डा सरोज श्रेष्ठ
कोरोना शब्द सायद अहिले सवैभन्दा बढी सोचिने, बोलिने र लेखिने शब्द भएको छ। आजभन्दा साढे तीन महिना अघि चीनको वुहान शहरबाट सुरु भएको संक्रमण अहिले विश्वको २०८ वटा देशहरुमा फैलिसकेको छ।
सार्स कोभ २ भन्ने नयाँ कोरोना भाइरसको संक्रमणले हुने रोगलाई कोभिड १९ भनिन्छ। अहिले यसको सामुन्ने महाशक्तिशाली अमेरिका समेत निरिह छ। अप्रिल १ देखिको तथ्यांक केलाउने हो भने प्रत्येक दिन ७० हजारभन्दा बढी संक्रमित भेटिन्छन् भने दिनको ५ हजारको भन्दा बढीको यसैका कारणले मुत्यु भइररहेको छ। यो क्रम बढ्दो छ।
लक्षणहरु
ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुनु सवैभन्दा बढीमा देखिने लक्षणहरु हुन्। ८० प्रतिशत संक्रमित व्यक्तिहरुमा केही लक्षण नहुने वा माथीका लक्षणहरु हुनसक्छन्। उनीहरु बिना उपचार वा सामान्य हेरचाहबाट निको हुन सक्छन्। चीनको वुहान शहरको बिरामीहरुमा गरीएको अनुसन्धानलाई आधार मान्दा ज्वरो ९० प्रतिशत, सुख्खा खोकी ५९ प्रतिशत, भोक नलाग्ने ४० प्रतिशत, जिउ दुख्ने ३५ प्रतिशत र सास फेर्नु गाह्रो हुने ३५ प्रतिशतमा देखिएको छ।
यसका साथै झाडापखाला, घाँटी दुख्ने, सुँघ्ने क्षमतामा र स्वाद पाउने क्षमतामा ह्रास आएको पनि भेटिएका छन्। क्रिटिकल इलनेस भएर आइसियुमा भर्ना भएकाहरु मध्ये ३३ प्रतिशतमा हार्ट फेलियर भएको पाइएको छ। भर्खरै अप्रिल १ मा अमेरिकाको हेनरी फोर्ड अस्पतालमा एकजना बिरामीमा एक्युट नेक्रोटाइजिङ इनकेफेलोप्याथी भएको पाइएको छ। यो भनेको मस्तिष्कको तन्तु संक्रमित भई तन्तुको मृत्यु भएको भन्ने बुझिन्छ।
कति खतरा?
बिरामीले दुई दिनदेखि दुई हप्ता भित्र कोभिड भएको देशको भ्रमण गरेको वा कोभिडको बिरामीसँग सम्पर्क भएको विवरण दिनसक्छ। तर अहिले यो यति फैलिसक्यो कि अमेरिका र विकासित देशहरुमा भ्रमण वा बिरामीसँग सम्पर्क नभए पनि देखिन थालेको छ। करिब २० प्रतिशत बिरामीहरुमा संक्रमण बढ्दै गएर फोक्सोले राम्रारी काम गर्न सक्दैन। अनि बिस्तारै शरीरको अरु महत्वपूर्ण अंगहरु (मुटु, कलेजो, मिर्गौला, मस्तिष्क)मा अक्सिजन नपुगेर क्रमशः काम गर्न छोड्दै जान्छन् र बिरामीको मुत्यु हुनसक्छ। विशेषगरी ७० वर्ष माथिका व्यक्ति खसामा मधुमेह, उच्च रक्तचाप, सिओपिडी, क्यान्सर लगायतका दीर्घ रोग भएका बिरामीहरुमा स्थिति क्रिटिकल हुने सम्भावना बढी हुन्छ।
कोभिड १९ किन यति खतरनाक छ?
अहिलेसम्मको तथ्यांक अनुसार १ जना संक्रमित व्यक्तिले २ देखि ३ जनालाई संक्रमित बनाउन सक्छ। संक्रमित १०० मध्ये ३ देखि ४ जनाको मृत्यु हुन सक्छ, त्यो पनि उपचारको राम्रो व्यवस्था भएको स्थानहरुमा, नत्र मृत्यु हुने सम्भावना अझ बढी हुनसक्छ।
कोरोना फैलिन नदिन केही सुझाव
व्यक्तिगत व्यवस्थापन : हात धुने, सामाजिक दूरी राख्ने, नाकमुख छोप्ने। तपाईंलाई दुईवटा उपायहरु छन् कि घरमा स्वतन्त्र रुपमा बस्नुहोस्। नत्र हस्पिटलमा छुट्टिएर बस्न तयार हुनुहोस्। जहाँ तपाईं न परिवार भेट्न पाउनु हुनेछ न साथीभाइ नै।
मास स्केल म्यानेजमेन्ट : रिटायर्ड स्वास्थ्यकर्मीहरुलाई आकर्षण सेवा सुविधा दिएर काममा फर्काउने। इलेक्टिभ सर्जरी बन्द गर्ने। आवश्यक परे आइसियु, हस्पिटल वार्डमा सेवा बढाउन सकिन्छ।
जनरल सर्जन, हाडजोर्नी सर्जन लगायत धेरै डाक्टरहरुलाई बेसिक आइसियु तालिम दिन सकिन्छ। भेन्टिलेटर चलाउने इन्ट्यिुवेट गर्ने, सेन्ट्रल लाइन राख्ने जस्ता लाइफ सेभिङ स्किल सिक्नु उपयुक्त हुन्छ।
अनुभवी नर्स तथा धेरै भन्दा धेरै स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार तालिम प्रदान गर्ने। अहिलेको अवस्थामा प्रतिकात्मक भन्दा स्वस्फुर्त सहभागिता हुनुको विकल्प छैन।
- डा श्रेष्ठ अमेरिकाको ओरेगनस्थित पिसहेल्थ सेकर्ड हार्ट मेडिकल सेन्टरमा कार्यरत छन्