नेपालमा अझै पनि धेरै महिला घरमै सुत्केरी हुन्छन्। गर्भवती भएपछि निरन्तर स्वास्थ्य जाँच गराउने र सुत्केरी हुन अस्पताल नै पुग्ने महिला ५० प्रतिशत वरपर मात्र छन्।
यसले के देखाउँछ भने आधाभन्दा धेरै महिलाले घरमै बच्चालाई जन्म दिन्छन्। त्यसै कारण नेपालले लक्ष्यअनुसार मातृ मृत्युदर घटाउन सकेको छैन। जन्मेको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको संख्या पनि उच्च छ। जो महिला अस्पताल पुग्छन्, उनीहरुले पनि स्वास्थ्यकर्मीबाट अपेक्षित व्यवहार पाउँदैनन्।
सरकारले मातृशिशु मृत्यु दर कम गर्न अहिले धेरै कार्यक्रम ल्याएको छ। सुरक्षित मातृत्व तथा प्रसूति सेवा दिनका लागि धेरै नर्स तथा अनमीलाई प्रसूति तालिम दिइएको छ।
सन् २००६ मा सरकारले सुरक्षित प्रसूति सेवाका लागि दक्ष प्रसूतिकर्मी (मिडवाइफ) आवश्यक भएको महसुस गरी दक्ष प्रसूतिकर्मी नीति ल्यायो। र, तीन वर्षअघि सुरक्षित मातृत्व र नवजात शिशुको लागि मिडवाइफ्रीको पढाइ सुरु भएको गरियो।
मिडवाइफ अन्तराष्ट्रिय रुपमा परिचित छ। जसले गर्भवतिलाई सम्मानजनक प्रसुति सेवा दिन्छन्। उनीहरुले सम्मानजनक दक्ष प्रसुति सेवाकै बारेमा अध्ययन गरेका हुन्छन्।
मिडवाइफले सामान्य गर्भावस्था, प्रसव अवस्था, सुत्केरी अवस्था, समग्र महिला स्वास्थ्य र २८ दिनसम्मको नवजात शिशुलाई उच्चस्तरीय, सम्मानजनक र करुणामय स्वास्थ्य सेवा प्रदान गर्ने गर्छन्। जसले प्रदान गर्ने सेवाले मातृशिशु मृत्युदर कम गराउन मद्दत पुग्ने अन्तर्राष्ट्रिय अभ्यासले देखाएका छन्।
नेपालमा पनि लामो समयको कसरत पछि स्नातक तहमा ९ जना मिडवाइफ तयार भएका छन्। विदेशमा मिडवाइफहरुको प्रविणता प्रमाणपत्र तहदेखि नै उच्च शिक्षासम्म अध्ययनको सुविधा छ। तर, नेपालले पहिलो पटक स्नातक तहको मिडवाइफ कार्यक्रम सुरु गरेको हो। सो तहमा अध्ययनका लागि पिसिएल नर्सिङ सकेका नर्सले पढ्न पाउने सुविधा छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सन् २०१७ मा भर्ना भएकामध्ये ८ जना मिडवाइफले स्नातक तह उत्तीर्ण गरेका हुन्। तीन वर्षको अध्ययन सकेका उनीहरुको लाइसेन्स परीक्षा भइसकेको छ।
नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा दिएपछि उत्तीर्ण भएकाहरु नेपालको इतिहासमा पहिलो मिडवाइफका रुपमा दर्ता भएका छन्।
मिडवाइफ शब्द उनीहरुका लागि पनि नयाँ जस्तै थियो। यसले दिने सेवाबारे पनि स्वास्थ्यकर्मीमै पनि मिश्रित बुझाइ थियो। किनकी जस्तो सेवा मिडवाइफले दिन्छन्, त्यो सेवा नर्सले नै दिइरहेका छन्, किन मिडवाइफ चाहियो भनेर तर्क गर्ने स्वास्थ्यकर्मीको कमी थिएन।
स्टाफ नर्सले अन्य बिरामीको हेरचाह गर्छन् तर मिडवाइफले प्रसूति सेवा मात्र दिन्छन्। यो कुरा बुझाउन अहिले पनि आवश्यक देखिन्छ। यस्तो बुझाइ अहिले नर्सबाट मिडवाइफ बनेका ९ जनाको पनि थियो। उनीहरु आधा–अधुरो बुझाइ लिएर पहिलो कक्षामा सहभागी भएका थिए।
तीन वर्षको अध्ययनपछि आज उनीहरु फरक विचार, सोच र इच्छाशक्ति लिएर सेवाका लागि आतुर छन्।
न्याम्समा पहिलो ब्याचका मिडवाइफ्री अध्ययन गरेका ९ जना छात्रा हुन्, प्रशंसा बुढा लामा, सकिला चौलागाईं, रुक्मणी त्रिपाठी, सीमा रावल, सुप्रभा श्रेष्ठ, सविता खड्का, ज्योती पौडेल, प्रतीक्षा गुरुङ र रोशनी शाह। उनीहरु भन्छन्, ‘गर्भवती, सुत्केरी महिलालाई सम्मानजनक सेवा दिनुपर्ने रहेछ भन्ने शिक्षा महत्वपूर्ण सिकाइ हो।’
अध्ययनकै क्रममा जब पिंक कलरको ड्रेस लगाएर उनीहरु अस्पतालमा गर्भवतीलाई मायालु र नम्र व्यवहारले सेवा गर्थे तब गर्भवती तथा सुत्केरीको पहिलो रोजाइमा पर्ने गर्थे। नर्स भएर सेवा दिँदा रिसाउने बिरामी मिडवाइफको विद्यार्थी हुँदा दिएको सेवाले प्रभावित भइरहेका थिए।
मिडवाइफ्री अध्ययनका क्रममा अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको भन्दा मिडवाइफ्री अध्ययनरतको ड्रेस फरक थियो।
सेवा लिन आउने जोकोहीले पनि पिंक ड्रेस लगाउनेलाई हेर्थे। र, उनीहरुले पनि ‘पिंक सिस्टर’ नै भनेर बोलाउने गर्थे। उनै पिंक सिस्टर अर्थात् पहिलो ब्याचका मिडवाइफसँग मिडवाइफ्री विषय अध्ययन गर्नुको कारणका विषयमा गरिएको कुराकानीः
दुर्गममा बर्थिङ सेन्टर खोल्ने विचार छ
प्रशंसा बुढा लामा
म सात वर्षकी थिएँ। सुत्केरी हुने क्रममा मेरी आमाको मृत्यु भयो। आमाले भाइलाई जन्म दिनुभएको थियो। त्यो भाइ पनि भोलिपल्ट बित्यो। सानै भएकाले आमा र भाइको मृत्युको कारण थाहा भएन। समयसँगै यति थाहा भयो, आमा फर्केर आउनुहुन्न।
जबजब आमाको बारे घरछिमेकमा कुरा हुन्थ्यो। बच्चा जन्माउने क्रममा समस्या भएर मृत्यु भएको भन्ने सुन्थें। अलि ठूली हुँदै गर्दा थाहा भयो, राम्रो उपचार पाएको भए आमाले अकालमा ज्यान गुनाउनुपर्ने थिएन।
मेरी आमाले जस्तो अरु आमाको मृत्यु नहोस भन्ने सोच मनमा गढेको थियो। जब एलएलसी सकियो। म प्रविणता प्रमाणपत्र तह पिसिएल नर्सिङमा भर्ना भएँ।
त्यतिबेला थाहा भयो, गर्भावस्थामा के कारणले आमा र बच्चाको मृत्यु हुन्छ। त्यसपछि मनलाई गर्भवती महिलाको सेवा गर्ने चाह पनि बढ्दै गएको थियो। किनकि गर्भवती देख्दा आमाको मृत्यु सम्झन्थें।
पिसिएल नर्सिङ सकेपछि आमा सुरक्षासम्बन्धी काम गर्ने एनजिओमा काम गर्दै थिएँ। सो समयमा सरकारले ब्याचरल इन मिडवाइफ्रीको पढाइ सुरु गरेको कुरा थाहा पाएँ। पिसिएल पढ्दा छोटो समय मिडवाइफबारे अध्ययन गर्नुपर्ने भएकाले शब्दसँग परिचित त थिएँ तर यो छुट्टै पेसा हो भन्ने ज्ञान थिएन।
महिलासँगै बसेर काम गर्न पाइन्छ भन्ने सोचेर मैले प्रवेश परीक्षा दिएकी थिएँ। नाम निस्क्यो। अनि मिडवाइफ्री पढाइ सुरु भएको हो। पढाइ सुरु भएसँगै गर्भवतीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गयो।
पहिले गर्भवतीलाई पनि बिरामी जस्तै व्यवहार गरिन्थ्यो। पछि पढ्न सुरु गरेपछि भने मायालु, दयालु हुनुपर्छ भन्ने सिकियो। आजकल आफ्नो स्वाभाव नै मायालु भएझैँ लाग्छ।
गर्भवती भनेको शारीरिक परिवर्तन हो। यस्तो बेलामा हामीले सम्मानजनक सेवा दिनुपर्छ भन्ने कुरा थाहा पायौँ। जसले पहिले आफूले गरेको कुनै व्यवहार गलत रहेछ भन्ने पनि ज्ञात भयो।
गर्भवतीले स्वास्थ्यकर्मीले जे भन्यो त्यही मान्नु पर्दैन, इच्छाअनुसार जसरी सेवा लिन चाहन्छन्, त्यसरी दिनु पर्छ भन्ने थाहा भयो। महिलाले पनि आफ्नो विचार राख्न पाउनुपर्छ भन्ने थाहा भयो।
भविष्यमा दुर्गम क्षेत्रका महिलाको सेवा गर्न बर्थिङ सेन्टर खोल्ने विचार छ। मेरो घर हुम्ला हो। त्यो समयमा स्वास्थ्य संस्थाको अभावमा आमा सुत्केरी हुँदा जुन घटना भयो, त्यो घटना फेरि नदोहोरियोस् भनेर दुर्गमका महिलालाई सेवा दिने इच्छा छ।
हाम्रो गाउँमा अझै पनि स्वास्थ्य सेवाको पहुँच खासै छैन। त्यो ठाउँमा गएर महिलालाई सेवा दिन मन छ। त्यस क्षेत्रमा काम गर्ने सुडेनीलाई तालिम दिएर दक्ष बनाउने मन छ।
नेपालमा सरकारले मिडवाइफ कार्यक्रम ल्याएको छ। यो निकै राम्रो काम हो। कार्यक्रम बनाएर मात्र हँुदन काम गर्ने वातावरण पनि बनाइदिनु पर्छ।
महिलाको सेवा गर्न पाइन्छ भनेर भर्ना भएँ
सकिला चौलागाईं
पिसिएल नर्स भइसकेपछि विकट जिल्ला अछामको स्वास्थ्य चौकीमा काम गर्न गएको थिएँ। महिनाको एक पटक विकट गाउँमा स्वास्थ्य शिविर राख्ने भएकाले त्यहाँ जानुपथ्र्यो।
शिविरमा जाँदा महिलाको स्थिति देखेर यस्तो पनि हुन्छ भनेर अचम्म लाग्थ्यो। सानै उमेरका किशोरीले ४÷५ वटा बच्चा जन्माएका हुन्थे। उनीहरुको स्वास्थ्य पनि कमजोर थियो।
कामको चापले होला आफ्नो स्वास्थ्यको खासै वास्ता गर्दैनथे। पाठेघर खसेको, पिसाब चुहिने, योनीसम्बन्धी थुप्रै समस्या लिएर शिविरमा देखाउन आएका हुन्थे।
मिडवाइफ्री पढाइ हँुदैछ भन्ने थाहा पाएपछि महिलाको सेवा गर्न पाइन्छ भनेर भर्ना भएँ। मिडवाइफ पढ्न सुरु गरेपछि धेरै कुरा सिकेका छौँ। नर्स भई काम गर्दा जानेर/नजानेर गर्भवतीसँग गरेको रुखो व्यवहार सम्झेर ग्लानिसमेत हुन्थ्यो। मिडवाइफ पढ्न सुरु गरेपछि त्यस्तो गर्नुहुन्न भन्ने कुराको ज्ञान भयो।
सुरुसुरुमा त हामी प्रयोगात्मक अभ्यास गर्न अस्पताल जाँदा चिकित्सक नर्सले सहयोग नै नगर्ने। हामीले यसरी गर्नुपर्छ भन्दा वास्ता नगर्ने गर्नुहुन्थ्यो। पछि हामीले सेवाग्राहीको मन जित्दै गएपछि सेवा लिन आएका महिलाले हामीलाई खोज्न थाल्नु भयो। त्यसपछि चिकित्सक नर्सले पनि सहयोग गर्न थाल्नु भयो।
सरकारले सुरुमै हामी एक–एक जनालाई विभिन्न अस्पतालमा व्यवस्थापन गर्नुभन्दा पनि दुई÷तीन वटा अस्पतालमा दरबन्दी राखेर व्यवस्थापन गर्दा राम्रो हुन्छ भन्ने लाग्छ। त्यसको आधारमा दरबन्दी खोल्यो भने हामीलाई काम गर्न सहज हुने थियो।
सुरुमा काममा जानुभन्दा पहिले हामीले गर्ने कामको बारेमा सबैलाई जानकारी गराउने हो भने मात्र हामीलाई काम गर्न सहज हुन्छ भन्ने लाग्छ।
आत्मविश्वासको विकास भएको छ
रुक्मणी त्रिपाठी
धुलिखेल अस्पतालमा तीन वर्षदेखि प्रसूति रुममा काम गर्दै थिएँ। पहिलेदेखि सो वार्डमा काम गरेकोले यसमै रुचि बढेको थियो। ब्याचलर इन मिडवाइफ्री पढाइ हुने सुनेपछि बुझेर भर्ना भएको हुँ। तर मिडवाइफ छुट्टै पेसा हो भन्ने कुरा भर्ना भएर पढ्न थालेपछि मात्र थाहा पाएँ।
पहिला पनि त्यसैमा काम गरेको हुनाले खासै नयाँ त लागेन। तर पढ्दै जाँदा थाहा भयो, नर्स भएर काम गर्दा मैले गर्भवती महिलासँग राम्रो व्यवहार गरेको रहेनछु जस्तो लाग्यो। अस्पतालमा बच्चा जन्माउन आउने महिलालाई गाली गरेको सम्झँदा अहिले पनि ग्लानि हुन्छ।
गर्भवतीसँग ठूलो स्वरले बोल्नु हुँदोरहेनछ भन्ने थाहा भयो। महिलापिच्छे स्वभाव फरकफरक हुन्छ, त्यसैले स्वभावअनुसार व्यवहार गर्नुपर्छ भन्ने अहिले थाहा भयो। पेसाप्रति समर्पण, मानिससँग निर्धक्कसँग बोल्नसक्ने आत्मविश्वासको विकास भएको छ।
मैले आमालाई म जन्मँदाको अनुभव कस्तो थियो ? भनेर सोधें भने केही न केही नमिठो घटना सुनाउनु हुन्छ।
एक दिन म अस्पतालबाट घर गएर रिसाएर बसेको थिएँ। आमाले किन रिसाएको भनेर सोध्नुभयो। मैले ‘बच्चा जन्माउन आउँदा पनि पैसा नै नलिई आउने, ९ महिनासम्म पैसा त जम्मा गर्नुपर्छ नि’ भनें। त्यसपछि आमाले सम्झाउँदै भन्नुभयो, ‘सबैसँग पैसा हुँदैन। तँ जन्मिने बेला अस्पताल जाँदा मसँग पनि पैसा थिएन।’
आमा म जन्मिने बेलामा १० रुपैयाँ बोकेर अस्पताल जानु भएको रहेछ। त्यो पैसाले ओपिडी टिकट काट्न मात्र पुगेछ। यो २७ वर्ष अगाडिको कुरा हो।
बच्चा जन्मने मिति आइसकेको रहेछ। अस्पतालले तपाईं भर्ना भएर बस्नुपर्छ नभए खतरा हुनसक्छ भनेछ। आमासँग पैसा नभएकोले म घर जान्छु भन्नुभएछ। त्यहाँ काम गर्ने नर्सले जाने भए जानुस् तपाईंको राम्रोको लागि भनेको हो भनेर झर्केछन्। त्यो कुरा अहिलेसम्म पनि आमालाई याद रहेछ।
पहिले त्यो कुरा सुन्दा सामान्य जस्तो लागेको थियो। तर मिडवाइफ पढ्न सुरु गरेपछि त्यो निकै गलत व्यवहार थियो भन्ने लाग्यो।
पिंक सिस्टरसँगै सेवा लिने भनेर बोलाउँथे
सीमा रावल
मेरो घर अछाम हो। सानैदेखि महिलाले बच्चा पाउँदाको दुःख देख्दै आएको थिएँ। उनीहरुको स्थिति नाजुक हुन्थ्यो। मैले यहाँका महिलाको पीडा कम गर्न सक्छु कि भनेर नर्स पढेको थिएँ।
मिडवाइफ पढ्न सुरु गरेपछि धेरै कुरा परिवर्तन भयो। सुरुमा त हामीले गर्भवतीलाई बिरामी जस्तो व्यवहार गर्न नहुने कुरा सिक्यौँ। उनीहरुलाई सम्मानजनक सेवा दिनुपर्छ, उनीहरु बिरामी होइनन्। यो एउटा शारीरिक अवस्था हो भन्ने कुरा थाहा भयो।
हामीले अभ्यासका क्रममा गर्भवतीलाई सेवा दिँदा अन्य नर्सलाई जस्तै प्रतिक्रिया दिन्थे तर पछिपछि हामीले गरेको सेवा राम्रो लागेर माया गर्थे। नाम थाहा नहुने भएकोले हामीलाई पिंक सिस्टरसँगै सेवा लिने भनेर बोलाउँथे।
हाम्रो नम्बर लैजान्थे, केही समस्या प¥यो भने फोन गरेर सोध्ने गर्थे।
पहिलो ब्याचका मिडवाइफ भएकाले सुरुमा व्यवस्थापनसका लागि हामीलाई एउटा÷दुईटा अस्पतालमा खटाउँदा सहज हुन्छ होला। जसले सिस्टम बसाल्न पनि मद्दत पुग्थ्यो कि भन्ने लाग्छ।
परिवारका सदस्यलाई पनि समावेश गरेर सेवा दिन्छौं
सुप्रभा श्रेष्ठ
पिसिएल पढाइ सकेपछि लोकसेवाबाट संखुवासभाको स्वास्थ्य केन्द्रमा काम गरेको थिएँ। त्यो बेलामा ३ वर्षसम्म सुरक्षित मातृत्वसम्बन्धी नै सेवा दिएको थिएँ। काम गर्दा मलाई त्यहीसम्बन्धी पढ्न मन लागेको थियो। त्यति नै बेला मिडवाइफ्री पढाइ सुरु हँुदै छ भन्ने थाहा पाएको थिएँ।
हामीले दिएको सेवाप्रति धेरै जना खुसी भएर जानुहुन्छ। किनभने हामीले परिवारका सदस्यलाई पनि समावेश गरेर सेवा दिन्छौं।
नेपालका बर्थिङ सेन्टरमा मिडवाइफ मोडल छैन
सविता खड्का
पिसिएलपछि म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा काम गर्थें। जुम्लाका अधिकांश महिला घरमा नै बच्चा जन्माउने गर्छन्। अस्पतालमा मुश्किलले आइपुगेका महिलाको स्वास्थ्य पनि निकै नाजुक हुन्थ्यो। त्यहाँको अवस्थामा देख्दा कसरी बर्थिङ सेन्टर अझै राम्रो होला भन्ने सोचाइ आउँथ्यो।
त्यही बेला मिडवाइफ्रीको पढाइ सुरु भएको थाहा पाएर केही गर्नुपर्छ भन्ने सोच भएकोले पढ्न भर्ना भएको हो।
नेपालमा मिडवाइफ्री नयाँ अवसाधारणा हो। मिडवाइफ सुरक्षित बच्चा जन्माउन आवश्यक छन् भन्ने सोच नीति–निर्माणकर्तामा समेत आउन थालेको छ। पनि मिडवाइफको काम र सेवाबारे अझै पनि सर्वसाधारणमा चेतना फैलाउन आवश्यक छ।
नेपालका बर्थिङ सेन्टरमा मिडवाइफ मोडल छैन। त्यसैले हामीले पनि मिडवाइफ मोडलअनुसार प्राक्टिस गर्न पाएका छैनौँ।
सुरुमा नर्स भएर काम गर्दा सम्मानजनक प्रसूतिबारे थाहा थिएन। त्यो बेलामा महिलाहरुले भनेको मान्नु भएन भने किन यस्तो गरेको होला भनेर दिक्क लाग्थ्यो। अहिले यो उहाँको व्यवहार हो भनेर बुझेका छौँ। उहाँलाई जसरी सहज हुन्छ, त्यसरी गर्नुपर्छ भनेर नै सम्झाउँछौँ।
नेपालमा मिडवाइफ मोडल नभएको हुदाँ सरकारले काम गर्ने वातावरण बनाइदियोस्, जसले गर्दा हामीलाई काम गर्न सहज होस्।