पहिलो संक्रमणको घटना सार्वजनिक भएयताका २ महिनामा अमेरिकाभर फैलिइसकेको छ कोरोना संक्रमण। तीन लाखभन्दा बढी अमेरिकी नागरिकमा संक्रमणको पुष्टि भइसकेको छ। ९ हजारभन्दा धेरै अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन्।
अहिले महामारीको केन्द्र अमेरिका बनेको छ भन्नु अब गलत हुने छै्रन। संक्रमितको तथ्यांकमा अमेरिका अहिले पहिलो नम्वरमा रहेको छ भने चीनभन्दा चार गुणा बढी संक्रमण देखिइसकेको छ।
कोरोना भाइरसको प्रकोप चीनवाट सुरु भएको भए पनि अहिले सबैभन्दा धेरै त्रास अमेरिकामा देखिएको छ। अहिलेको अवस्थामा भन्नुपर्दा इटाली र स्पेनभन्दा अगाडि छ। सार्वजनिक स्वास्थ्यसँग जोडिएका अमेरिकी अधिकारीहरु महामारी उच्चतम विन्दुमा पुग्न अझै केही हप्ता वा महिना लाग्ने बताइरहेका छन्। जे भने पनि यो महामारीले अमेरिकी स्वास्थ्य व्यवस्थाको कमजोरीलाई उजागर गरिदिएको छ। यो संकटबाट पार पाउन अमेरिकाले जुन तरिका अपनाएको छ, त्यसले उसका कैयौं कमजोरी उजागर गरिदिएको छ। तर यो अवधिमा विश्वकै ‘सुपर पावर’ का कैयौं राम्रा कुरा पनि बाहिर आएका छन्।
चर्चा गरौं अमेरिकी कमजोरी र उपलब्धि
मेडिकल उपकरण आपूर्तिको कमी
जब कोरोना भाइरसको प्रकोप अमेरिकामा वढ्दै गयो, देशका हर कुनाबाट अस्पताल र डाक्टरहरुले गुहार माग्न सुुरु गरे। उनीहरुसँग मास्क, सुरक्षाका कपडा र पिपिईजस्ता सामग्री र गाउन तथा भेन्टिलेटर अभाव भएको व्यापक गुनासो सुरु भयो। महामारी सबैभन्दा धेरै फैलिएको क्षेत्रबाट यस्तो गुनासो आउन थालेको थियो। भाइरस संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी जरुरी सामग्रीका लागि तनावमा देखिन थाले। आफूपनि बँच्नु पर्ने र बिरामीको पनि उपचार गर्नुपर्ने दोहोरो दायित्व उनीहरुमा थपियो। पर्याप्त मेडिकल संसाधन नहुँदा कयौ अस्पतालमा स्वास्थ्यकर्मीलाई आफ्नो सुरक्षाका लागि प्रयोग भइसकेका सामान पुनः प्रयोगमा ल्याउन वाध्य बनायो। नत्र त्यसको विकल्पमा अन्य वस्तुमार्फत् काम चलाउनु पर्ने भयो।
भेन्टिलेटर अभावका कारण कयौ राज्यका अधिकारी धेरै चिन्तामा छन्। उनीहरु यसकारण धेरै चिन्तित छन् कि हालत अझै खराब भएर भेन्टिलेटरमा राख्न बिरामीको छनोट गर्न नपरोस्। यसरी कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भनि छनोट गर्नु आफैंमा दुःखदायी अवस्था हो।
मंगलबार न्युयोर्क राज्यका गर्भनर एन्ड्रयु कुओमोले अमेरिकामा राज्य सरकार र संघीय सरकार मिलेर सामान खरिदको होडबाजी सुरु भएको आरोप लगाएका थिए, जसका कारण मेडिकल सामानको मूल्य आकासिएको छ।
अमेरिकाको जर्ज वाशिङटन विश्वविद्यालयको स्वास्थ्य नीति एव प्रबन्धकका प्रोफेसर जेफरी लेबीले सरकार जरुरी आवश्यकताका सामान खरिद गर्न असफल भएको बताए। यस्तो अवस्था आउन नहुनेतर्फ सरकार चनाखो हुन नसकेको उनलको तर्क छ।
‘अमेरिकासँग अहिलेको महामारीमा उपचार गर्न न संसाधन थियो न त कुनै तयारी नै,’ प्रोफेसर लेबीले भने, ‘अनि अवस्था यति खराब भयो कि अब चालिने सवै कदमहरु ढिलामात्र हुने भएका छन्। ‘अमेरिकासँग यो महामारीका जुध्नका लागि पर्याप्त समय भए पनि तयारी नदेखिएको जुफरको तर्क छ। ‘हामीसँग चीनमा देखिएपछि यससँग लड्नका लागि जरुरी सामान बनाउन पर्याप्त समय थियो,’ उनले भने, ‘हामीसँग उत्पादन गर्ने क्षमता पनि थियो, यो समयमा पर्याप्त सुरक्षाका लागि आवश्यक सबै उपकरण निर्माण गर्न सक्थ्यौं।’ तर सरकारले यो अवधीमा आफ्नो क्षमताको प्रयोग नगरेको ठहर प्रोफेरस लेबीको छ।
शंकास्पद मानिसको परीक्षण
‘कोरोना भाइरसको भयंकर प्रकोप रोक्ने एकमात्र प्रयास भनेको धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गरेर पत्ता लगाउने नै हो,’ प्रोफेसर लेबीले भने, ‘तर अमेरिका यस्तो प्रक्रिया गर्न असफल रह्यो, यो अमेरिकी प्रशासनको सबैभन्दा ठूलो गल्ती थियो।’ यही कारणले अवस्था अहिले भयानक भएको उनको बुझाइ छ।
‘पहिला के भइरहेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ, अनि मात्र त्यससँग लड्न सकिन्छ,’ उनले भने। यो जानकारीविनै स्वास्थ्य अधिकारीले हावामा तीर चलाएर बसेको उनको आरोप छ। भाइरसले कहाँ भयावह रुप लिन्छ भन्ने कसैलाई थाहा नहुने उनले बताए। ‘ठूलो परिमाणमा टेष्ट गर्नुको कारण हो भाइरससंक्रमित बिरामी कहाँ छन् भनेर पहिचान गर्नु,’ उनले भने।
संक्रमित व्यक्तिबाट दोस्रो व्यक्तिमा सार्न रोक्नु नै यसको सफलता हुने उनको तर्क छ । यो परीक्षणपछि यस्ता बिरामी राख्न अलग्गै केन्द्र निर्माणको आवश्यकता नपर्ने र लकडाउन पनि आवश्यक नपर्ने उनको तर्क छ।
‘लकडाउनका कारण अमेरिकी अर्थव्यवस्थाको गाडी रोकिसकेको छ,’ उनले भने, ‘बेरोजगारदर इतिहासकै उच्च विन्दुमा पुगिसकेको छ ।’ यो असफलतामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन जिम्मेवार रहेको र महामारीसँग लड्ने एक दशक पुरानो योजना खारेज गरेर ठूलो गल्ती गरेको प्रोफेसर लेबीले बताए । यो योजना तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुशको समयमा निर्माण भएको थियो।
‘ट्रम्प प्रशासनले न भविष्यमा आउने आपत देख्यो, न त सार्वजनिक स्वास्थ्य विभागमा भएको रिक्त अधिकारीको पूर्तिको आवश्यकता नै सम्झ्यो,’ उनले भने, ‘न उक्त रिक्त पदमा योग्य व्यक्तिको भर्ना गर्ने उनलाई हतारो भयो, यो सरकारलाई सरकारी व्यवस्थाप्रति भरोसा नहुँदा अहिले मूल्य चुकाउनु परेको छ।’ महामारीमा राष्ट्रपति ट्रम्प प्रशासनको ढिलाइ र लापरबाही प्रष्ट रुपमा देखिएको उनको तर्क छ।
फेब्रुअरि महिनामा सुरुवाती जुन परीक्षण गरियो, उनीहरुलाई अमेरिकाको चिरपरिचित ल्यावमा पठाइएको थियो। अमेरिकी प्रशासनको कमजोरी त्यसमा पनि देखिएको उनको बुुझाइ छ। किनकि यो परीक्षण गलत भइरहेको थियो ।
मार्चको मध्यतिर सरकारले महिनाको अन्त्यसम्ममा ५० लाख कोरोना भाईरस टेष्ट गर्ने लक्ष्य लिएको जनाएको थियो। यो लक्ष्यमा सरकार असफल भयो। ३० मार्चसम्म केवल १० लाख मानिसको मात्र परीक्षण हुन सक्यो । हुन त अन्य देशको तुलनामा यो धेरै थियो, तर बिर्सन नहुने कुरा के हो भने अमेरिकाको जनसंख्या ३३ करोड हो । उक्त अनुपातमा यो टेष्ट निकै कम थियो। अझै अमेरिकामा सुरुवाती चरणमा टेष्ट गर्ने कार्य सुस्त गतिमा गरियो। जब महामारी फैलियो तब ल्याबहरुमा टेष्टका लागि नमुनाहरुको बाढी नै लाग्यो। जो मानिसले नमुना दिए उनीहरुको नतिजा आउन कम्तिमा पनि एक हप्ता लाग्यो। जसका कारण रिपोर्ट नआएका मानिस अँध्यारोमै रहे। आफूमा कोरोना छ कि छैन भन्ने उनीहरुलाई थाहै भएन।
मंगलबार दुई बजे जब आफ्नो नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प उपस्थित भए, देशको अवस्था भयावह भइसकेको थियो। उनको सम्वोधनमा यो कुरा प्रष्ट देख्न सकिन्थ्यो।
‘म हरेक अमेरिकी नागरिकलाई आग्रह गर्न चाहन्छु उनीहरु आउने दिनको मुस्किलका लागि तयार रहनु होला,’ उनले भने, ‘अहिलेको अवस्था बढ्दै गएमा एक लाख अमेरिकी नागरिकको ज्यान जोखिममा हुने निश्चित छ।’
ट्रम्पपछि उनका सार्वजनिक स्वास्थ्य सल्लाहकारले पनि यस्तै चेतावनी दिए। यसको एक हप्ता पहिलामात्र राष्ट्रपति ट्रम्पले आशा देखाएका थिए– अमेरिकामा अप्रिलको मध्यसम्म अवस्था सामान्य हुने छ र कारोबार फेरि सुरु हुने छ। जनवरी र फेब्रुअरीमा यो भाइरसका कारण चीनको निर्माण क्षेत्र तहसनहस भएको थियो, साथै इटालीमा पनि अवस्था भयावह थियो। तब राष्ट्रपति ट्रम्पले कोरोना भाइरस सामान्य भएको र अमेरिका त्यसका लागि तयार रहेको बताएका थिए।
जब अमेरिकामा कोरोना भाइरसको संक्रमण शुरुवाती अवस्थामा थियो, ट्रम्प प्रशासन र अन्य सरकारी अधिकारीहरुले अवस्था नियन्त्रणमै रहेको र गर्मी बढेसगै यसलाई नियन्त्रणमा लिने दाबी गरिरहेका थिए। सरकारका शीर्ष नेतृत्व लगातार गलत अभिव्यक्ति दिइरहेका थिए। यही अभिव्यक्ति अहिले अमेरिकाका लागि समस्या भएको छ। ‘महामारी नियन्त्रणको तयारी लगातार परिर्वतन पनि गर्न जरुरी हुन्छ, किनकि कहिलेकाही तपाईंले जारी गरेको सन्देश पनि परिर्वतन गर्न आवश्यक हुन्छ,’ प्रोफेसर जेफरी लेवी भन्छन्, ‘तर अमेरिकी सरकारले यसलाई देखेन आलोचना गर्नेहरुलाई निशाना बनाइरह्यो।’
राष्ट्रपति ट्रम्पले यस्तो आपतकालीन अवस्थामा पनि आफ्नो फाइदा कसरी हुन्छ भनेर सोच्ने गरेको उनको आरोप छ। यसबाहेक ट्रम्प आफ्नो विरोधी डेमोक्रेटिक पार्टीका गर्भनरसँग पनि लडाइँ गरेर बसेका थिए ।
जस्तो उनले न्युयोर्कका मेयर एन्ड्रयु कुओमोलाई सहयोग गर्नुको साटो आलोचना गर्नमा समय बिताए। मिशिगनका ग्रेचेन ब्हिटमरविरुद्ध उनी ट्वीटरमै आक्रमणमा उत्रिए। उनले राज्यका नेताले यो महामारीसँग लड्न संघीय सरकारको प्रशंसा गर्नुपर्ने तर्क अघि सार्दै बसे।
सामाजिक दूरी कायम राख्ने ट्रम्पको असफल नीति
अमेरिकाको फ्लोरिडा राज्यको समुन्द्री किनारामा छुट्टी मनाउन कलेजका विद्यार्थीहरु भरिएका थिए। न्युयोर्कका मेट्रोको डिब्वामा मानिसहरु ठेलमठेल गरेर यात्रा गरिरहेका थिए। लुसियाना राज्यको चर्चमा पनि हजारौ मानिस भेला भएर प्रार्थना गरिरहेका थिए। अहिले यही चर्चका पादरीविरुद्ध भीड जम्मा गरेको आरोपमा मुद्दा दायर भएको छ। यस अवस्थामा पनि पादरी टोनी स्पेल एक स्थानीय टेलिभिजनमा ‘कोरोना भाइरस राजनीतिसँग प्रेरित भएको, हामीले हाम्रो राजनीतिक अधिकार दिलो ज्यान दिएर पाएका हौ त्यसैले जेसुकै होस् हामी भेला भएर प्रार्थना गर्न रोक्ने छैनौ ’ भन्दै थिए । पुरै देशका यस्ता सयौ उदाहरण छन्। जसले सामाजिक दूरी राख्ने नियमलाई खिल्ली उडाइरहेको थियो।
स्वास्थ्य र सरकारी अधिकारीले सामाजिक दुृरी राख्न भनिरहे, जनताहरु सामाजिक सम्पर्क बनाउन व्यस्त रहे। कैयौ राज्यमा कारोबार चलिरह्यो र भीडभाड भइनै रह्यो । ‘यदि मलाई कोरोना भाइरस हुन्छ भने होस्’ फ्लोरिडाको एक समुन्द्री किनारमा पार्टी गरिरहेको एक व्यक्तिले सीबीएस न्यूज च्यानललाई भनेका थिए, ‘म कोरोना भाइरससँग डराएर पार्टी गर्न कहाँ रोक्छु।’
राम्रो सोचका साथ लिएको केही कदमले गलत नतिजा पनि दिन्छ । न्युयोर्कको सव वे बन्द गर्नाले ट्रेन र बसमा मानिसको भीड बढ्यो। स्कुल र विश्वविद्यालय छुट्टी हुँदा विद्यार्थीहरु घर गए। हुनसक्छ उनीहरुले कोरोना भाइरस फैलाउन योगदान पु¥याए। देशमा पुर्ण रुपमा लकडाउन नहँुदा यी मानिसहरु पर परसम्म पुगे र उनीहरुले संक्रमण फैलाउने काम गरे।
राष्ट्रपति ट्रम्पले युरोपेली मुुलुकबाट अमेरिका आउनेहरुलाई रोक त लगाए तर यो निर्णयले विमानस्थलमा भीड जम्मा भयो । जसका कारण अमेरिका प्रवेश गर्ने र बाहिर जानेका बीचमा सम्वन्ध हुँदै कोरोना भाइरसको संक्रमण फैलियो। अब आउने दिनमा यसको. गम्भीर नतिजा देख्नेबाहेक अर्को विकल्प देखिएको छैन। यसले भाइरस संक्रमण रोक्ने अमेरिकी सवै प्रयासमा धक्का लाग्ने निश्चित छ । यो अहिले पुरै अमेरिकामा फैलिएको छ दनदनी बलिरहेको आगोमा पेट्रोल हाल्नुजस्तै अहिलको अवस्था देखिएको छ।
कोरोनासँग लड्ने अमेरिकी सफलता विशाल स्टिमुलस प्याकेज
पछिल्लो हप्ता अमेरिकी सांसदले कोरोना भाइरस प्रभावित मानिसका लागि राहत दिन २ खर्ब अमेरिकी डलरको राहत प्याकेजको स्वीकृति दियो। यसले धेरै अमेरिकी नागरिकलाई सिधै नगद प्राप्त हुने छ, बेरोजगारलाई आर्थिक सहयोग हुने छ, राज्यहरुको अवस्था सुधारका लागि आर्थिक सहयोग हुने छ र धेरै प्रभावित उद्योगहरुलाई सानो र मध्यम कारोबारको ऋणसमेत मिनाह हुने छ । यो निकै ठूलो र रेकर्ड तोड्ने अवस्थाको थियो ।
‘यो राहत प्याकेजमात्र थिएन अमेरिकालाई बचाउन सक्ने विधेयक पनि थियो,’ आर्थिक विशेषज्ञ एवं कोलम्विया ल स्कुलका शिक्षक माइकल ग्रेत्जले भने, ‘भाइरसका कारण आपतमा परेका मानिस र उद्योगलाई यसले हौसला पनि दिने छ ।’ अमेरिकी कांगेसले यो विधेयकमार्फत् बेरोजगारीसँग जोडिएका केही पुराना कानुनलाई पनि परिर्वतन गरेको छ।
यो प्याकेजमार्फत् डेमोक्रेटिक र रिपब्लिकनहरु यो महामारीमा लड्न फेरि एक ठाउँमा उभिएको र यो सकारात्मक हुने उनको बुझाइ छ। यो शुरुवात भएको र आगामी दिनमा जारी रहेको कोरोना भाइरससँग लड्न सहज हुने उनको बुझाइ छ।
अमेरिका अहिले पनि अनुसन्धानको महाशक्ति हो ?
कोरोना भाइरससँग लड्न अहिले अमेरिकी स्वास्थ्य व्यवस्थामा केही कमजोरी देखिएको छ। जस्तो महंगो सेवा। सबैलाई स्वास्थ्य योजनाको लाभ मिल्न मुस्किल र जरुरी संसाधनको कमि देखिएको छ। यो घटनाबाट के स्पष्ट भएको छ भने हाल भएका संरचना अपुग छन्। यो घटनाबाट अमेरिकी अनुसन्धान र औषधि निर्माणको शक्ति भने बाहिर आएको छ। औषधि बनाउने कम्पनी र मेडिकल रिसर्चहरु अहिले भाइरसको धेरैभन्दा धेरै सूचना संकलनमा केन्द्रित भएका छन्। उनीहरु यो महामारीलाई हराउने रणनीतिका साथ दिनरात खटिएका छन् ।
एक कम्पनीले छिटो टेस्टको नतिजा बनाउने किट निर्माण गरिसकेको छ। यो किटले तत्कालै कोरोना भाइरस हो वा होइन पत्ता लगाउने छ । यो सफलताले अब टेष्ट गराउन लामो लाइन बस्नु नपर्ने भएको छ। यसपछि स्वास्थ्य अधिकारीलाई संक्रमित र संक्रमण नभएका मानिसलाई छुट्टाउनन क्वारेन्टाइनमा राख्न सहज भएको छ ।
‘यो भाइरसको भ्याक्सिन पत्ता लगाउनका लागि हालसम्म भएका खोज उत्साहवर्धक नै छन्’ प्रोफेसर जेफरी लेवी भन्छन्, ‘जे विज्ञानले यो क्षेत्रमा गर्न सक्थ्यो त्यो हाम्रा वैज्ञानिकहरुले गरिरहेका छन् ।’ औषधि कम्पनीले पनि यो भाइरसको औषधि पत्ता लगाउन र बिरामी ठीक पार्न नयाँ तरिकामाथि अनुसन्धान गरिरहेका छन् । उनीहरुलाई सरकारसँग भरोसा मिलिरहेको छ। उनीहरुले गरेको उत्पादनलाई बजारमा लैजान सरकारले सहयोग गर्ने भन्दै हौसला पनि दिइरहेको छ।
प्रोफेसर जेफरीलाई विश्वास छ केही महिना वा त्यसभन्दा केही समयपछि यसको उपचार पत्ता लाग्ने छ। अमेरिकी सरुवा रोग नियन्त्रण विभागका निर्देशक डा. एन्थोनी फौसीले नयाँ भाइरसको खोप पत्ता लाग्न एक वर्ष लाग्ने भविष्यवाणी गरेका छन् । यो अवधिमा भाइरस सक्रमितको संख्या कमभन्दा कम राख्ने कार्यमा काम गरिरहेको उनको भनाइ थियो। जबसम्म बजारमा कोरोना भाइरसको खोप आउँदैन, तबसम्म मानिसको मृत्यु नियन्त्रण गर्नुपर्ने र त्यसलाई कम गर्न सरकारले काम गर्ने एन्थोनीको भनाइ थियो।
राज्यका नेताहरुको उच्चस्तरको प्रदर्शन
अमेरिकी संघीय .प्रशासनिक व्यवस्थामा राज्यसँग धेरै अधिकार छ। अमेरिकी राजनीतिक व्यवस्थामा यो राम्रो पनि देखिएको छ भने कहिलेकाहीँ असफलताहरु पनि आउने गरेका छन्। खासगरी स्थानीय नेताहरुले जनताको समस्या समाधान गर्ने नयाँ–नयाँ तरिका यो व्यवस्थाभित्रवाट खोजेका छन्, जुन निकै सुखद छ। जसका कारण राम्रा–राम्रा नीति र परम्परा निर्माण गर्न मद्दत मिल्ने देखिन्छ। ‘कोरोना भाइरसको यो महामारीको समयमा हर राज्यका मेयरले आफ्नो स्तरमा निर्णय गरिहेका छन्,’ प्रोफेसर जेफरीले भने, ‘केही राज्यमा प्रशंसायोग्य काम भएका छन् कतै भने असफलता हासिल भएका छन् ।’
प्रोफेसर जेफरी अहिलेको अवस्थामा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसस र बासिङटनका जे इनस्लीले राम्रो काम गरेको बताउँछन् । उनीहरुले विद्यालय बन्द गरेर त्यहाँ क्वारेन्टाइन बनाउने निर्णय गरेर सुझबुझ प्रदर्शन गरेको उनको बुझाइ छ। साथै उनीहरुले संक्रमण फैलन नदिनका लागि केही उपायहरु पनि अवलम्वन गरेका थिए जसका कारण ती राज्यमा संक्रमित बिरामी कम पाइएको उनको बुझाइ छ।
ओहायोका गभर्नर माइक डेभाइनको पनि उनी प्रशंसा गर्छन् । उनले शुरुवाती दिनमा कठोर नियम लगाएर आलोचना खेपेका थिए जसका कारण उक्त राज्यमा कोरोना संक्रमित कम देखिएका छन् । स्वास्थ्य अधिकारीका अनुसार न्युयोर्क सहरका कोरोना भाइरसको जुन हालत छ, अन्य राज्यमा देखिएको छै्रन यसको कारण ती राज्य सरकारको सावधानी नै मुख्य कारण हो।
बीबीसी हिन्दीबाट। जर्चर बीबीसीका उत्तर अमेरिकी संवाददाता हुन्।