डा प्रकाश बञ्जाडे
कुनै समय श्रद्धा, संस्कार र संवेदनाका आयामले बनेको नेपाली समाज थियो। मर्यादा, नैतिकता र अनुशासनले बाँधिएको त्यो समाज। जिउनुको अर्थ केवल अर्थ (धन, पैसा) लाभ थिएन। मानिस मनको सुखमा सन्तुष्टि प्राप्त गथ्र्यो। सबै कुरा सरल थियो।
जीवन एक लयमा बगिरहेको थियो तर समय उस्तै रहेन। अर्थलाभले निस्केको झिल्कोले अन्ततः भावना र मानवीय संवेदनामा डढेलो लगाएरै छोड्यो। अहिले एकादेशमा एउटा नेपाली समाज थियो, जसले सही र गलत छुट्याउने सामथ्र्य राख्थ्यो।
पाँच कक्षामा पढ्दा नेपाली पढाउने शिक्षकले सोध्नुभयो- 'संसारको सबैभन्दा धनी मानिस को हो?' नेपालभन्दा बाहिर पनि संसार छ भन्ने कुरा राम्रोसँग बुझिनसकेको बाल मस्तिष्कमा धेरै उत्तरहरु आउन त सकेनन्, तथापि हामीले केही उत्तर भने सरलाई सुनायौँ।
मैले गाउँको सबभन्दा ठूलो किराना पसलेको नाम सुनाएँ। धेरैले भने गोजीमा दुई मुठी चिउराको खाजा बोकेर स्कुल जाने ऊ जमानामा घिउ र चिनी हालेको पराठा ल्याउने चन्द्रेका बा नै सबैभन्दा धनी हुनुपर्छ भन्ने ठहर गरे।
सरले मुस्कुराउदै भन्नुभयो- 'जो मानिस स्वस्थ छ, निरोगी छ त्यो नै सबैभन्दा धनी हो। स्वास्थ्य नै धन हो।' त्यो दिन सधैं सिँगान चुहाउदै स्कुल आउने चन्द्रेलाई हामीले कङ्गाल भनेर गिज्यायौँ। ऊ भुतुक्क भयो। मैले भने त्यो एक दिनलाई भए पनि आफूलाई धनाढ्य महसुस गरेँ र भविष्यमा डाक्टर बनी सबैको स्वास्थ्यको पहरेदार बन्ने अठोट गरेँ।
अनिश्चित भविष्यको कल्पनामा भयवित अनगिन्ती निन्द्राविहीन रातहरु र अपरिपक्व सिप र त्यसको परिणामको भयमा दक्षता निकट पुग्न संघर्षरत समयको भोगाइबीच चिकित्सिक त बनियो तर बिडम्बना, म डाक्टर बन्ने अठोट लिएको समय र डाक्टर बनेको समय बीचमा नेपालमा एउटा महामारी फैलियो। एउटा यस्तो रोग जसले अधिकांशको दिमागमा डाक्टर राक्षसी रुप हो भन्ने भ्रम स्थापित गरिदियो।
मानिसहरु आफ्नो व्यक्तिगत सुख र पारिवारिक जीवनशैलीलाई किनारामा राखेर अरुको स्वास्थ्यको लागि एउटा डाक्टरले गरेको त्यागलाई व्यपार सम्झिन थाले। यी रोगी मानिसहरुको नजरमा मानिस मर्दैन, डाक्टरद्वारा मारिन्छ। आफ्ना काम, आराम र मनोरञ्जनलाई प्राथमिकताको घेराबाट बाहिर राखेर जीर्ण र रोगले क्षय पारेका शरीरका पूर्जाहरु मर्मत गर्न धैर्य र सहनशील बनी बसेका मुस्कुराउँदा मुहारका पछाडि मानिसहरु राक्षसी रुप देख्न थाले।
समाजमा स्वस्थ मानिसहरु पनि छन्, जसले सहि र गलत, न्याय र अन्याय छुट्याउन सक्छन् तर अराजक मानसिकता बोक्नेहरुको भीडमा उनीहरु मौन छन्। हराइरहेका छन् वा अरुको लागि न्यायिक आवाज उठाउनुपर्ने आवाश्यकता नै महसुस गर्दैनन्। सबैभन्दा सन्देहको विषय नै यही हो।
मानिसहरु स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथिको आक्रमणलाई 'सजाय’ भन्ठान्छ्न्। यस्तो त्रासद वातावरणले स्वास्थ्यकर्मीको समाजप्रतिको जिम्मेवारीमा क्षय पुर्याउँछ । कालान्तरमा यसको सजाय समाजले नै भोग्नुपर्ने हुन्छ र यसको दोषी केवल स्वास्थ्यकर्मीमाथि जाई लाग्ने पाखुरेहरु मात्र होइन, अहिले रमिता हेरेर बस्ने 'वौध्दिक’ भनाउँदा वर्ग पनि पर्छन्।
पूर्वको अनलाइन न्युजले डाक्टरलाई लापरबाहीको ट्याग लगाएर एउटा समाचार लेख्छ। त्यो समाचारमा फेसबुके पण्डितहरु त्यो डाक्टरलाई कुन हदसम्मको सजाय सुनाउनुपर्छ भनेर शास्त्रार्थ गर्छन्। राजनीतिक अफिमको नशामा लिप्त झुण्ड अपराध गरोस् संरक्षण दैलोमा आइपुग्छ। अस्पतालमा केही घटना घटोस् क्षणभरमै शक्तिप्रदर्शन गर्न आतुर एक हुल मानिस र सनसनीपूर्ण समाचारका भोका २/४ जना माइक छोपेर आइपुग्छन्। ती तिनै मानिसको हुल हो जो बिरामीलाई रगतको आवश्यकता पर्दा दुलोभित्र लुक्छन् र ती तिनै सञ्चारकर्मी हुन् जो समाचारको भावभन्दा शीर्षकले सनसनी मच्याउदै पत्रकारिता पेसाको नै धज्जी उडाइरहेका छन्।
निर्णय, डाक्टरको लापरबाही। त्यसमा कसैले अनुसन्धानको समेत आवश्यकता ठान्दैन। यो देशमा अस्पतालमा मर्नेहरु सबै डाक्टर र नर्सकै लापरबाहीले मर्छन्। मापसे (मोटरसाइकल दुर्घटना), (अस्पतालमा निधन डाक्टरको लापरबाही)। बिरामी बोल्नसक्ने हुन्जेल धामी, झाँक्री, अन्तिम अवस्थामा अस्पताल। रोगले क्षय भइसकेको शरीर, अस्पतालमा मृत्यु, डाक्टरको लापरबाही। उपचार क्रममा आउने अटाल्य जोखिम, बिरामीको मृत्यु (डाक्टरको लापरबाही)।
स्वास्थ्य सेवा विस्तार भइसकेको वर्तमान अवस्थामा मानिस जन्मने र मर्ने थलो अस्पताल नै हो। अस्पतालमा हुने सबै मृत्युलाई डाक्टरको लापरबाही भन्नु कति जायज होला?
पत्रकारिता मर्यादित एवं अति संबेदनशील पेसा हो, जसले गलत र सही कामको स्पष्ट र सत्यपूर्ण खुलासा गर्नुपर्छ। मेरो भनाइको आसय स्वास्थ्यकर्मीद्वारा गल्ती नै हुँदैन भन्ने पटक्कै होइन।
हामी स्वास्थ्यकर्मीहरुले पनि बिरामीप्रतिको जिम्मेवारी सिरोपर गर्नुपर्छ र गलत कार्य गर्ने जुनसुकै वर्ग, पेसा र पदको व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्छ।
अपराध र कारबाहीको निक्र्योल गर्ने जिम्मा न्यायालयको हो। वर्षौंको कठिन तपस्याले बनेको डाक्टर निद्रा, प्यास, भोक सजिलै पचाउन सक्छ तर मानवीय संवेदना र आत्मसम्मानको प्रवाह नगरी लगाइको अपराधीको ट्याग सजिलै पचाउन सक्दैन।
तपाईं मेरो पेसा, नियत र आत्मसम्मानप्रति जिम्मेवार हुन सक्नुहुन्न भने मलाई तपाईंको स्वास्थ्यप्रति जिम्मेवार होस भन्ने कसरी चाहनुहुन्छ? के आधारमा आश राख्नुहुन्छ?
हुन त, सबै क्षेत्रमा आआफ्नै समस्या छन्। संरक्षक मानिने राज्यलाई आफ्नै आसेपासेहरुको संरक्षण गर्दै फुर्सद छैन। राज्य आफैं मरुभूमिमा हराएको काग जस्तो छ। के गर्ने, कुन दिशा जाने, कसको सहयोग लिने भन्नेबारे केही उपाय नै छैन। स्वास्थ्य क्षेत्रका नीतिनियम, कार्यक्रम बनाउने विज्ञ टोलीमा स्वास्थ्यकै मान्छे अटाउँदैन ।
हामी युगौंदेखि गिध्दहरुद्वारा शासित छौँ जसले देख्छ त केबल सिनो। पदको उचाइमा बस्नेहरु प्रलोभनको सिँढी चढेर यतिमाथि पुगिसके जहाँबाट सामान्य मानिसका समस्याहरु देख्दै देख्दैनन्।
हालै संसारभर फैलिइरहेको कोभिड(१९ विरुद्ध स्वास्थ्यकर्मीहरु बिनास्वास्थ्य सुरक्षा सामग्री पनि ज्यान जोखिममा राखेर उपचार गरिरहेका छन् भने कतैकतै राज्यका जनप्रतिनिधिहरु एन ९५ मास्क लगाएर घुमिरहेका छन्। त्यसैमाथि पनि राज्यले डाक्टरहरु लाई तर्साउने, धम्क्याउने खालका सूचना निकाल्छ। जनताका समस्याहरुको केही चासो छैन।
तपाईंले अहिले यो पढिरहँदा केही व्यक्तिहरु नेताको आड लिएर तपाईं हाम्रा समस्याको समाधान गर्न खटिएको एउटा स्वास्थ्यकर्मीमाथि जाइ लाग्दै होलान्। यो देशमा चिकित्सक भएर बाँच्न गाह्रो छ। जुनियर डाक्टरहरुलाई त झन् हम्मेहम्मे छ। राज्यले कुरो बुझ्दैन र डाक्टरहरुको संरक्षणको प्रण गरेको नेपाल चिकित्सक संघले आश्वासन दिँदै निराश बनाउँछ।
म यकिन साथ भन्न सक्दिनँ, मानिसहरुलाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो वा बुझ्न नसक्नु मानिसहरुको कमजोरी। डाक्टरहरुको आस्थाको केन्द्रको रुपमा स्थापित नेपाल चिकित्सक संघ र राज्य बाट संरक्षणको आश राख्नु हाम्रो कमजोरी हो वा संरक्षण गर्न नसक्नु राज्य तथा संघ को कमजोरी। तर यति कुरा यकिनका साथ भन्न सक्छु कि यही अवस्था रहिरहे मानिसहरु दशकौंसम्म भनिरहने छन्- 'मुकुन्डोभित्र एउटा राक्षस लुकेको छ, जसले मान्छे खाने गर्छ।'