिक उपाय हो।
सर्जिलक वा मेडिकल मास्क बिरामीले मात्र होइन, सबैले लगाउनुपर्छ। किनभने यो भाइरस कसको शरीरमा छ भनेर सहजै अनुमान लगाउन सकिदैन। मास्कको प्रयोगले पूर्ण रुपमा सुरक्षा दिन्छ भन्ने त होइन तर ७० प्रतिशतभन्दा बढी सुरक्षा दिन सक्छ।
मास्कले भाइरसलाई रोक्न सक्दैन, तर सर्ने माध्यमलाई भने रोक्न सक्छ। किनभने यो कुरा सार्स, मार्स, इन्फ्लुएन्जा जस्ता भाइरसको संक्रमण हुँदा गरिएका सयभन्दा बढी अध्ययनबाट प्रमाणित भइसकेको छ। जुन चीन, हङकङ कोरिया, जापान, ताइवान, सिंगापुर र पाकिस्तानका अध्ययनहरुमा पाउन सकिन्छ।
वास्तवमा सार्स रोगले पूर्वी एसियालीहरुको जीवनशैलीमा परिवर्तन गरिदियो, जसले भीडभाडमा मास्क लगाउने संस्कार बनाइदिएको थियो। सर्जिकल मास्कको प्रयोगले हाल एकजनाबाट तीन जनामा सरिरहेको भाइरस दुईबाट एक जनामा मात्र सार्ने हुन्छ र विस्तारै हराएर जानेछ।
विश्व स्वास्थ्य संगठनले मास्कको उपलब्धतालाई ध्यानमा राखेर हाल बिरामी र स्वास्थ्यकर्मीलाई मात्र अनिवार्य गरेको छ। तर संगठनले गरेको यो शताब्दीकै सबैभन्दा ठूलो गल्ती साबित हुँदैछ। संगठन र अमेरिकाको सिडीसीले कोरोनाको बारेमा गरेका निर्णय र प्रक्षेपणहरु एकपछि अर्कोगलत साबित हुँदैछन् र धेरै जना यसको शिकार हुँदैछन्।
पश्चिमाहरुले मास्कलाई कहिल्यै आत्मसात गर्न सकेनन्। अमेरिकी सर्जन जनरल जेरोमी आदम्सले मास्कले सर्वसाधारणलाई सुरक्षा नगर्ने तर स्वास्थ्यकर्मीको लागि अति आवश्यक भनेर गरिएको ट्वीट गत फेबु्रअरीमा भाइरल भएको थियो।
अहिले कोरोनाको महामारी बढ्दै गएपछि सबैले मास्कको महत्वबुझ्न थालेका छन्। मास्कको उपयोगिता बारे मार्च २९ मा वाशिङ्टन पोष्टमा समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा मास्कको चर्चा र उपयोग बढेको हो। मास्कको प्रयोगसँगै यसको उपयोग र नष्ट गर्ने तरीका सही हुनुपर्छ।
पिपिई (व्यक्तिगत सुरक्षात्मक उपकरण), टेष्टिङ किट र भेन्टिलेटर जस्ता थुप्रै सामग्री आवश्यक छन्। जुननिकै महंगो छन्। नेपाल जस्तो मुलुकले सहजै धान्न सक्ने अवस्था छैन। मास्कको पर्याप्त मात्रामा उत्पादन गरिनुपर्छ। सबैभन्दा पहिले बिरामी र स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनुपर्छ।
हरेक आइसोलेसन र क्वारेन्टाइनमा आवश्यक मात्रामा मास्क उपलब्ध गराउनुपर्छ। यसका साथै अत्यावश्यकीय सेवा जहाँ एकभन्दा बढी व्यक्ति भेला हुने ठाउँ प्रहरी, सेना, तरकारी बजार आदिमा मास्क उपलब्ध गराउनुपर्छ। मास्कको कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्छ। हवाईजहाज र लामो दूरीको यात्रामाभने एन ९५ र एफएफपी मास्क उपयुक्त देखिन्छ।
कोरोनाबाट बच्ने अर्को महत्वपूर्ण उपाय भनेको साबुन पानीले हातधुने वा स्यानिटाइजरले हात सफा गर्नु हो। कोरोनाको परीक्षण सबैभन्दा महत्वपूर्ण हुन्छ। के तपाईं सर्वसाधारणलाई समेत पुग्ने गरी सर्जिकल वा मेडिकल मास्क उपलब्ध गराउने अभियान चलाउन सक्नुहुन्छ? यसको उपयोग, सावधानी र बिसर्जनकालागि जनचेतना जगाउने, तालिम दिने काममा म साथ दिन्छु, यो मेरो प्रतिवद्धता हो।
(डा कोइराला काठमाडौं मोडल अस्पतालका सिनियर कन्सल्टेन्ट सर्जन हुन्)