डा सुवास प्याकुरेल र डा करुण न्यौपाने
आजसम्मको इतिहास र नजिरलाई केलाउने हो भने मानव जातिलाई चुनौती बनेर आएका जस्तासुकै रोगब्याधी र अप्ठ्यारालाई विज्ञानले जितेकै उदाहरण छन्। कोरोना भाइरस (कोभिड-१९) का सन्दर्भमा पनि सामथ्र्य बोकेका देश र क्षमता बोकेका वैज्ञानिकहरु पहिलो दिनबाट नै यस रोगको औषधि र खोप बनाउने दौडमा निस्किसकेका छन्। रोग सर्न सक्ने चुनौती थामेरै भए पनि अहोरात्र अनुसन्धानमा खटिएका छन् र कोभिड-१९ को कालो बादलमा चाँदीको घेरा पोत्न प्रयासरत छन्।
विषय प्रवेश गर्नुअघि एक परिच्छेदमा नयाँ औषधि वा भ्याक्सिन बन्ने तरिकाका सम्बन्धमा थोरै चर्चा गर्ने प्रयास गरिएको छ। कुनै पनि नयाँ औषधि वा खोप विकास गर्ने विधिलाई प्राविधिक भाषामा 'क्लिनिकल ट्रायल’ भन्ने गरिन्छ। प्रि-क्लिनिकल, सुन्ना फेज, पहिलो फेज, दोस्रो फेज, तेस्रो फेज र चौथो फेज गरी यस विधिका जम्माजम्मी ६ चरण हुन्छन्।
प्रि(क्लिनिकल फेजमा औषधि वा भ्याक्सिनको सैद्धान्तिक पक्षबारे बहस र विश्लेषण गरिन्छ। मेसिन र जनावरमा अध्ययन गरी उक्त सम्भावित औषधिका विविध आयाम जस्तो कि, त्यसको उपयोगिता (इन्डिकेसन), रोग हुने तौरतरिका मुताविकको यसले काम गर्ने तरिका (मेकानिज्म अफ एक्सन), शरीरमा त्यस औषधिको क्रिया (फर्माको-डाइनामिक), शरीरले त्यस औषधिप्रति जनाउने प्रतिक्रिया (फर्माको(काइनेटिक) बारे प्रष्ट खाका तयार गरिन्छ।
त्यसैगरी, सुन्ना फेज भन्नाले करिब दस जनाजति स्वेच्छिक स्वयंसेवीमा उक्त सम्भावित औषधिको डोज, रगतमा उपलब्ध हुन पुग्ने मात्रा (बायो अभेलेबिलिटी) को अध्ययन गरिन्छ।
त्यस्तै पहिलो फेजमा बीसदेखि सयजना स्वस्थ्य स्वयंसेवीहरुमा परीक्षण गरी उक्त औषधिको सुरक्षितपना र उपयुक्त डोज पत्ता लगाउने काम गरिन्छ।
अर्को चरण अर्थात् दोस्रो फेजमा भने सयदेखि तीन सय जनासम्म सोही रोग (जसमा यो औषधि वा भ्याक्सिनको अनुसन्धान हुँदैछ) लागेका स्वेच्छिक बिरामीमाथि अध्ययन गरी साँचो अर्थमा त्यस औषधिले सो रोगमा आशातित् परिणाम दिन्छ कि दिँदैन भन्नेमा केन्द्रित रहँदै त्यस औषधिको गुणकारी क्षमता र प्रभावकारिता (इफिकेसी) को मापन गरिन्छ।
तेस्रो फेज भनेको अझ बढी अर्थात् तीन सयदेखि तीन हजारको संख्यामा बिरामीहरु लिएर प्रभावकारिता र सुरक्षितपनाका सम्बन्धमा प्रयोगशालाकै सेटअपमा रहेर गरिने थप गहन अध्ययन वा अनुसन्धानको फेज हो।
चौथो फेज भनेको सम्बन्धित नियमनकारी निकायबाट अर्को तहको अनुमति प्राप्त गरी बजारमै औषधि पठाइसकेपछि गरिने अन्तिम चरणको अध्ययन हो।
यसरी एउटा औषधि बन्नेगरी हुने क्लिनिकल ट्रायल सम्पन्न हुन करिब दस वर्ष अवधि लाग्छ भने झन्डै दुई खर्ब रुपैयाँको लगानी हुन आउँछ। कोरोना भाइरस र कोभिड-१९ का हकमा भने यति धेरै अवधि खर्चिएर नयाँ औषधि र भ्याक्सिन ल्याउने गरी संसारले थेग्न नसक्ने हुनाले जेजति कामहरु भइरहेका छन्, रात/दिन नभनी सुपरफास्ट ट्रयाकको मोडलमा भइरहेका छन्। हालसम्म कोभिड-१९ को रोकथाम, असर न्यूनीकरण र उपचारका लागि निम्न अनुसन्धानहरु भइरहेका छन्ः
१. प्रचलनमै रहेका विविध औषधिहरुको कोभिडका लागि परीक्षण
२. नयाँ औषधिको अनुसन्धान
३. भ्याक्सिनको बिकास
४. कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीको प्रयोग
विविध रोगहरुका लागि प्रचलनमै रहेका निम्न औषधिहरुको कोभिडको उपचारका लागि परीक्षण भइरहेका छन्ः
क) क्लोरोक्विन
फ्रान्स र चीनमा थोरै संख्याका बिरामीमा गरिएको क्लिनिकल परीक्षणहरूमा सकारात्मक परिणामहरू देखिएपछि अमेरिका र अन्य देशहरूले ठूलो संख्याका बिरामीमा क्लिनिकल परीक्षण सुरू गरेका छन्। सुरुवाती अवस्थामा नै चीनमा सय जना बिरामीमा गरिएको अध्ययनमा रोगको लक्षणको कडापन, रोगको अवधि र निमोनिया विकास जस्ता सूचकांकमा क्लोरोक्विनका कारण आशा गरिएभन्दा बढी नै परिणाम देखिएको थियो।
फोक्सोको श्वासप्रश्वास प्रक्रियामा सामेल हुने एल्भिओलाई नामक भागमा रहेका कोषिकाको बाहिरी भागमा रहने 'एसि ई-२’ नामक रिसेप्टर तत्वसँग कोरोना भाइरसको बाहिर देखिने काँडा जस्ता एस-प्रोटिन टाँसिन पुग्ने प्रक्रियालाई क्लोरोक्विनले अवरुद्ध गर्ने देखिएको छ। मलेरिया, भाइरल इन्फेक्सन र डायबिटिजमा समेत प्रभावकारी देखिएको क्लोरोक्विनबाट कोभिड-१९ मा अरु औषधिसँग भन्दा बढी नै आशा गर्न सकिन्छ।
अमेरिकी नियमनकारी निकाय फुड एन्ड ड्र्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले गम्भीर कोभिड बिरामीहरूमा क्लोरोक्विनको प्रयोगको लागि आकस्मिक प्रयोग अधिकार (इमर्जेन्सी युज अथराइजेसन) दिएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित अन्य केही व्यक्तिहरूद्वारा दावी गरिए अनुसार यसको प्रयोगले रोग निको पार्न सक्छ कि सक्दैन भन्ने कुरा हाल चलिरहेको क्लिनिकल परीक्षणहरूको अन्तिम नतिजापछि मात्र भन्न सकिने छ र तिनीहरूको परिणाम आउन अझै केही महिना लाग्नेछ। यस औषधिको डराउनुपर्ने साइड इफेक्ट भनेको मुटुको कम्पनमा यसले ल्याउने खराबी (क्युटी प्रोलंगेसन) हो।
ख) रेमडेसेभिर
यो इबोला भाइरसको उपचारको लागि प्रयोग गरिने औषधि हो। बाँदरहरूमा गरिएको फरकफरक परीक्षणहरूमा यो औषधि कोभिड-१९ को उपचारको लागि सुरक्षित र प्रभावकारी पाइएको छ। तर यसले मानिसमा पनि यस्तै सकारात्मक परिणाम देखाउँछ कि देखाउँदैन भन्ने क्लिनिकल परीक्षणहरूको नतिजापछि मात्र भन्न सकिने छ। शिकागो विश्वविद्यालयमा चलिरहेको अनुसन्धान मुताविक कोभिड-१९ को उच्च कडापनमा अस्पतालमा रहेका बिरामीहरुमा दुई जनाको मात्र निधन भएको पाइयो भने बाँकी बिरामी एक हप्तामै डिस्चार्ज भएर गएको पाइयो। यद्यपि यस अनुसन्धानमा तुलना गर्नका लागि औषधि नचलेको अर्को समूह (कन्ट्रोल) भने राखिएको थिएन।
ग) अन्य औषधिहरु
अन्य धेरै औषधिहरू कोभिड-१९ को उपचारको लागि अध्ययन भइरहेका छन्, जसमध्ये उच्च रक्तचापको नियन्त्रणको लागि प्रयोग हुने औषधि लोसार्टान, एचआइभी एड्सको लागि प्रयोग हुने लोपिनाभिर र रिटोनाभिर, बाथ रोगको लागि प्रयोग हुने बारिसिटिनिब, यान्टिब्याक्टेरियल औषधि याजिथ्रोमाइसिन, इन्फ्लुएन्जाको लागि प्रयोग हुने ओसेल्टामिभिर आदि छन्।
२. नया औषधिको अनुसन्धान
'इआइडिडी’ नामक नयाँ मोलिक्युलको प्रयोग गर्ने अर्को परीक्षण चलिरहेको छ। नर्थ क्यारोलाइना विश्वविद्यालयको इपिडेमियोलोजी विभागका टिमोथी चेहान यस अनुसन्धान कार्यका लिड अथर हुन्। उनी भन्छन्, 'यो औषधि मुखबाट नै खुवाउन सकिन्छ र यसले कोरोना भाइरसको वंशाणु तत्व अर्थात् आरएनएको स्वरुप नै बिगारिदिन्छ अर्थात् 'म्युटेट’ गराइदिन्छ र फोक्सोको कोषिकाभित्र भाइरस मौलाउने र विभाजित भएर करोडौंको संख्यामा वृद्धि हुने प्रक्रियालाई नै अवरुद्ध गरिदिन्छ।'
३. भ्याक्सिनको विकास
कोरोना भाइरसको प्रोटिन र यसको जिनोमको आधारमा वैज्ञानिकहरू चाँडोभन्दा चाँडो खोप विकास गर्ने प्रयास गरिरहेका छन्। अमेरिकाको एलर्जी र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानले भाइरल 'एम-आरएनए’ को प्रयोग गरी र अमेरिकन बायोटेक्नोलोजी कम्पनी इनोभियो फार्मास्युटिकल्सले मल्टि-पार्टनर्स कनसोर्टियम नै बनाएर भाइरल डिएनए प्रयोग गरी भ्याक्सिनको परीक्षण गरिरहेको छ।
त्यस्तै, चीनको सेन्जेन जेनो इम्युन मेडिकल संस्थानले भाइरल मिनी-जिन्सको प्रयोग गरी मानिसमा खोपको परीक्षण सुरु गरेको छ। त्यस्तै खोप निर्माणका लागि प्रसिद्ध कम्पनी जोन्सन एन्ड जोन्सनले खराब नगर्ने भाइरसको भित्री तत्वमा कोरोना भाइरसको केही वंशाणु खुराक मिलाई खोप तयार गरिरहेको छ। कम्पनीका प्रमुख एलेक्स गोर्सकी भन्छन्, 'सायद आउने सेप्टेम्बर महिना सम्ममा यो भ्याक्सिन मानव परीक्षणमा उत्रने छ।'
त्यसैगरी अर्को प्रसिद्ध फ्रेन्च कम्पनी स्यानोफीले पनि कोरोना भाइरसलाई निष्क्रिय गरी विशेष विधिबाट खोप बनाउने काम तीव्र गतिमा अघि बढाएको छ। कम्प्युटर सिस्टमलाई भाइरसको बाहिरी/भित्री पूर्ण थ्रिडी इमेज लिएर अनुसन्धान अघि बढाउन पारंगत बेलायती कम्पनी डियोसिनभ्याक्सका संस्थापक जोन्याथन हेनी भन्छन्, 'मुख्य खराब तत्वलाई माइनस गरिएको कोरोना भाइरसको मिरर इमेज तयार पारेर सुरक्षित र प्रभावकारी भ्याक्सिन बनाउने क्रममा हामी निकै कदम अगाडि बढिसकेका छौं।'
यतिका धेरै खुसीको खबर हुँदाहुँदै पनि मुटु दह्रो पारेर भन्नुपर्ने हुन्छ कि, यी सबै खोपहरु अध्ययनको पहिलो चरणमा नै छन् र सबै चरणहरू पार गरेर बजारमा उपलब्ध हुनको लागि तिनीहरूलाई कम्तीमा ९ देखि १२ महिनाको समय लाग्नेछ। अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, चीन, कोरिया र भारत भ्याक्सिनको विकासको रेसमा अग्रपंक्तिमा देखिएका छन्।
४. कन्भ्यालिसेन्ट प्लाज्मा
भाइरस संक्रमण निको भएको व्यक्तिको रगतमा भाइरसलाई निस्तेज गर्नसक्ने इम्युनोग्लोबुलिन अर्थात् एन्टिबडी विकास भएको हुन्छ, जुन कोभिडको हकमा पनि लागू हुन्छ। हो, कोभिड संक्रमणबाट निको भई कम्तीमा दुई हप्ता काटेका व्यक्तिको रगतबाट प्लाज्माफेरेसिस नामक पद्धतिबाट रक्त कोषिका जति निकालेर बाँकी रहने सेतो तरल पदार्थ अर्थात् प्लाज्मा छुट्टयाई बिरामीमा चढाइन्छ, जसबाट प्लाज्मामा निहित रहने कोरोना भाइरस विरुद्धको एन्टिबडीका कारण भाइरसको आक्रमण प्रक्रिया रोक्किने र थप इम्युनिटी बन्न जाने हुन्छ।
आशा जगाउने थप दुई विषयः
बिसिजी खोपको भूमिका
सुरुमा यो अपेक्षा गरिएको थियो कि, कोभिड-१९ का कारण विकासोन्मुख देशहरू ठूलो चपेटामा पर्नेछन् किनभने उनीहरूको स्वास्थ्य सेवा प्रणाली कमजोर खालको छ। प्रकारान्तरमा सोच विपरीत बिरामीको संख्या र मृत्यु विकसित देशहरूमा बढी देखियो। यस अन्तरका पछाडि बिसिजी खोपले भूमिका खेलेको हुनसक्ने आकलन गरिएको छ। बिसिजी खोपले क्षयरोग बाहेक एल्लो फिवर जस्ता रोगबाट बचाउने कुरा प्रमाणित भइसकेकाले पनि यस सम्भावनामा थप आशा थपेको हो। यसले गैररोग (विशेष प्रतिरोध क्षमता अर्थात् 'इनेट इम्युनिटी’ लाई बढावा दिई यो भाइरसबाट बचाउन सक्छ कि भन्ने विचार वैज्ञानिकहरूले अगाडि सारेका छन्।
पोलियो थोपाको भूमिका
सन् १९८४ मा एचआइभी र त्यस भाइरसले एड्स गराउने प्रक्रियाका बारेमा व्याख्या गर्ने प्रमुख भूमिकामा रहेका युनिभर्सिटी अफ मेरिल्यान्डका भाइरोलोजिस्ट रोबर्ट ग्यालोले गत साता एक सनसनीपूर्ण अन्तर्वार्ता दिए, जसमा उनले पोलियो थोपाले कुनै पनि आरएनए भाइरसको विरुद्धमा इम्युनिटी दिनसक्ने खुलाए र उनले पोलियो थोपाको प्रयोगले दुईदेखि तीन महिनासम्म कोरोना भाइरसको लागि इम्युनिटी भरथेग हुने विश्वास व्यक्त गरेका छन्।
आशा गरौं, प्रार्थना गरौं- कोभिडरुपी कालो बादलमा छाएको अनुसन्धानरुपी चाँदीको घेराबाट कोरोनाको शाब्दिक अर्थमा जस्तै औषधि र भ्याक्सिन सफल भएको खुसीको समाचाररुपी सूर्यका किरण बाहिर देखिन थालून्, शीघ्राती शीघ्र।