डा सोनाम शेर्पा
कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला संसारभरिका जनतालाई त्रसित बनाइरहेको छ। विश्वका शक्तिशाली देशहरु समेत कोरोविरुद्धको लडाईंमा फिक्का सावित रहेका छन्। यो भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो भने छैन।
कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा सामान्यदेखि जटिल समस्या उत्पन्न गर्छ। जेष्ठ नागरिक तथा पुरानो मेडिकल समस्या जस्तैः मुटुरोग, मधुमेह, दम एवं क्यान्सरका बिरामीलाई यो भाइरसले बढी क्षति पुर्याउँछ।
कोरोना भाइरसले विश्वका सर्वशक्तिमान देशहरुलाई समेत हावाकावा खेलाइरहेका बेला नेपालमा भने यो भाइरसलाई नियन्त्रण गर्ने सवालमा तयारी एकदम फितलो देखिएको छ। कोरोना भाइरस परीक्षणका लागि नेपाल नेपाल ल्याइएको आरटिडी परीक्षण विधि अविश्वसनीय देखिएको छ। आरटिडीले संक्रमित बिरामीको शरीरमा उत्पन्न हुने एन्टिबडी परीक्षण गर्छ।
लकडाउन हुनुभन्दा दुई दिन अगाडिदेखि भारतबाट लाखौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरे। तर आज ती सबै कहाँ छन्, कसैलाई थाहा छैन। खोजनीति पनि पर्याप्त मात्रामा भएको छैन। जुन दुःखको कुरा हो।
अर्को कुरा, शंकास्पद बिरामीलाई आरटिडी गर्दै घर पठाउँदै गरेका समाचारहरु बाहिर आएका छन्। यसरी आरटिडी टेस्ट गरेकै भरमा बिरामीलाई घर पठाउने हो भने यसले समुदायमा थप जोखिम निम्त्याउँछ। र, हाम्रो देशको जनशक्ति एवं स्रोतसाधनले धान्नै नसक्ने गरी एक किसिमको भयावह अवस्था उत्पन्न हुनसक्ने कुरालाई कसैले नकार्न सक्दैन। रेड जोनमा रहेकाहरुलाई पिसिआर परीक्षण विधिबाटै कन्फर्म गर्नुपर्ने हुन्छ।
चिकित्सकले प्रयोग गर्ने पिपिई पनि पर्याप्त मात्रामा प्राप्त हुन सकेको छैन। जसका कारण एक जना चिकित्सकले दिनमा कम्तीमा पनि २० जना बिरामीलाई एउटै पिपिई लगाएर उपचार गर्नुपर्ने अवस्था छ। यसले गर्दा बिरामीको स्वस्थ्यमाथि नै थप जोखिम उत्पन्न हुनसक्छ।
चिकित्सकले प्रयोग गर्ने पिपिए सामान्यतः एक पटक प्रयोग गरेपछि डिस्पोज गर्नुपर्ने हुन्छ। घरीघरी एउटै पिपिए प्रयोग गर्दा चिकित्सक एवं बिरामी दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ।
नेपालमा स्वास्थ्य क्षेत्रको जनशक्ति एकदम न्यून भएको कारणले गर्दा बिरामीको संख्या ह्वात्तै बढेमा मुलुक नै धान्नै नसक्ने गरी धरासायी हुनसक्छ। यही कुरालाई मध्यनजर गर्दै जुन स्थानमा पिसिआर पोजेटिभ देखापर्छ, त्यस ठाउँलाई सिल गरेर त्यस स्थानमा रहेका सबैलाई पिसिआर विधिबाट टेस्ट गर्दा समुदयमा फैलिन पाउँदैन।
सरकारी कोटामा चिकित्सकको दरबन्दी तत्काल खुलाएर बढी मात्रमा चिकित्सकहरुलाई तयार पार्नुपर्छ, जसले गर्दा जनशक्ति थप हुने र यो रोगलाई न्यून पार्न थप सजिलो हुनेछ। घरमै बस्ने एवं सरकारको निर्देशनलाई अक्षरस पालना गरी कोभिड १९ लाई परास्त गर्नु सबै नागरिकको दायित्व हो।