डा सतिश कोइराला
२१औं शताब्दीको आधुनिक विश्व लगभग बन्द शून्य हुन्छ भन्ने कल्पना केही महिना अगाडिसम्म कसैले पनि गरेको थिएन। तर आज पूरा विश्व नै रोकिएजस्तै भएको छ। यद्यपि, यो कुनै विश्वयुद्ध होइन।
एउटा अदृश्य भाइरसले दुनियाँ रोकिदिएको छ। दुनियाँभर लकडाउन छ, कोभिड-१९ नामको एउटा नयाँ भाइरसको त्रासमा लुकेर बसेको छ आजको विश्व।
यो भाइरसले लाखौंको ज्यान लिइसकेको छ भने करोडौंको रोजगारी खोसिएको छ। अर्थतन्त्रमा खरबौंको नोक्सानी पुर्याइसकेको यो भाइरसले रोगसँगै भोकले अझ धेरै ज्यान लिने निश्चित छ।
२००१ सेप्टेम्बर ११ मा लगभग ३००० अमेरिकन नागरिकको ज्यान जाँदा अफगानस्तान र इराकमा ठूलो युद्ध गरेर ६ त्रिलियन डलर खर्च गर्नसक्ने सामथ्र्य राख्ने अमेरिका हालका दिनमा दैनिक २००० जति आफ्ना नागरिकको ज्यान जाँदा समेत अचल स्थितिमा रहेको छ। नुक्यिलयर हतियार भएका शक्तिशाली देशहरु निरीह देखिएका छन्।
चीनमा डिसेम्बर महिनामा नै महामारी सुरु भएको थियो यो भाइरसको। बाँकी विश्वलाई तयारी अवस्थामा बस्न ३र४ महिना समय थियो। तर अमेरिका लगायत धेरै विश्वले सामान्य रुपमा लियो, कमजोर आकलन गर्यो। तर कोरोना त्यति कमजोर रहेन।
कोरोनाले विकसित देशहरुमा समेत स्वास्थ्य सेवामा भएको भ्वांगहरु देखाएको छ। भेन्टिलेटर र हजमत सुट मात्र होइन, साधारण सर्जिकल मास्कसमेत अभाव छ। कमजोर आकलन नगरी तयारी अवस्थामा बसेको भए पक्कै पनि अवस्था भिन्न हुन्थ्यो होला।
नेपाल चीनको छिमेकमै भएर पनि निकै समय पाएको थियो। ५ जनवरीमा नै विश्व स्वास्थ्य संगठनले रोग आउटब्रेकको घोषणा गरिसकेको थियो। तयारी त पर जाओस् फेब्रुअरीको २० तारिकसम्म पर्यटन मन्त्री कोरोना फ्री कन्ट्री भन्दै भिजिट नेपालको प्रचार गर्दै थिए। स्वास्थ्य मन्त्रीलाई जाँच गर्ने पिसिआर मेसिन र सुरक्षाको लागि लगाउने पिपिईबारे ज्ञान थिएन।
संक्रमण फैलिइसक्दा पनि एअरपोर्टमा क्वारेन्टाइन त परको कुरा प्यासेंजेर इन्फर्मेसनसम्म राखिएन। तर पनि युरोपको हेरिकन नेपालमा धेरै ढिला मात्र रोग सरेको हो। युरोपको जस्तो हात मिलाइहाल्ने, अंकमाल र चुम्बन गर्ने नभई दुई हात जोडेर नमस्कार गर्ने कल्चरले पनि जोगाएको हुनसक्छ।
१४०० सरकारी चिकित्सक र बाँकी सधैं ज्यालादारी करारमा चिकित्सक राखेर स्वास्थ्य सेवा चलाउँदै आएको देशमा यति ठूलो महामारीको बारेमा अन्तिम समयमा मात्र घैंटोमा घाम लागेको छ। तर पनि अझै क्राइसिस अपर्चुनिटी खोज्दै घोटालाको गाइँगुइँ चल्दै छ।
सरकारले स्वास्थ्यमा कम महत्व दिँदै प्राइभेटलाई खुला राज गर्न दिएको थियो। आइसियु बेड छैन भनी प्राइभेटमा रिफर गर्न पाइने कारण सरकारी अस्पतालमा आइसियु बेडहरु नगन्य छन्। तर कोरोनाले कुरा उल्ट्याएको छ। प्राइभेटले सरकारी अस्पतालमा बिरामी रिफर गर्दै छन्। त्यसको दोहोरो मारमा सरकारी अस्पताल पर्ने छ।
कोरोनासँगै सामाजिक संजाल कोरोना एक्सपर्टले भरिएको छ। कोही नेपालीको इम्युनिटी छ भन्दै छन्, कोही बेसारपानी एक्सपर्ट छन्। कोही भेन्टिलेटर एक्सपर्ट देखिन्छन्। भेन्टिलेटरलाई डाक्टरले पैसा थुत्न बनाएको मेसिन भन्ने बुद्धिजीवीहरु पनि भेन्टिलेटरको वकालत गर्दै छन्।
लकडाउन रोग फैलन नदिन प्रभावकारी छ भन्ने कुराको पुष्टि भइसकेको छ। तर यसले रोग निर्मूल पार्ने छैन। लकडाउनले एकै चोटी सबै जना संक्रमित हुन रोकेर स्वास्थ्य सेवा कोल्याप्स हुन रोक्ने मात्र हो। जबसम्म जनसंख्याको ठूलो भागमा रोगको संक्रमण भएर इम्युनिटी आउँदैन, तबसम्म रोग फैलिने क्रम चलिरहन्छ।
चौथो हप्तामा चलिरहेको लकडाउन अझ कति थप्ने भन्ने प्रश्न पनि आउँछ। त्यसो त खोप नआएसम्म विश्व पुरानो लयमा फर्कन सक्ने देखिँदैन।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकका अनुसार खोप छिटोमा सेप्टेम्बेरमा आउने छ। त्यति लामो समय लकडाउन सम्भव पनि हुँदैन। रोगसँगै भोकमरीले मानिसको मृत्यु हुने अवस्था आउन सक्छ। सधैं बन्द गर्न सम्भव नहुने हुँदा पर्याप्त तयारी सहित आंशिक रुपमा लकडाउन कुनै समयमा खोल्नु पर्छ नै।
कतिपय देशहरुले आंशिक रुपमा लकडाउन खोलेर पनि रोग नियन्त्रणभित्रै राखेका छन्। अन्तराष्ट्रिय आवागमन बन्द राखेर, रोग देखिएका क्षेत्र सिल गर्दै देशभित्र काम गरेर खानेलाई खुला गर्नु जायज होला। तर आंशिक रुपमा खोल्दा पनि रोग फैलन नदिन सम्भव भएसम्मको सावधानीसँगै जनचेतना जरुरी हुन्छ।
अस्पतालहरु तयारी अवस्थामा राख्न र स्वस्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन जरुरी छ। स्वास्थ्यकर्मीको मनोबल बढाउन पर्याप्त पिपिईको व्यवस्था गर्न, अकर्षक बिमाको व्यवस्था गर्न जरुरी छ। यो ज्यानको बाजी थापेर गर्ने सेवा हो भनेर सोच्न जरुरी छ।
अब करारमा ज्यालादारी डाक्टर पालेर हुुँदैन। फास्ट ट्रयाक बाट भए पनि स्थायी स्वास्थ्यकर्मी लिनुपर्छ। ३ महिनाको जागिर खान ज्यानको बाजी थाप्दै कोही आउनेवाला छैन।
आशा गरौं, कोरोनाको अन्त्य छिट्टै हुनेछ। तर यो भाइरसले अब स्वास्थ्य क्षेत्रलाई प्राइभेट व्यवसायीको हातमा जिम्मा लगाएर सिंगापुरको भर पर्न हुँदैन भन्ने कुराको पाठ भने पक्कै सिकाएको छ।