डा रोजित श्रेष्ठ, डा पूजा न्यौपाने
अहिले सम्पूर्ण विश्व नै कोरोना भाइरस (कोभिड-१९) महामारीसँग जुध्न धेरै चुनौतीको सामना गरिरहेको छ। यस्तै चुनौतीमध्ये कोभिड-१९ को प्रयोगशाला परीक्षण पनि एक महत्वपूर्ण सवाल हो। किनकि कोभिड-१९ बाट संक्रमित बिरामीको पहिचान गर्न यसले ठूलो भूमिका खेल्छ।
पिसिआर विधिबाट भाइरसको न्युक्लिक एसिड (आरएनए) पत्ता लगाई गरिने कोभिड-१९ को निदान हालको एक मात्र विश्वसनीय उपाय हो। बिरामीले संक्रमणविरुद्ध बनाएको एन्टिबडीको परीक्षण विधि पनि नेपालमा प्रयोगमा छ। यस्तै कोरोना भाइरसको प्रोटिन (एन्टिजेन) परीक्षण गरेर पनि कोभिड-१९ निदान गर्न सकिन्छ र यो विधि अहिले विश्वका कतिपय देशहरुले प्रयोगका लागि अघि सारिसकेका छन्।
पिसिआर परीक्षणमा शंकास्पद व्यक्तिको श्वास प्रणालीको माथिल्लो भागबाट नेजोफ्यारेन्जियल स्वाब अथवा तल्लो श्वास नलीबाट आउने खकार र ब्रोन्किओअल्वेलर ल्याबेजजस्ता नमुनामा कोरोना भाइरसको अद्वितीय आरएनए खण्ड पहिचान गर्दै कोभिड-१९ निदान गरिन्छ। यी नमुनाबाट आरएनए आइसोलेसन गरी डिएनएमा रूपान्तरण गरिन्छ र यस डिएनएको पोलिमेरेज चेन रिएक्सन प्रयोग गरेर लाखौं प्रतिलिपिमा विस्तार (ऐम्प्लिफकेसन) गरी यो पत्ता लगाइन्छ।
कोभिड-१९ निदानका निमित्त पिसिआर डायग्नोस्टिक टेस्ट हो र यो परीक्षण, प्रारम्भिक चरणमै कोरोना संक्रमण पत्ता लगाउन प्रयोग गर्न सकिन्छ। श्वास प्रणालीको माथिल्लो भागमा कोरोना भाइरसले आफ्नो संख्या वृद्धि गर्ने हुँदा यस्ता नमुनामा गरिने पिसिआर विधिबाट संक्रमण भएको २/३ दिनमै रोग पत्ता लगाउन सकिन्छ।
सामान्यतया संक्रमण भएको ३/५ दिनभित्रै यस भाइरसको संख्या उच्च तहमा पुग्छ। त्यसैले श्वास प्रणालीबाट नमुना संकलन गर्न यो उत्तम समय हो। तर नेपालजस्ता विकासशील देशले सबै परीक्षण पिसिआर प्रविधिबाट गर्न धेरै चुनौती सामना गर्नुपरिरहेको छ। किनकि यो महँगो र प्राविधिक रूपमा गाहो छ, अनि व्यापक रूपमा उपलब्ध पनि छैन। हालसालै पिसिआर परीक्षण प्रदान गर्ने प्रयोगशालाको संख्या विस्तारै बढ्दै गइरहेको भए तापनि आउँदा दिनमा यसलाई थप विस्तार गर्नु पर्ने देखिन्छ।
जब ब्याक्टेरिया तथा भाइरसजस्ता सूक्ष्म जीव हाम्रो शरीरमा प्रवेश गर्छन्, तब हाम्रो प्रतिरक्षा प्रणाली संक्रमणविरुद्ध लड्न उत्तेजित हुन्छ। यस्ता रक्षा प्रणालीको एक तरिका भनेको एन्टिबडी उत्पादन गर्नु हो, जसले त्यस्ता सूक्ष्म जीव नष्ट गर्न मद्दत गर्छ। एन्टिबडी ५ प्रकारका हुन्छन्: आइजिएम, आइजिजी, आइजिए, आइजिई र आइजिडी। संक्रमणविरुद्ध उत्पादित यस्ता एन्टिबडी (विशेषगरी आइजिएम र आइजिजी) पहिचान गरी किटाणुद्वारा हुने रोग निदान गर्ने विधि व्यापक प्रयोगमा छ। रगतमा त्यस्ता एन्टिबडी पत्ता लगाउन विभिन्न विधि हुन्छन्। तीमध्ये एउटा सजिलो विधि हो- पोइन्ट अफ केयर टेस्टिङ (पिसिओटी) अर्थात् र्यापिड टेस्टिङ।
नेपालमा त्यस्ता द्रुत एन्टिबडी परीक्षण यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) को नामले लोकप्रिय छ। यो भाइरसविरूद्ध एन्टिबडी पत्ता लगाउने परीक्षण हो, प्रत्यक्ष भाइरसको परीक्षण होइन। यस्ता एन्टिबडी परीक्षणका धेरै मौलिक सीमितता हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा यो कोरोना भाइरस संक्रमणको प्रतिक्रियामा बिरामीको प्रतिरक्षा प्रणालीले बनाएको एन्टिबडीको पहिचानमा निर्भर गर्छ। एन्टिबडी परीक्षणले प्रत्यक्ष भाइरस पत्ता लगाउँदैनन्, त्यसैले प्रारम्भिक संक्रमणको स्क्रिनिङका लागि उपयुक्त हुँदैन।
संक्रमण भएको ८/१० दिनमा बिरामीको शरीरले आइजिएम प्रकारको एन्टिबडी उत्पादन गर्न सुरु गर्छ। संक्रमणको १ महिनाभित्र आइजिएम एन्टिबडी उच्च तहमा पुग्छ र विस्तारै घट्छ। बिरामीले आइजिजी भन्ने अर्को प्रकारको एन्टिबडी पनि उत्पादन गर्छ, जुन १०/१२ दिनभित्र रगतमा बढ्न थाल्छ र कम्तीमा केही महिनासम्म रगतमा रही रहन्छ। जब शरीरमा एन्टिबडीको मात्रा बढ्दै जान्छ, तब त्यसले कोरोना भाइरस मार्छ र बिरामी बिस्तारै रोगबाट मुक्त हुँदै जान्छ। त्यसकारण धेरैजसो बिरामीमा सक्रिय भाइरसको संख्या कम हुँदै ३ हप्तासम्ममा भाइरसमुक्त हुन्छन्। यसको अर्थ के हो भने एन्टिबडी पोजिटिभ छ भन्दैमा व्यक्ति अहिले कोरोनाबाट पीडित छ भन्न कठिन हुन्छ। त्यसकारण के बुझ्न जरुरी छ भने एन्टिबडी परीक्षणको नेगेटिभ परिणामले न बिरामी संक्रमित छैन भन्न सकिन्छ न पोजिटिभ नतिजाले संक्रमित छ भन्न मिल्छ।
कुनै व्यक्तिमा एन्टिबडी देखियो भने यसको सिधा अर्थ हुन्छ- ऊ अहिले वा पहिले कोभिड-१९ बाट संक्रमित व्यक्ति हो। तर पोजिटिभ पिसिआर परिणामले तत्कालको संक्रमण पहिचान गर्छ। तर पनि विगतको संक्रमण पहिचान गर्न र संक्रमित व्यक्तिमा प्रतिरक्षा प्रणालीको स्थिति थाहा पाउन वा खोप (बनेपछि) को प्रभावकारिता अध्ययन गर्न एन्टिबडी परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ।
कतिपय निको भइसकेका बिरामीमा पिसिआर परीक्षण गर्दा पुनः पोजिटिभ पनि देखिन सक्छ। हालसालै नेपालमा यसरी संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका व्यक्तिको नियमित जाँचमा पुनःकोरोना पोजिटिभ नतिजा ३ जनामा देखिएको थियो। एकपटक निको भएका बिरामीमा फेरि पिसिआर पोजिटिभ देखिनुको मूलतः ४ कारण छन्:
१. त्रुटिपूर्ण परीक्षण
पिसिआर परीक्षण गर्दा गलत (फल्स-नेगेटिभ) परिणाम आउनु असामान्य होइन। त्यसैले कुनै पनि नेगेटिभ रिपोर्ट वास्तवमै नेगेटिभ हो कि होइन भनेर निश्चित गर्न जरुरी हुन्छ। बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्दा गरिने पिसिआर परीक्षण ‘फल्स नेगेटिभ’ भएको छ, अनि केही दिनपछि गरिने फलोअप पिसिआर परीक्षण गर्दा पुनः पोजिटिभ देखियो भने यस्ता व्यक्तिलाई ‘पुनः संक्रमित’ भन्नु उपयुक्त हुँदैन। यस्तो फल्स नेगेटिभ नतिजा आउनुमा थुप्रै कारण छन्। परीक्षणमा प्रयोग भएका रसायनको खराबी, नमुना संकलन गर्दा अपनाइएको विधि, नमुनाका प्रकार, भण्डारण र स्थानान्तरण लगायत यावत् कुरामा पिसिआर परीक्षणको नतिजा निर्भर हुन्छ। प्रायः बिरामी डिस्चार्ज हुनुअघि फल्स नेगेटिभ परिणाम आउनाका कारण राम्रो गुणस्तरको नमुना संकलन गर्न नसक्नु वा स्वाब संकलन गर्दा भाइरसको मात्रा घाँटीमा एकदम कम हुनु हो।
२. पुनः संक्रमण
कोभिड/१९निको भएकामा पुनः संक्रमण हुने सम्भावना एकदमै न्यून हुन्छ। कोभिड-१९ बाट संक्रमित भएका व्यक्तिले कोरोना भाइरसविरूद्ध एन्टिबडी विकास गर्छन् र उनीहरू फेरि यो भाइरससँग सम्पर्कमा आए तुरुन्तै त्यसविरूद्ध लड्न सक्छन्। त्यसकारण एकपटक कोरोना भाइरस संक्रमित भएका व्यक्तिले कोरोना भाइरसप्रति अस्थायी रूपमा प्रतिरक्षा प्रणाली विकास गर्न सक्छन्।
दादुराजस्ता भाइरसको संक्रमणले जीवनभर त्यसविरूद्ध प्रतिरक्षा प्रदान गर्छ। सार्सजस्ता अन्य कोरोना भाइरसका लागि भने यस्तो प्रतिरक्षा केही महिनादेखि केही वर्षसम्म हुने अध्ययनले देखाएका छन्। अहिलेको कोरोना भाइरस नयाँ भएकाले यसविरूद्ध बन्ने एन्टिबडी कति लामो समयसम्म रहन्छ र सुरक्षा दिन सक्छ, स्पष्ट भइसकेको छैन। आजको दिनसम्म यस कोरोना भाइरस रोगको पुनःसंक्रमणको पुष्टि गरिएको छैन।
हालसालै जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एक लेख अनुसार निको भइसकेका कोभिड-१९ को बिरामीले कमसे कम अस्थायी रूपमा पुनःसंक्रमणको विरूद्ध प्रतिरक्षा पाउन सक्छ। नेपालमा अस्पतालबाट डिस्चार्ज भएका पूर्वसंक्रमितको फलोअप पिसिआर परीक्षण केही दिनमै गरिएकाले पुनः संक्रमित हुने सम्भावना कम नै छ। त्यसकारण ‘पुनः संक्रमण’ जस्ता शब्दप्रयोग सावधानीपूर्वक गर्नुपर्छ।
३ पुनःसक्रिय
निको भएर अस्पतालबाट डिस्चार्ज भएकामा फेरि पिसिआर पोजिटिभ आउनुको अर्को कारण भाइरसको पुनः सक्रियता पनि हुनसक्छ। प्रायः हाम्रो प्रतिरक्षा प्रणाली, भाइरसलाई पूरै नष्ट गर्न सक्षम हुन्छन्। तर केही मानिसमा भाइरस केही समयका लागि निष्क्रिय रहेर हाम्रो प्रतिरक्षा कोषबाट लुकेर बस्न सक्छ (लेटेन्ट स्टेट)। जब भाइरस हाम्रो शरीरभित्र निष्क्रिय अवस्थामा लुकेका हुन्छन्, तब तिनले कुनै रोगका लक्षण निम्त्याउँदैनन्। तर यी निष्क्रिय भाइरस पुनः सक्रिय हुनसक्छ र यसले आफ्नो संख्या वृद्धि गरी रोग बल्झाउन पनि सक्छ। यस प्रकारको प्रक्रिया केही भाइरल रोगमा सामान्य हुन्छ।
उदाहरणका लागि कतिपय बिरामीमा चिकनपक्स भाइरस प्रतिरक्षा प्रणालीबाट लुकी लामो समयसम्म निष्क्रिय रहन सक्छ। जब यस्ता मानिसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, तब यो भाइरस पुनः सक्रिय भई भेरिसेलाजोस्टर (हर्पेस जोस्टर) भनिने रोग बल्झाउन सक्छ। तर पुनः सक्रियताको यस्तो अवस्थामा व्यक्तिसँग पहिले नै कोरोना भाइरसविरुद्ध केही प्रतिरक्षा प्रणाली विकास भइसकेको हुने हुनाले रोगको लक्षण एकदम सीमित हुन्छ। त्यस्ता व्यक्तिले सामान्यतया अन्य व्यक्तिमा संक्रमण सार्न भने सक्दैन। तसर्थ लुकेर बसेका कोरोना भाइरसको पुनः सक्रियताले पनि पिसिआर पोजिटिभ देखिन सक्छ। तर त्यस्ता व्यक्तिले अरूलाई संक्रमित बनाउने जोखिम एकदम कम हुन्छ।
अर्को सम्भावना के पनि हुन सक्छ भने, निको भएको भनिएका यस्ता बिरामीमा भाइरस पूर्ण रूपमा शरीरबाट न हटेको पनि हुनसक्छ। यसको साटो भाइरस अझै पनि श्वासप्रणालीको बाहेक अरू अंगहरुमा जीवितै बसेको पनि हुन सक्छ। तसर्थ, संक्रमणमुक्त घोषणा गर्नुअघि दिसा र पिसाब जस्ता नमुनाहरू परीक्षण गर्नु उपयुक्त हुन्छ। धेरै वैज्ञानिक के विश्वास गर्छन् भने निको भइसकेका बिरामीमा फेरि पिसिआर पोजिटिभ आउनुको कारण पुनः सक्रियता पनि हो। तर यस विषयमा थप अध्ययन र अनुसन्धान आवश्यक छ।
४. मृत भाइरल टुक्राको पहिचान
निको भइसकेका बिरामीमा फेरि पिसिआर पोजिटिभ आउनुमा यो सबैभन्दा महत्वपूर्ण कारण हो। जब हाम्रो प्रतिरक्षा प्रणालीले कोरोना भाइरस नष्ट गर्न थाल्छ, तब बिरामी विस्तारै निको हुँदै जान्छ। तर भाइरस मृत टुक्राका रूपमा केही समयका लागि हाम्रो कोषमा रहिरहन्छन्। दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको एक अध्ययनले देखाएअनुसार निको भएका बिरामीको फोक्सोका कोष मर्मत हुने क्रममा मृत भाइरस भएका मृत कोष खकारसँगै श्वास प्रणालीको माथिल्लो भागमा आउने गर्छन्। स्वाब संकलन गर्दा यस्ता मृत भाइरस भएका कोष पनि नमुनामा आउन सक्छन्। नमुनामा भएका यी मृत भाइरसमा आरएनएका टुक्राटाक्री पनि हुन्छन्। फलस्वरूप यस्ता स्वाबको पिसिआर गर्दा गलत (फल्स-पोजिटिभ) परिणाम आउने गर्छ।
निको भइसकेका कोभिड-१९का बिरामीले केही हप्तासम्म मृत भाइरसको टुक्रा भएका मृत फोक्सो कोषबाहिर निकाल्न सक्छ, जसलाई पिसिआरले पोजिटिभ रिपोर्ट गर्छ। त्यसैले यस्ता बिरामीलाई पुनः संक्रमित भन्नु गलत हो। के बुझ्न जरूरी छ भने पिसिआर भाइरसको आरएनए पत्ता लगाउन गरिने परीक्षण हो, तर प्रत्यक्ष जीवित भाइरसको परीक्षण होइन। अर्को शब्दमा पोजिटिभ पिसिआर परिणाम भनेको भाइरल आरएनएको पहिचान गर्नु मात्र हो, जीवित भाइरस देखाउनु होइन। त्यसकारण निको भइसकेका मानिसमा पोजिटिभ पिसिआरले मृत भाइरल टुक्राको उपस्थितिलाई संकेत गर्छ। यस्ता व्यक्तिलाई ‘पुनः संक्रमित’ भन्न मिल्दैन भने उनीहरूले अन्य व्यक्तिमा भाइरस सार्न सक्दैनन्। यस्ता नमुनामा भाइरस जीवितै (एक्टिभ) छ वा छैन भन्ने जाँच्न भने भाइरसको कल्चर गर्नुपर्ने हुन्छ। नेपालमा अहिले यो भाइरल कल्चरको सुविधा उपलब्ध छैन।
संक्षिप्तमा
१. माथिल्लो श्वास प्रणालीबाट निकालिएको नमुनामा भाइरल न्युक्लिक एसिड टेस्टिङ (पिसिआर) गरिए मात्र बिरामीको संक्रामक अवस्था पहिचान गर्न सकिन्छ।
२. र्यापिड एन्टिबडी परीक्षणले रोगको सुरुवाती अवस्था पहिचान गर्न सक्दैन, तर यो विधिले नेगेटिभ नतिजा दिएका बिरामीले अन्य व्यक्तिमा संक्रमण फैलाउन सक्छन्।
३. पिसिआर विधि भाइरसको आरएनए पत्ता लगाउन गरिने एक परीक्षण हो, सक्रिय (लाइभ) भाइरस पहिचान गर्ने परीक्षण होइन। त्यसैले कोभिड-१९ निको भइसकेका व्यक्तिमा पिसिआर पोजिटिभ आउँदैमा पुनः संक्रमित भन्न मिल्दैन।
४. कोरोना संक्रमणमुक्त भइसकेका मानिसमा केही महिनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ।
५. कोभिड-१९ निको भएका व्यक्तिमा फेरि केही दिनमै पिसिआर पोजिटिभ देखिनुको सबैभन्दा मूल कारण नमुनामा मृत भाइरल टुक्रा रहिरहनु हो।
-(डा श्रेष्ठ होक्काइडो विश्वविद्यालय, जापानका उपप्राध्यापक (चिकित्सा प्रयोगशाला) हुन् भने डा न्यौपाने स्वास्थ्य विज्ञान विश्वविद्यालय होक्काइडो, जापानकी माइक्रोबायोलोजिस्ट हुन्)