डा हेमराज कोइराला
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस महामारीले विश्वव्यापी रुप धारण गरेको छ। सन् २०१९ डिसेम्बर ३१ मा पत्ता लगाइएको यो भाइरसको नाम ११ फेबु्रअरी २०२० का दिन कोभिड–१९ राखियो। कोरोना भाइरसको नयाँ प्रजाति सार्स–कोभ–२ को कारणले हुने यो रोगलाई विश्व स्वास्थ्य संगठनले २५ मार्च २०२० का दिन वैश्विक महामारी घोषण गरेको हो।
सन् २००३ मा चीनबाटै सुरु भएको कोरोना भाइरसको संक्रमणले झन्डै ८००० मान्छेलाई लपेटमा लिएर ८०० जनाको ज्यान लिएको थियो भने सन् २०१३ मा साउदि अरेबियाबाट सुरु भएको अर्को कोरोना भाईरसको संक्रमण झन्डै २५०० मान्छेमा फैलिएर ८०० जानको मृत्यु भएको छ।
कोरोना भाइरस एउटा वृहत परिवारको आरएनए भाइरसको समूह हो। यो भाइरसले आधारभूत रूपमा श्वास–प्रश्वास प्रणालीलाई असर पार्ने भएकाले यस रोगलाई श्वास–प्रश्वास प्रणालीको रोग मानिएको हो।
कोरोना भाइरसका ७ प्रजातिमध्ये केवल २ प्रजाति मात्र मानव स्वास्थ्यका लागि खतरनाक छन्। यो भाइरसको संक्रमण हुँदा सामान्य रुघामर्की खोकीज्वरोदेखि जटिल निमोनिया र अन्त्यमा श्वास–प्रश्वास घात भएर मृत्यु पनि हुन सक्छ।
भाइरस अत्यन्त संक्रामक भएकाले चाँडै फैलिने गरेको छ। द्रूतगतिमा फैलिने भएकाले कम मृत्युदर भए तापनि यो भाइरस सार्स–२००३ र मर्स–२०१३ भन्दा ज्यादा खतरनाक छ। आजसम्म आधुनिक चिकित्सा विज्ञानले यो रोगको कुनै खास औषधि वा खोप बनाइसकेको छैन भने परम्परागत चिकित्सामा पनि यस रोगको कुनै उपचार छैन। तर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडिबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन्। यिनै विधिविधानमध्येको एउटा विधि जलनेती पनि हो।
युरोपमा कोरोना भाइरसको महामारी अनियन्त्रित रूपमा फैलिन थालेपछि योग विज्ञानमा परापूर्वकालदेखि प्रयोग भइरहेको जलनेतीको प्रयोग गर्न थालिएको छ। हालै मात्र रोयल इन्फर्मरी अफ इडिनबर्गका बेलायतका चिकित्सक डा सन्दीप रामलिङ्गम र साथीहरूले गरेको अनुसन्धानले दर्साएअनुरूप जलनेतीको र नुनपानीको गलाला (गार्गलिङ) गर्दा कोरोना भाइरस रोग–१९ ले सताउने समय आधा कम भएको अनुसन्धानले देखाएको छ। यसै अनुसन्धानमा कोरोनाका कारणले उत्पन्न नाक थुनिने, घाँटी दुख्ने, खोकी लाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खस्खसाउने, हाच्छिउँ आउने, नाक बग्ने र जीउ दुख्ने/थाक्ने जस्ता लक्षणको निवारणमा पनि जलनेती र गलालाको प्रयोगले मनग्ये फाइदा पुर्याएको छ।
के हो जलनेती?
जलनेती योग विज्ञानमा माथिल्लो श्वास मार्ग सफा गर्नका लागि विकसित गराइएको प्राचीन शोधन पद्धति हो। यस पद्धतिमा हल्का नुनिलो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर पूरै श्वासमार्गलाई पखाल्ने गरिन्छ।
जलनेती गर्नका लागि जलनेती पात्रको आवश्यकता पर्छ। जलनेती पात्र भनेको हामीले पानी खानको लागि प्रयोग गर्ने टुटीदार करूवा आकारको भाँडो हो। रूघा, खोकी, मर्की, नाकको एलर्जी जीर्ण पिनास, गन्ध ग्रहणमा कमी आदि जस्ता समस्यामा अत्यन्त लाभ पुर्याउने जलनेती र गलाको गलाला अब कोरोना भाइरस रोगमा पनि अत्यन्त कारगार सावित भइसकेको छ। यसर्थ कोरोनाको अन्य उपचार पद्धतिसँगै यस उपचारलाई पनि अगाडि बढाउन सकिन्छ।
विधि
१. जलनेती गर्नका लागि करुवा आकारको जलनेती पात्र लिनुहोस।
२. अब उमालेर पानी नथपी सेलाउन दिइएको मनतातो (शरीरको तापक्रमको बराबर) भएको १ लिटर पानीमा १० ग्राम नुन मिलाउनुहोस।
३. जलनेतीको भाँडामा तयार गरिएको पानीलाई भर्नुहोस। जलनेती पात्रको टुटीलाई नाकको एउटा प्वालमा टम्म मिल्ने गरी छिराउनुहोस। अब टाउकालाई विस्तारै टुटी छिराएको भन्दा विपरीततर्फ हल्का ढल्क्याएर जलनेती पात्रलाई विस्तारै माथि उठाउँदै जानुहोस। यसो गर्दा मुखलाई खुलै राख्नुहोला। अब एउटा नाकको प्वालबाट छिराइएको पानी अर्को नाकबाट निस्किन थाल्छ। भाँडालाई माथि उठाउँदै जाँदा भाँडाको मुखबाट पानी पोखिनु हँुदैन।
४. नाकको एउटा प्वालबाट पानी पठाएमा अर्को प्वालबाट पानी बाहिर आउँछ। यसरी एउटा नाकबाट एक भाँडो पानी पठाइसकेपछि अर्को प्वालबाट पनि यसरी नै पानी पठाउनुहोला।
५. नाकको प्वालबाट पालैपालो पानी पठाउने कार्य पूरा भइसकेपछि नाकलाई सुख्खा बनाउन एवं नाकभित्र जम्मा भएको फोहोरलाई बाहिर निकाल्न उभिएर चतुरमुख भष्त्रिका विधि गर्नुपर्छ। चतुरमुख भष्त्रिका विधि गर्न दुवै गोडालाई एक आपसमा मिलाएर सिधा उभिनुपर्छ। अब दुवै हातका चोर औंलालाई कानमा पसाएर आँखा बन्द गरी माथी, तल, दायाँ, बायाँ चारैतिर फर्किएर जोड–जोडले श्वास बाहिर फ्याँक्नुपर्छ। यसले नाक भित्रको फोहोर र पानी निकाल्न सहयोग गर्छ।
६. चतुरमुख भष्त्रिकापछि नाकलाई टिस्यु पेपर वा रूमालले पुछ्नुहोला।
सावधानी
१. जलनेती गर्दा मुख खुलै राख्नुपर्छ। मुख खुल्ला नभएको खण्डमा नाकमा हालिएको पानी श्वास मार्गतिर पानी सर्किएर दुर्घटना हुन सक्छ।
२. दुवै नाकबाट पानी हालिसकेपछि नाकलाई पूरा सुख्खा बनाउनुपर्ने हुन्छ। नाकभित्र पानी रह्यो भने जलनेती गरेको केही समयपछि टाउको दुख्ने, रुघा लाग्ने र अन्य असुविधा पनि हुनसक्छ।
३. पानी जहिले पनि नाकको एक प्वालबाट राखेर अर्काे प्वालबाट आउनुपर्छ। नाकको प्वालबाट राखेको पानी मुख या गलामा आयो भने ध्यान दिनु कि टाउकाको ढल्काइ मिलेन।
४. जलनेती पात्रको स्वच्छतालाई विशेष ध्यान दिन हरेक पल्ट राम्ररी पात्रलाई धुने गरौं।
५. जलनेतीमा प्रयोग गर्ने पानी सफा र मज्जाले उमालेर मनतातो बनाएको हुनुपर्छ। पानीको स्वच्छतालाई कहिल्यै नजर अन्दाज गर्नु हँुदैन।
६. नाकको पानी सफा गर्ने क्रममा बुढी औंला र चोर औंलाले नाक समाती जोडले सिँ–सिँ गर्ने गर्नुहुँदैन। यसले कानलाई खराबी गर्छ।
फाइदा
१. रूघा मर्कीको समस्या भएर नाक बन्द भएको भए खुलाउन मद्दत गर्छ।
२. नाक बन्द हुने गन्ध ग्रहण गर्न नसक्ने भएको अवस्थामा पनि यो उपचार पद्धतिले राम्रो फाइदा पुर्याउँछ।
३. ब्याक्टेरिया एवं भाइरसको कारणले भएको रूघा मर्की एवं सर्दीलाई समेत ठिक गर्न मद्दत गर्छ।
४. दृष्टि सम्बन्धी समस्याहरू जस्तैः दृष्टि सुधार गर्न मद्दत गर्छ।
५. नाक, कान, घाँटी, आँखा, पिनास ग्रन्थी, टाउको आदिका समस्यामा राम्रो गर्छ।
६. बारम्बार भइरहने टन्सिलाइटिसलाई निको पार्न मद्दत गर्छ।
७. माइग्रेन, पिनास, अर्धकपाली, अनिद्रा, अनियन्त्रित क्रोध आदिमा राम्रो फाइदा पुर्याउँछ।
८. मिर्गी, हिस्टेरिया, उन्माद, पागलपन, क्षिप्त विक्षिप्त एवं मूढ चित्तलाई नियन्त्रण गर्न मद्दत गर्छ।
९. एलर्जिक राइनाइटिसको लागि अत्यन्त राम्रो गर्छ। धुवाँ, धुलो र प्रदूषणले निम्त्याउने समस्याबाट बचाउँछ।
१०. असमयमा रौं खस्ने, फुल्ने, तालु खुइलिने जस्ता समस्याहरूमा फाइदा पुर्याउँछ।
११. मानसिक स्फुर्तीलाई बढाउँछ। शारीरिक थकान पनि कम गर्छ।
१२. कोरोना भाइरसको संक्रमणलाई लगाम लगाउन विशेष मद्दत गर्छ।
कोरोना रोगीहरूमा हालसालै भएको अनुसन्धानले दर्शाए अनुरूप जलेनतीको प्रयोगले कोरोना संक्रमणले हुने नाक थुनिने, घाँटी दुख्ने, खोकी लाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खस्खसाउने, हाच्छिउँ आउने, नाक बज्ने र जीउ दुख्ने, थकाइ लाग्ने जस्ता लक्षणहरू जलनेती गर्दा चाँडै निस्तेज भएको पाइएको छ।
(लेखक भरतपुर–१ बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्।)