डा अनिल कार्की
केही समय अगाडि काम गर्ने चिकित्सकको लाइसेन्स खारेज गर्ने विषय निकै चर्चामा आयो। कर्णाली प्रदेशमा पनि प्रमुख जिल्ला अधिकारीले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको र बुटवलमा पनि सेवाबाट बर्खास्त भएको जस्ता विषयहरु बाहिर आए। यति मात्र होइन, प्रहरीबाटै चिकित्सकमाथि कुटपिट तथा दुव्र्यवहार पनि भए।
मुलुकको विषम परिस्थितिमा चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्न प्रोत्साहनको आवश्यकता छ। तर यी सबै घटनाले हाम्रो काम गर्ने जोश-जाँगर र प्रोत्साहनलाई घटाउँदै लगेको छ। यस्ता घटना भइरहे हामीलाई काम गर्न गाह्रो हुन्छ।
हामी जनतालाई सेवा दिनुपर्छ भनेर दिनरात खटिइरहेका छौं। कोरोनाको महामारीको यो परिस्थितिमा हामी स्वास्थ्यकर्मीमा पनि एक किसिमको त्रास छ। यही बेला हामीलाई समुदाय, सरकार र सबै पक्षबाट प्रोत्साहनको आवश्यक छ र प्रोत्साहन गर्ने समय पनि यही हो।
अहिले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आवश्यक छ। सामाजिक सञ्जालमा आएका र विभिन्न राजनीतिक नेतृत्वले गर्ने गैरजिम्मेवार टिप्पणीले पनि हाम्रो मनोबल कमजोर पारेको छ। स्वास्थ्यकर्मीहरुले काम गरेनन् भनेर विभिन्न टिप्पणी आइरहेका हुन्छन्, साँच्चै काम नगरकै हुन् त?
गैरजिम्मेवार टिप्पणाी गर्ने राजनीतिक नेतृत्वले बरु पिपिई कति छ? कहाँ कति बाँडिदैछ? के हुँदैछ भन्ने विषयमा चासो देखाएको भए हुन्थ्यो। त्यसैले यो समयमा सबैले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने, कसरी सुरक्षित बनाउने भन्ने विषयमा ध्यान दिए काम अझ राम्रो हुन्थ्यो।
कोरोनाको महामारी रोकथाम गर्न हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका छौं। हामीले टेलिफोन सम्पर्कको व्यवस्था गरेका छौं। ठाउँठाउँमा अस्पतालमा फिभर क्लिनिक सञ्चालन गरेका छौं। विभिन्न अस्पतालमा काम के कसरी भइरहेको छ भनेर नेपाल चिकित्सक संघले अनुगमन पनि गरिहेको छ।
प्रहरीबाटै स्वास्थ्यकर्मीमाथि हुने कुटपिट र दुव्र्यवहारका विषयमा पनि गम्भीर हुने बेला आएको छ। जेल वतिवाउट बेललाई राज्यले कानुन बनाएर ल्याउने उचित समय हो यो। किनभने राज्य, नेता र प्रहरीबाटै यदि हामी सुरक्षित छैनौं भने यो आत्मबलले कसरी काम गर्ने?
(नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)