कोरोना भाइरस संक्रमण जुनसुकै दिशामा पनि जानसक्छ। संसारले अझैसम्म पनि यसको प्रभाव कहाँसम्म पुग्छ भन्ने टुंगो लगाइसकेको छैन। त्यसैले हाम्रो देशमा पनि यसरी नै जान्छ भन्न सकिने अवस्थामा छैनौं। त्यसैले सजग रहांै, हतास नहोऔं र आंतकित नबनौं। तर, तयारी चाहिँ गरौँ। जनस्वास्थ्यका रोग लाग्न नदिन गर्नुपर्ने नियमको न्यूनतम पालना गरौं।
हामीले कोरोना भाइरसबाट बच्ने दुईवटा कुरा छन् भन्ने कुरा बुझिसक्यौं। त्यो के भने संक्रमित व्यक्तिको पहिचान तथा त्यसलाई आइसोलेसनमा राख्ने र सामाजिक दूरी कायम राख्ने र व्यक्तिगत स्वास्थ्यको ख्याल राख्ने। मूलतः यही कुरामा ध्यान राख्यो भने धेरै हदसम्म यो भाइरस नियन्त्रणमा बस्छ। आज पनि नेपाल त्यति त्रसित अवस्थामा छैन। तर ढुक्क हुने अवस्था भने छैन।
हामीले हेलचेक्रयाइँ गर्यौँ भने, अरुले भन्दैराख्छन्, केही हुँदैन भनेर सुनेको नसुन्यै गर्न थालियो भने यो रोग ठूलो विपत्को रुपमा आइलाग्न सक्छ।
अहिले लकडाउनले अलिकति पछाडि धकेलेको छ। हामीसँग तयारीको लागि अझै समय छ। तर अहिले यो समस्यालाई यसै छोडिदिने हो भने व्यापक रुपमा चाँडै फैलन सक्छ।
मैले तीनरचार हप्ताको जुन सूचना आधारमा भन्दैछु, आत्तिने, तर्सिने र अत्तालिने गर्न हुँदैन। यो नियन्त्रणमा राख्न सकिने रोग हो, दुनियाँले नियन्त्रणमा राखेर देखाएका छन्। त्यसका लागि हामी पनि सजग, संयमित हुन जरुरी छ।
समाजिक दूरी कायम गर्ने एउटा प्रमुख उपाय भएकाले लकडाउन चर्को हिसाबले आएको हो। संसारभरि नै त्यो प्रयोगमा आएको छ।
लकडाउन सुखद् हुँदैन, यसका विभिन्न तरिका पक्कै होलान्। राष्ट्रव्यापी रुपमा क्षेत्रगत रुपमा, सीमित क्षेत्र वा घरभित्र बसेपनि व्यक्तिगत दूरी कायम गर्ने सरसफाइमा ध्यान दिने जस्ता कुरा त्यत्तिकै महत्वपूर्ण छन्।
एकैपटक लकडाउन खुला गर्दा एक ठाउँमा भएको संक्रमण द्रूत गतिमा देशभर फैलने सम्भावना हुन सक्छ। यी कुरा मध्यनजर गर्दा एकै पटक लकडाउन खुला गर्नु उपयुक्त हुँदैन। विश्वका अनुभवले पनि यी कुरा देखाएका छन्।
बरु सामाजिक दूरी कायम राख्दै वैकल्पिक उपाय अपनाउने र खुकुलो बनाउँदै लैजान सकिन्छ। तर हामी अझै त्यो अवस्थामा आइपुगेको जस्तो मलाई लाग्दैन।
यस विषयमा जनस्वास्थ्यका विज्ञले धेरै व्याख्या गर्दै सुझाव दिनुपर्छ। मैले उहाँहरुसँग गरेको कुराकानीका क्रममा अझै लकडाउन खोल्न हतार गर्नु हुँदैन भन्ने बुझेको छु।
तर यसका अन्य असरहरु सामाजिक, आर्थिक रुपका असर अनि दैनिक ज्यालादारी गरेर खाने मानिसलाई परेको असरको व्यवस्थापन गर्ने जिम्मा सरकारले आफ्नो काँधमा लिनैपर्छ। व्यवस्थापन गर्नुपर्छ।
अर्को कुरा के भने, संक्रमण काबु बाहिर गयो भने धेरैले ज्यान गुमाउनुपर्छ। रोकथाम गर्नुपर्दा धेरैले दुःख पाउनुपर्ने हुन्छ। हामीसँग अहिले यही दुईवटा उपाय छन्। हामीसँग मात्र होइन, विश्वभर यस्तै अवस्था छ। सहज उपाय हुन्थ्यो भने हामी त्यही उपाय अपनाउँथ्यौं।
मेरो चिचारमा यो दुःख केही महिना नै जान्छ। यति कडा भने गर्नु नपर्ला। जनस्वास्थ्यका विज्ञहरुले सरकारलाई र चिकित्सकलाई राय दिने कार्य जारी छ। यसको हतार नगरी उचित विकल्प खोज्नु पर्छ। विकल्प यस्तो खोज्नुपर्छ, जसले रोगलाई ह्वात्त बढ्ने मौका नहोस्।
रोगलाई नियन्त्रण गर्न हामी सबैको आफ्नो दायित्व छ। सरकार, चिकित्सक र जनताको सबैको भूमिका छ।
यो महामारी नियन्त्रण मूलतः संघीय सरकारको नेतृत्वमा हुनुपर्छ। चिकित्सक तथा अस्पतालले आफ्नै किसिमको भूमिका खेल्नुपर्छ। खेलेका पनि छन्।
सबै त्रासलाई काबुमा राख्दै सुरक्षाका उपाय अपनाउँदै आगाडि बढ्नुपर्छ। अहिलेसम्म मोटामोटी त्यो तयारीको अवस्था जारी भएको देखिन्छ।
यदि रोग ह्वात्त बढ्यो भने स्वास्थ्य प्रणालीलाई गाह्रो हुन्छ। तर अहिलेको स्थितिलाई मध्यनजर गर्र्दै नियन्त्रण गर्न सकियो भने अझै पनि काबुमा राख्न सकिने स्थिति छ।
एकरदुई महिनाअघि सर्वसाधारण नागरिकको पनि ठूलो दायित्व छ भनेर भन्दा धेरैले रुचाउनु भएन। यो त सरकारले गर्ने काम हो भनेर विरोध भएको थियो।
यदि जनता सचेत हुनेको हो भने धेरै उपचारमा जानु पर्दैन। हामीले सहयोग गर्ने भनेको यो रोगलाई सर्न नदिने नै हो। यो कुरा संसारभरि नै स्पष्ट छ।
अहिलेसम्म कुनै पनि उपयुक्त उपचारको तरिका पत्ता लागिसकेको छैन। खोपहरु परीक्षणमा गएका छन्। विदेशीहरुले खोप बनाउने कार्य गर्दै छन्।
खोपहरुलाई कोरोनाको उपचारको लागि उपयुक्त छ भन्ने कुरा भन्न बाँकी नै छ। खोप आसमा बस्नुपर्ने स्थिति पनि छैन। त्यसैले अहिलेको उपचार भनेको रोग लाग्न नदिने उपाय अपनाउनु नै हो।
सरकारले स्वास्थ्य संगठनहरुले आफ्नो दायित्व पूरा गरेनन् भने त्यसमा आवाज उठाउनुपर्छ। अहिले हामी सबै सरकार, जनता, स्वास्थ्य संस्थाहरु एउटै डुंगामा छौँ। यो पल्टियो भने सबै जना डुबिन्छ। यो डुम्न नदिन सबैले सहयोग गर्नुपर्छ।
कोरोना भाइरसको त्रासले उपचारका कुरा विभिन्न उपाय अपनाउन सकिन्छ। अस्पतालको सेवा प्रभावलाई नै नयाँ निर्देशिकाले गाइड गर्नुपरेको छ।
लकडाउनले गर्दा बिरामीहरु अस्पतालमा आउन नसक्ने र अस्पतालमा आउँदा पनि उपचार सहज नभएको सुनिएको छ, देखिएको छ।
यसमा नेपाल मेडिकल काउन्सिलको तर्फबाट पनि मन्त्रालयमा कुरा उठाएर सहजीकरण गर्नुपर्छ। अन्य रोगीहरुको उपचार सहज गरिदिनुपर्छ भन्ने कुरा उठाएका छौँ। यसमा केही पहल पनि भएका छन्। आशा गरौँ, यो केही सहज बन्दै जाला।
अन्य रोगका बिरामीलाई केरोनाको प्रभाव अन्य अंगका बिरामीलाई कोरोनाको असर उच्च हुन्छ। यस्ता रोग भएका बिरामीलाई समस्या धेरै हुन्छन्। मुटु रोग मधुमेह, प्रेसर, क्यान्सरका रोगी हुनुहुन्छ भने कोरोनाको प्रभाव धेरै हुन्छ। त्यसैले यस्ता रोग भएका बिरामीलाई कोरोनाबाट बच्न धेरै सचेत हुनुपर्छ। बचाउने उपायहरु अपनाउनु पर्छ। त्यस्ता बिरामीले नियमित औषधि प्रयोग गर्नुपर्छ।
मधुमेहका बिरामीले सुगर नियन्त्रण गर्न नियमित जाँच गर्ने गर्नुपर्छ। शारीरिक कसरत नियमित गर्ने, दमका बिरामीहरुले औषधि नियमित प्रयोग गर्नुपर्छ।
अर्को कुरा, चुरोट खाने मानिसलाई यसको असर धेरै पर्छ, त्यसैले तत्काल चुरोट खाना छोडिदिनु होला।
नियमित शारीरिक व्यायाम गर्दा रोग लाग्न दिँदैन र रोग लागिहाल्यो भने पनि छिटो निको हुन मद्दत गर्छ।
यदि कोही परिवारमा दीर्घरोगी हुनुहुन्छ भने उहाँहरुको पनि उच्च ध्यान दिनुपर्छ। शारीरिक कसरत गर्नुपर्छ। खुला ठाउँ नभए पनि आफ्नै कोठामा डोरी खेल्ने, योग गर्ने, छातीको कसरत गर्न सकिन्छ।
यदि गर्न नसक्ने मानिसले बेडमा बसेर कसरत गर्नुपर्छ। यदि आज अल्छी गरियो भने हाम्रो शरीर गल्दै जान्छ र रोगप्रतिरोधात्क क्षमतामा पनि कमी आउँछ।
कसरत कम गर्ने बित्तिकै सुगर, प्रेसर बढ्छ। तौल बढी हुन्छ, त्यसले थप जोखिम निम्त्याउने गर्छ। त्यसैले नियमित शारीरिक कसरत गर्नुपर्छ। यसले सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ।
कोरोनासँग जोडेर विभिन्न सञ्चार माध्यममा यो खायो भने कोरोना लाग्दैन भन्ने खालका कुरा आइरहेको धेरै देखिन्छ। कुनै कुरा पनि अहिलेसम्म वैज्ञानिक हिसाबले प्रमाणित होइनन्। भ्रममा नपरौं, स्वास्थ्यलाई भलो गर्ने खानेकुरा खानुपर्छ। अरुलाई भ्रम पार्नु हँुदैन।
आशावादी हुने कुरा अलग विषय हो। आशावादी हुन पाइन्छ। रोग नै नलाग्ने हामीसँग नौलो गुण छैन। हामीलाई पनि कोरोनाले छुन सक्छ। समाजमा फैलिनु अगाबै लकडाउन गरेकोले नफैलिएको हो।
अहिलेसम्म कति रोग आइसक्यो, हामीसँग तथ्यांक छैन। सरकारले कन्ट्याक्ट टे«सिङ गरिसकेको छ। तर सतप्रतिशत आइसकेको भन्ने छैन। अझै ढुक्क हुने स्थिति छैन। सर्तक हुने र परीक्षणको दायरा बढाउने गर्नुपर्छ। त्यसपछि कसरी बचाउका उपाय गर्न सकिन्छ भनेर काम गर्नुपर्छ।
संसारले भन्दै आएको छ, संसारमा रोग फैलिँदै गर्दा हाम्रो देशले ढिलागरी तयारी सुरु गरेको स्पष्ट भएको छ। पछिल्ला दिनमा राम्रो प्रगति भएको छ। स्थानीय सरकारबाट धेरै राम्रो काम भएको भन्ने सुनिएको छ। त्यसैले नियन्त्रण सहयोग गर्नुपर्छ। टेस्टिङको दायरा बढाउनुपर्छ।
केही गरी रोग आयो भने उपचारको लागि कसरी सेवा गर्छौँ विभिन्न कारणले कोभिड १९ को त्रासले गर्दा अन्य दीर्घरोगीहरुको मर्का त्यत्तिकै ठूलो छ। लकडाउनका कारणले गर्दा अस्पताल बन्द छ। अस्पताल आउन सवारी साधन चलेका छैनन्। जसको कारण उहाँहरुलाई समस्या छ।
अहिले घरै बस्न समस्या भएमा चिकित्सकलाई फोन गरेर सोधौँ। टेलिमेडिसिन सेवा छ। अहिलेको सबै फोनबाट सेवा दिन तयार नै छन् जस्तो लाग्छ।
भान्साका सामान, तरकारीबाट पनि भाइरस आउने भएकोले हात धुने, सरसफाइमा ध्यान राख्ने गरौं। घरभित्र पनि सकेसम्म सामाजिक दूरी कायम राखौँ। रोग लाग्न नदिने र अहिलेको कठिनाइ सामूहिक कठिनाइ ठानेर मिलेर लडौं।