स्वामीनाथन नटराजन/बिबिसी वर्ल्ड सर्भिस
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित गम्भीर बिरामीलाई यदि भेन्टिलेटर मिल्यो भने उसले नयाँ जिन्दगी पाउन सक्छ। भेन्टिलेटरको मद्दतले ऊ मृत्युको मुखबाट बाहिर निस्कन सक्छ।
जब बिरामी आफैंले अक्सिनजन लिन सक्दैन, त्यस्तो अवस्थामा भेन्टिलेटरको सहायताले बिरामीको फोक्सोसम्म अक्सिजन पुर्याउने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने काम गर्न सकिन्छ।
तर, भेन्टिलेटरले मात्र कोरोनाका बिरामीलाई बचाउन सम्भव भने छैन। त्यही कारणले गर्दा विश्वभरका चिकित्सक वा स्वास्थ्यकर्मीले कठोर फैसला गर्नुपरेको छ। जस्तैः यदि बिरामीलाई कुनै सुधार आएन भने श्वासवाहक (भेन्टिलेटर) निकालिदिने।
लन्डनको रोयल फ्रि अस्पतालको आइसियुमा कार्यरत सिनियर नर्स जुनुता निटलाले भनेकी छन्, ‘भेन्टिलेटरको स्विच अफ गर्नु निकै दर्दनाक हुन्छ। कुनै बेला मलाई लाग्ने गर्छ, बिरामीको मृत्युको जिम्मेवार मै हुँ।’ दक्षिण भारतमा जन्मेकी निटलाले १६ वर्ष बेलायतको नेसनल अस्पतालमा इन्टेनसिब केयर स्पेसलिस्ट नर्सका रुपमा काम गरिसकेकी छन्।
४२ वर्षीय निटलाले भनेकी छन्, ‘भेन्टिलेटर बन्द गर्नु मेरो कामको एउटा हिस्सा हो।’
अन्तिम इच्छा
अप्रिलको दोस्रो साता निटलाको बिहानको ड्युटी थियो। बिहान काममा गइन्। आइसियुको रजिस्टरका अनुसार कोभिड–१९ को उपचारार्थ बिरामीको उपचार बन्द गर्ने ड्युटी परेको थियो।
बिरामी एक कम्युनिटी हेल्थकी नर्स थिइन्, उनको उमेर ५० वर्षभन्दा बढी थियो। निटलाले बिरामीकी छोरीलाई यो प्रक्रियाको बारेमा बताइन्। निटला भन्छिन्, ‘मैले उनको छोरीलाई तिम्रो आमालाई कुनै दुखाइ छैन। अहिले उनी आरामको स्थितिमा छन्। मैले उनको आमाको इच्छा र धार्मिक विश्वासको बारेमा पनि सोधें।’
आइसियुमा एकपछि अर्को गर्दै बेडहरु लगाएका हुन्छन्। निटला गम्भीर बिरामीहरुले घेरिएकी थिइन्। उनीहरु सबै बेहोस अवस्थामा थिए। निटला बताउछिन्, ‘ती बिरामी नर्स पनि त्यहीं थिइन्, जहाँ अरु आठ वटा बेड लगाइएका थिए। सबै बिरामीहरु गम्भीर अवस्थामा भएकोले पर्दा लगाएँ र घण्टीहरु बन्द गरिदिएँ।’
त्यो बेलामा सबै मेडिकल टिम एक छिन् सबै काम रोकेर चुपचाप भए। उनी थप्छिन्, ‘नर्सहरुले एकआपसमा कुरा गर्न छोडे। हाम्रो पहिलो प्रथमिकता भनेकै बिरामी हेरचाह र उनीहरुको ख्याल गर्नु हो।’
त्यसपछि निटलाले बिरामीको कानमा फोन राखिन् र उनको छोरीलाई बोल्न लगाइन्। यो फोनको बारेमा निटलाले भनेकी छन्, ‘मेरो लागि यो एउटा फोन कल मात्रै थियो तर परिवारको लागि यो महत्वपूर्ण क्षण हुने गर्छ। उनीहरु भिडियो कल गर्न चाहन्थे तर दुर्भाग्य, आइसियुमा मोबाइल फोन लैजान अनुमति हुँदैन।’
बिरामीका आफन्तको अनुरोधमा निटलाले कम्युटरमा एक विशेष म्युजिक भिडियो बजाइन्। त्यसपछि भेन्टिलेटर बन्द गर्नको लागि उनले स्विच अफ गरिदिइन्।
‘अनि उनको मृत्यु नहुन्जेलसम्म उनको हात समातेर छेउमै बसिरहें,’ निटला भन्छिन्। यो निर्णय मेडिकल टिमले निकै सोचविचार गरेर लिएको थियो। यस्तो बेला बिरामीको उमेर, स्वास्थ्य स्थिति र निको हुने सम्भावनालाई ध्यान दिएर निर्णय लिने गरिन्छ। निटलाले भेन्टिलेटर बन्द गरेको ५ मिनेटमा बिरामीको मृत्यु भएको थियो।
निटला भन्छिन्, ‘म मोनिटरमा फ्ल्यास लाइट हेरिरहेको थिएँ। जब उनको मुटुको चाल शून्यमा पुग्यो, अनि मोनिटरमा समान लाइनमा रेखाहरु देखिन थाले।
एक्लै मृत्यु
निटलाले औषधि बिरामीको शरीरको विभिन्न भागमा पु¥याउने ट्युबलाई पनि झिकिन्। तर उनकी छोरी भने फोनमा लामो कुराकानीमै व्यस्त थिइन्। उनी फोनबाटै प्रार्थना पनि गरिरहेकी थिइन्। भारी मनका साथ निटलाले हेडसेट उठाइन् र बिरामीको छोरीलाई आमाको मृत्यु भएको खबर सुनाइन्।
बिरामीको मृत्यु भए पनि निटलाको जिम्मेवारी पनि बाँकी नै थियो। एक सहकर्मीको सहायतले उनले लासलाई नुहाइदिइन् अनि सेतो कपडामा बेरेर बडी ब्यागमा राखिन्। ब्यागमा राख्नुभन्दा पहिले मृत व्यक्तिको निधारमा क्रस मार्कको निसान बनाइदिएको अनुभव निटलाले सुनाइन्।
निटलाको अनुभवमा विश्वमा कोरोना भाइरस फैलिनुभन्दा पहिला पनि यदि उपचार बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो भने सुरुमा बिरामीका आफन्त र चिकित्सक एक आपसमा सल्लाह गर्थे। ‘लाइफ सपोर्ट सिस्टम’ बन्द गर्नुभन्दा पहिले बिरामीका नजिकका आफन्त, नातेदारलाई आइसियुमा भेट्न जान दिइन्थ्यो। उनी भन्छिन्, ‘अहिले विश्वका अधिकांश ठाउँमा यस्तो हुँदैन। बिरामी श्वास लिन गाह्रो भएर जब संघर्ष गर्छन्, उनीहरु तड्पिएको देख्दा निटलालाई निकै पीडा र तनाव हुनेगर्छ।
अस्पतालमा बेड छैनन्
अस्पतालले बिरामीको संख्या बढ्न थालेपछि क्रिटिकल केयर युनिट (सिसियु) मा ३४ बेडबाट बढाएर ६० बेड बनाइएको छ। अहिले अस्पतालमा सबै सिसियु बेड बिरामीले भरिएका छन्। सिसियुमा बिरामीको रेखदेखमा १ सय ७५ जना नर्स दिनरात खटिएका छन्।
हुन त मापदन्ड अनुसार आइसियुमा एक नर्स, एक बिरामी राख्नुपर्छ तर अहिले तीन जना बिरामीलाई एक जना नर्सले हेरचार गर्नुपरेको छ, निटला कार्यरत अस्पतालमा।
यदि कुनै गम्भीर अवस्था सिर्जना भएको खण्डमा एउटा नर्सलाई ६ वटा बिरामीसम्म पनि हेर्न लगाउनुपर्ने पनि हुन्छ।
निटलासँग काम गर्ने केही नर्सलाई कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई सेल्फ आइसोलेसन बस्न भनिएको छ। त्यसैले अस्पतालमा काम गर्ने अन्य नर्सलाई आवश्यक पर्दा आइसियुमा काम गर्न तालिम दिने काम सुरु भइसकेको छ।
निटला भन्छिन्, ‘सिफ्ट सुरु हुनुभन्दा पहिले हामीले हात मिलाउछौँ र एक अर्कालाई सुरक्षित रहनुहोला ‘स्टे सेफ’ भन्ने कामना गर्दछौं। हामी एकअर्काले लगाएको चस्मा, मास्क र सुरक्षा साम्रगी ठिकसँग लगाएका छौँ कि छैनौं भनेर हेर्ने गछौँ।’
उनी भन्छिन्, ‘अस्पतालमा भेन्टिलेटर, इम्फ्युजन पम्प, अक्सिजन सिलिन्डर र कयौँ औषधिको कमी छ तर पनि हाम्रो सबै टिमलाई ‘पिपिई किट्स’ उपलब्ध छ।
निटला काम गर्ने आइसियुमा हरेक दिन एक जनाको मृत्यु हुनेगर्छ। कोरोना संक्रमण हुनभन्दा पहिले यस्तो अवस्था थिएन। सिनियर नर्स भएको कारणले गर्दा कहिलेकाहीं आफूभित्र भएको डरलाई दबाउनुपर्ने हुन्छ। उनी भन्छिन्, ‘मलाई नराम्रा सपना आउँछन् त्यसैले राम्रोसँग सुत्न पाउँदिन। म आफैंलाई संक्रमण त भएन भनेर चिन्ता लाग्छ।’ साथीहरुसँग कुरा गर्दा उनीहरु पनि डराएका हुन्छन्।
गएको वर्षमा क्षयरोगको कारणले धेरै महिना कामबाट टाढा रहेकी थिइन् उनी। त्यसैले उनलाई थाहा छ, उनको फोक्सो पहिलाको जस्तो छैन भन्ने कुरा।
निटलालाई धेरै मानिसहरु काम नगर्न आग्रह गर्छन्। तर यस्तो महामारीको अवस्थामा त्यो सम्भव छैन। त्यसैले उनी आफ्ना सबै काम छोडेर अस्पतालको काममा दिनभर खटिइरहेकी छिन्। आफ्नो ड्युटी सकिएपछि पनि बिरामीको बारेमा सोच्ने गर्छिन्। आपूmले हेरचार गर्दागर्दै कुनै बिरामीको मृत्यु भयो भने उनी त्यो कुरा अस्पतालबाट बाहिर निस्किएसँगै भुल्न चाहन्छिन्।
भावानुवाद: सिर्जना खत्री