अमेरिका न्युयोर्क अहिले विश्वको सवैभन्दा बढी प्रभावित सहर हो। डा दिनेश सुवेदी न्युयोर्कस्थित स्टेट्स युनिर्भसिटी अफ न्युयोर्कमा कार्यरत छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि उनी उक्त अस्पतालको कोभिड १९ युनिटको मेडिकल इन्जार्चको रुपमा कार्यरत छन्। कोभिड १९ का बिरामी उपचारका विषयमा उनले आफ्ना अनुभव र अनुभूति नेपाल लाइभममार्फत् बाँडेका छन्। उनकै शब्दमा उनको उपचार अनुभव :
म इन्चार्ज रहेको युनिटमा कोरोनाका शंकास्पद बिरामीलाई मात्र हेरिन्छ। हामी दैनिक २०\२२ जना बिरामीलाई हेर्छौं। जसमध्ये दैनिक पाँच जनामा पोजेटिभ भेटिन्छ र यो संख्या दिनप्रति दिन बढ्दै गएको छ।
यस युनिटमा शंकास्पद बिरामीलाई हामीले आइसोलेसनमा राख्छौं। रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्जार्च गर्छौं भने पोजेटिभ देखिएका बिरामीलाई ठिक नभएसम्म उपचार गर्छौं। उनीहरुलाई निको बनाएर घर नपठाएसम्म मेरो मुख्य भूमिका रहन्छ। हामीले यहाँ विभिन्न प्रक्रियाबाट कोरोना संक्रमितको उपचार गरिरहेका छौं, जसलाई म बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु।
१. कोरोनाको परीक्षण
हामीले अहिलेसम्म कोरोनाको परीक्षण गर्ने भनेको रियल टाइम पिसिआर नै हो। यसमा बिरामीको नतिजा नआउँदासम्म हामी बिरामीलाई आइसोलेसनमै राखेर उपचार गर्छौं। अघिल्लो हप्ता हामीले दिनको एकपटक पिसिआरको लागि पठाउँथ्यौ भने अहिले दिनको दुई पटक पठाउँछौ। हामी यही रिजल्टको प्रतिक्षामा हुन्छौं। किनभने यो हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ।
२. पेसेन्ट राउन्डिङ
पेसेन्ट राउन्डिङ्ग सामान्य भन्दा धेरै फरक हुन्छ। यसमा हामीले पिपिई (व्यक्तिगत सुरक्षात्मक उपकरण) लगाउनुपर्छ। मुख्य रुपमा यहाँ पिपिई भनेको नाक मुख छोप्न एन ९५ माक्स, गगल, गाउन र ग्लोब्स नै हो। अहिलेसम्म यहाँ कपाल र जुत्ता छोप्ने गरिएको छैन। यहाँ पनि एन ९५ मास्कहरुको अभाव हुँदै गएपछि प्यापर प्रयोग गरेका छौं। यो एउटा मेसिन जस्तो हुन्छ। यो हेर्दा भ्याकुम जस्तो लाग्छ। पिपिई लगाएर बिरामीलाई हेर्दा एकदम असहज महसुस हुन्छ।
३. नेगेटिभ प्रेसर युनिट
यो युनिटमा सामान्यतया कोठाहरु हुन्छन्। तर, अहिले कोरोनाको महामारीको बेला यो युनिटलाई हामीले नेगेटिभ प्रेसर युनिट बनाएका छौं। यो युनिटमा भएको हावाहरु बाहिर नजाओस् भन्ने मुख्य उद्देश्य हो।
४. परीक्षण पोजेटिभ भएमा
टेस्ट पोजेटिभ भएमा त्यही अनुसार प्रक्रिया सुरु हुन्छ। बिरामीको अवस्था हेरी उपचार सुरु गर्छौं।
५. कन्भ्यालेसन्ट
यो प्लाज्मा प्रोजेक्ट हो। यसको लागि बिरामीहरु जो निको भइसकेका छन्, विशेषगरी १४ दिनदेखि निको भइसकेका छन्। उनीहरुको प्लाज्मा ट्रान्सफ्युजन गर्ने हो।
६. बिरामी
मैले हेरेका बिरामीमध्ये सबैभन्दा कम उमेर २२ र सबैभन्दा वृद्ध ९३ वर्षका बिरामी थिए। धेरैजसो बिरामीहरु ४० देखि ६० वर्षका छन्। मैले १५ जना बिरामीको उपचार गरेको छु। अहिलेसम्म कसैको मृत्यु भएको छैन। कुन बिरामी सिकिस्त हुन्छन्, कुन निको हुन्छ, यत्तिकै भन्न सकिने अवस्था छैन।
सवैभन्दा कम उमेरको २२ वर्षका बिरामी सिकिस्त छन् भने ९३ वर्षका बिरामीको अवस्था भने सामान्य छ। ट्राभल हिष्ट्री भएका बिरामीमा लक्षण बढी देखिएको तर स्थानीय संक्रमणमा खासै लक्षण नदेखिएको मेरो अनुभव छ। क्यान्सरका बिरामीहरुमा पनि लक्षण बढी देखिएको छ। १५ जना बिरामी मध्ये १२ जनामा ज्वरो, ९ जनामा मासंपेशी दुख्ने, खोकी ८ देखि ९ जनामा र ४ जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो। श्वासप्रश्वासको समस्या र संख्या पछि बढ्दै पनि गयो। तर, धेरैलाई सुख्खा खोकी नै हुन्छ। प्रयोगशालामा ८ जना जतिमा लिम्फोपेनिया थियो।
सिटि स्क्यान सवैलाई गरिएको छैन। नियमित निमोनिया पनि चार जनामा देखिएको थियो। छातिको एक्सरेमा पाँच जनामा सामान्य, अन्य पाँचमा केही देखिएन भने, बाँकीमा निमोनिया जस्तो कोभिडसँग मिल्ने परिवर्तन देखिएको थियो। त्यही भएर एक्सरेले धेरैलाई सहयोग गरेन।
७. पुनः परीक्षण
केही बिरामीमा पहिलो परीक्षणमा नेगेटिभ र दोस्रो परीक्षणमा पोजेटिभ आएको भेटियो। पिसिआरको सेन्सेटिभिट त्यति राम्रो भनिदैन। त्यसैले शंका लागेका बिरामीमा हामीले पुनः परीक्षण गरिरहेका छौं। तापनि यहाँको स्ट्यान्डर्ड पिसिआर नै हो।
८. चेन अफ कमान्डमा उपचार
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निकै डराएका छन्। कतिले त जागिर नै छोडेको पनि सुनें तर त्यति नै मात्रामा उपचारमा खटिनुपर्छ भनेर आएका पनि छन्। हामी अहिले कमान्डमा चल्छौं। यो बेला उपचारको निर्देशिका काम लाग्दैन। त्यसैले चेन अफ कमान्डमा हामीले काम गरिरहेका छौं।
९. स्वास्थ्यकर्मी होसियार हुन जरुरी
जब कुनै बिरामीमा कोरोना पोजेटिभ देखिन्छ। त्यसपछि त्यो कोठामा पहिलोपटक छिर्दा सबै स्वास्थ्यकर्मी डराउँछन् र धेरैले भगवानलाई प्रार्थना गर्ने पनि गर्छन्। मैले पनि पहिलोपटक कोरोना पोजेटिभ बिरामीको कोठामा जाँदा पशुपतिनाथ र गणेशलाई सम्झेर प्रार्थना गरेको थिएँ।
बिरामीहरु एउटा जेलमा बसे जस्तो हुन्छ। उनीहरु बाहिर जान पाउँदैन। चिकित्सकहरु पिपई लगाएर जाने हुँदा राम्रोसँग सञ्चार हुन पाउँदैन। जसले गर्दा उनीहरुमा मानसिक समस्या देखिन सक्छ। कति बिरामीहरु त भाग्न पनि खोज्छन्। तर, ती बिरामीका लागि यहाँ प्रहरी र सुरक्षा गार्ड तैनाथ गरिएको छ।
यहाँ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। अहिलेसम्म १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। जसमध्ये ४ जना चिकित्सक छन्। यहाँको माहोल त्रासपूर्ण छ। तर, प्रत्येक दिन कोरोनाका बिरामीलाई हेर्नुपर्ने भएकाले सामान्य नै लाग्न थालेको छ। पिपिई लगाएर गएपछि कोरोना सर्दैन तर भूलचुक गर्नुहुँदैन। सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ।