करिब १० दिनको अस्पताल बसाई निकै अत्यासलाग्दो थियो। हामीलाई एक दिन त एक्लै बस्दा कस्तो डर लाग्छ। सुनसान लाग्छ। कोही बोल्ने मान्छे नहुँदा छटपटी लाग्छ। मोबाइल मात्र पनि कति हेर्नु निकै तनाव हुन्थ्यो।
म त धेरै दिन बस्नुपरेन। तर, लामो समय बसेकाहरूलाई कस्तो भएको होला झन्।
कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा धेरै दिन बस्नु त्योभन्दा अत्यासलाग्दो हुनेरहेछ।
एक्लै धेरै दिन बस्दा भने मानसिक असर पर्ने रहेछ। हुनतः मैले सुनेअनुसार टेकु अस्पतालमा भएको सुविधा अन्तको भन्दा राम्रो हो रे। यो संकटबेला यस्तो उस्तो माग गर्ने बेला पनि होइन। तर, अस्पताल बस्दा मलाई लागेको के भने, दिनको एक पटक भएपनि राउन्ड आइदिए, कोही मान्छे आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।
करिब १० दिनको अवधिमा एकपटक मात्र डाक्टर राउन्डमा आउनुभएको थियो। केही जाँच गर्छु भन्नुभयो तर त्यहाँ जाँच गर्ने सामान छैन भनेपछि गर्नुभएन।
त्यसबाहेक २ पटक स्याम्पल लिन ल्याबको मान्छे आउनुभएको थियो।
आइसोलेसनमा बस्दा, आफ्नो शरीरको तापक्रम, रक्तचाप आफै लिनुपर्ने रहेछ। उहाँहरूले समयसमयमा तापक्रम र रक्तचाप लिन फोन गर्नुहुनथ्यो। आफैले लिएर फोनमा भन्दिने हो। म त अस्पतालमै काम गर्ने भएर मलाई यसो यसो गर्नुस् भन्दा मैले गर्न सक्थेँ। तर, सबै पढेलेखेको र त्यति काम गर्न सक्ने नै हुन्छन् भन्ने हुँदैन। उनीहरुका लागि यो कुरा समस्या हुन्छ जस्तो लाग्यो। खाना पनि बाहिर राख्दिएको खानुस् भनेर फोन गर्नुहुन्थ्यो।
मलाई कुनै लक्षण देखिएको थिएन। मेरो पिसिआर रिर्पोट पोजेटिभ आउँदा पनि मलाई मेरो हो भन्ने विश्वास लागेकै थिएन। किनकि मलाई कुनै लक्षण थिएन। कुनै शारीरिक समस्या भएको थिएन।
तर, आइसोलेसनमा धेरै दिन कुनै मान्छे नदेखी कोठामा थुनिएर बस्दा जति नै भौतिक सुविधा दिएपनि मानसिक तनाव हुने रहेछ। मलाई नै कतिपटक डिस्प्रेसन होला जस्तो भयो। अनि, मान्छे कोरोनाले होइन, डरका कारण आत्तिएर मर्छन् कि जस्तो अनुभव भयो। त्यसैले बेलाबेलामा फोन गर्ने, दिनको एकपटक काउन्सिलिङ गर्नु एकदमै जरुरी छ जस्तो लाग्यो।
त्यहाँ बस्दा मलाई कुनै औषधि खानु परेन। तर, उहाँहरूले निद्रा लागेन भने भन्नू, केही समस्या परेमा फोन गर्नू त भन्नुहुन्थ्यो। मानसिक रुपमा अस्पतालमा छु भन्ने फिल गराउन होला ग्यास्ट्रिकको औषधि दिनुभएको थियो। मैले आफूलाई कुनै समस्या नभएकोले खाइनँ।
त्यसबाहेक बिहानबेलुकाको खाना, दिउँसो चिया, बिस्कुट र अन्डा अस्पतालले उपलब्ध गराउने रहेछ। स्यानिटाइटर, मास्क पनि अस्पतालले नै दिएको थियो। बस्ने कोठमामै अट्याच बाथरुम थियो। सफाई गर्न दिदी आउनुहन्थ्यो। त्योबेला 'बाथरुम जानुस् न एकछिन्' भन्नुहुन्थ्यो।
अरु कुरा जे भएपनि संत्रमितलाई हरेक दिन मानसिक परार्मशको खाँचो छ।
(कल्पना पौडेलसँगको कुराकानीमा आधारित)