डा कमल अर्याल
अहिले पूरा विश्व कोरोना भाइरस (कोभिड १९) ले त्राहिमाम छ। आखिर यो संसारलाई आफ्नो पकडमा ल्याउन ठूलाठूला लगानीका हतियार र मिसाइल नै नचाहिने रहेछ प्रमाणित गरिदिएको छ कोरोना भाइरसले।
कहिले सार्स, कहिले मर्स र अहिलेको कोरोना प्रजातिको कोभिड १९ भाइरसले यस शताब्दीमा फरकफरक अवतारमा तीन चोटि विज्ञान र मानव जातिलाई नै चुनौती दिँदै संसार कब्जामा लिने प्रयास गरेको छ। यसपालि भने यसले नेपाललाई पनि पहिलेको भन्दा अझ ठूलो आक्रमणको चेतावनी पठाइसकेको छ। यो भाइरससँग पनि नेपाल लगायत सारा विश्व लडिरहेकै छ। र, अवश्य पनि परास्त गर्नेछ। तर सावधानी भने निकै जरुरी छ।
विश्वमा संक्रमितको संख्या १२ लाख नाघिसक्दा नेपालमा भने कोरोना भाइरस ९ जनामा मात्र पुष्टि भएको छ। यो रोग नियन्त्रण गरी अरुमा फैलिन नदिने पहिलो उपायका रुपमा संसारभरि नै प्रयोग गरिएको लक डाउन अर्थात् मानिसमानिस बीचको सम्पर्क टुटाई रोगलाई फैलिनबाट रोक्ने विधि अहिले नेपालमा पनि प्रयोग गरिएको छ।
मानिसहरुलाई जहाँ हुनुहुन्छ त्यहाँ नै रहन आह्वान गरिएको छ। यस्तो बेलामा विभिन्न समाचारमा विभिन्न सूचनामूलक जानकारी सबैलाई प्राप्त भई नै राखेको छ। यो भाइरस नजिकको सम्पर्कबाट सर्नेदेखि साबुनपानी र इथ्यानोल सहितको पदार्थले हात धोए बच्न धेरै हदसम्म सफल भइने जानकारी यस धेरैले पाइसक्नु भएको छ।
यस महामारीमा हामीले धेरै नै सुनेका र अभ्यस्त नै भए जस्तो लाग्ने केही प्राविधिक शब्दहरु हुन्, लक डाउन, क्वारेन्टाइन, आइसोलेसन र सोसलरफिजिकल डिस्टान्सिङ। हामीलाई यो कुराहरु गर्न आह्वान त गरिएको छ तर के यसबारे कसैले पर्याप्त जानकारी प्रदान गरेको छ त? के यी प्राविधिक शब्दका अर्थ हामिलाई सजिलो गरी बुझ्ने भाषामा बुझाएको छ त?
सुन्दा उस्तैउस्तै अर्थ लाग्ने यस्ता केही शब्दहरुका बारेमा जानकारी प्रदान गर्ने प्रयास यस लेखमार्फत गर्नेछु। यदि बुझ्न सकियो भने पालना गर्न पनि सहज हुने थियो।
सोसलरफिजिकल डिस्टान्सिङः यहाँ दुवै शब्दले एउटै भाव बुझाउन खोजेको छ। यसको भाव छ, हाम्रो सामाजिक दूरी बढाउनु ताकि तपाईंबाट मलाई हुँदै मेरो परिवारलाई अथवा मबाट तपाईं हुँदै तपाईंका परिवारलाई रोग सर्न नसकोस्। यसलाई पालना गर्नु भनेको विवाह, ब्रतबन्ध अथवा कुनै प्रकृतिका भोजभत्तेर नगर्ने, अनावश्यक भेला बैठक नडाक्ने, जिम सेन्टरका भेला नगर्ने, धार्मिकरआर्थिकरराजनितिक सभा सम्मेलन नगर्ने, सार्वजनिक यातायातमा धेरै जनासँग सम्पर्कमा नआउने, बन्द गर्न मिल्ने शैक्षिक भेला जस्तै स्कुल, कलेजबाट टाढै रहनु आदि भन्ने बुझ्नुपर्छ। यसो गर्नाले रोगलाई एकै चोटि धेरै जनामा फैलिनबाट बचाउन सकिन्छ। अनि आफू पनि सुरक्षित रहन सकिन्छ।
लक डाउनः यसले सामान्य अवस्था भने पक्कै जनाउँदैन। यो शब्द आफैंले विषम परिस्थिति जनाइसक्छ। अर्थात्, यसले मानिसहरुलाई घरबाट ननिस्किनका लागि सरकारले गरेको आह्वान भन्ने सामान्य भाषामा बुझ्नुपर्छ। यस्तो बेलामा सामान्य हिँडडुुल जस्तैः मर्निङ वाकमा निस्किनु, चिया गफमा निस्किनु, आफन्त भेट्घाटका लागि निस्किनु आदिलाई पनि बन्देज हुन्छ। त्यस्तै अत्यावश्यक नमानिएका पसलहरु, रेस्टुरेन्ट, सपिङ मल, निजी तथा सार्वजनिक सवारीका आवागमन, भ्रमण, कलकारखाना, राष्ट्रिय तथा अन्तराष्ट्रिय सीमानाका, अत्यावश्यक बाहेकका सबै हवाई सेवाहरुमा पनि रोक लगाइएको हुन्छ। पक्कै पनि यस्तो अवस्थामा जनता, राष्ट्र र सारा विश्वलाई निकै दुःख, कष्ट र नोक्सानी हुने जान्दाजान्दै पनि मानव जातिकै बचावका लागि भए पनि यसो गर्नुको अर्को विकल्प देखिँदैन।
क्वारेन्टाइनः स्वस्थ व्यक्ति (वा जनावर) जसमा अरु व्यक्ति (वा जनावर) भन्दा रोग लाग्ने सम्भावनाका आधारहरु धेरै हुन्छन्। जस्तो कि रोग धेरै फैलिएका देशबाट त्यही समयमा आएका व्यक्ति, रोग प्रमाणित भइसकेका व्यक्तिका प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति, रोगमा देखिन सक्ने मिल्दाजुल्दा लक्षण भएका व्यक्ति, रोग प्रमणित भएका व्यक्तिसँगै एउटै सवारीमा हिँडडुल गरेका व्यक्ति आदिलाई क्वारेन्टाइनमा राखिन्छ। कोभिड १९ जनावरबाट सिधै सरेका यथेष्ट प्रमाण नभेटिएकाले यस रोगका सन्दर्भमा क्वारेन्टाइन व्यक्तिमै गरिने प्रक्रिया, विधि भन्ने बुझ्नुपर्छ। क्वारेन्टाइन भनेको त्यक्स्ता व्यक्तिहरुलाई अरुको सम्पर्कमा नआउनेगरी केही समय राख्ने भन्ने बुझिन्छ। होम क्वारेन्टाइन भनेको त्यस्ता शंकास्पद व्यक्ति सुरक्षित साथ आफ्नै घरमा अरुलाई फैलिन नदिई बस्ने भन्ने बुझिन्छ। त्यसमा आफ्ना परिवारजनबाट पनि अलग्गै बसी सतर्क हुनुपर्छ।
कति दिन बस्ने त क्वारेन्टाइन?
किटाणु सरेको आशंका गरिएको अन्तिम दिनदेखि त्यस किटाणुले रोगको लक्षण देखाउन सक्ने सबैभन्दा धेरै दिनसम्म क्वारेन्टाइनमा राखिने गरिन्छ। कोभिड १९ को सन्दर्भमा यसले शरीरमा प्रवेश गरेको १४ दिनसम्म लक्षण देखाइसकेको प्रारम्भिक अनुसन्धानहरुले देखाएकाले यस रोगमा १४ दिन क्वारेन्टाइन राखिँदै आएको छ। यद्यपि यो नयाँ रोग भएकाले ठ्याक्कै यति नै दिन भन्ने पुष्टि भने भइसकेको छैन। त्यसैले क्वारेन्टाइनको अवधिपछि पनि बचेरै बसेको राम्रो मानिएको छ।
आइसोलेसनः यो क्वारेनटाइन भन्दा के अर्थमा भिन्न छ भने, यो रोग पुष्टि भइसकेका व्यक्तिहरुमा र प्रायः अस्पतालमा नै अपनाइने विधि हो। यसमा कति दिन बस्ने भन्ने सीमा त हुँदैन तर स्वास्थ्यकर्मीले रोग नसर्ने यथेष्ट प्रमाण भेटेपछि आइसोलेसनबाट बिरामीलाई निकालिन्छ। यसमा पनि बिरामीलाई आफन्त भेटघाट गर्न, बाहिर हिँडडुल गर्नबाट रोक लगाइएको हुन्छ। यसले अस्पतालका अरु बिरामी, बिरामीका कुरुवा, अस्पताल नजिकको समाज अनि स्वास्थ्यकर्मीहरुलाई रोग लाग्नबाट बच्न धेरै सहयोग गर्छ।
कोरोना प्रकोपका बेलामा यी शब्दहरुमा अभ्यस्त भइयो र सही अर्थ बुझी सही तरिकाले पालन गर्न सकियो भने पक्कै पनि अरु आउन सक्ने थुप्रै प्रकोपसँग जुध्न निकै सहयोग हुने छ। यस विषम परिस्थितिमा सरकारलाई पूर्ण सहयोग गरौं। सरकारका लागि नागरिकले गरिदिएको ’दया’ भन्दा पनि हामीले हामी सबै एकै साथ जोगिन गरेको सामूहिक प्रयास र संघर्षका रुपमा बुझ्न सकियो भने यो फिजिकलरसोसल डिस्टान्सिङ, लक डाउन, क्वारेन्टाइन र आइसोलेसन जस्ता कठिन घडीलाई पनि सहज तरिकाले सामना गर्न सकिन्छ। सरकारले पनि आफ्ना जनतालाई उचित सहयोग गरोस्।