डा अविनाशकुमार झा
एक महिनाअघि कोभिड-१९ को ड्युटी रोस्टर आयो। मेरो नाम दोस्रो समूहमा थियो। मन झसङ्ग भयो, डर लाग्यो। म आफ्नो ओपिडीतिर लागें। मन एकदम चञ्चल भइरहेको थियो, के गर्ने के नगर्ने भनेर।
मैले आफूलाई सम्झाएँ, म आफ्नो कर्तव्यबाट भाग्न मिल्दैन। मनमा संकल्प लिएँ, यस्तो महामारीका बेला सकेजति गर्छु। तर एउटा कुराको चिन्ता थियो, घरमा यो कुरा कसरी भन्ने। आमाबुबाले यो कुरा कसरी लिनुहुन्छ।
यस्तो महामारीका बेला नत्तिएको र नडराएको को नै छैन र? घरमा आएर सर्वप्रथम श्रीमतीलाई भनें। श्रीमतीको आँखाभरि आँसु भरियो। तर पछि उनले पनि यो महामारीको आवश्यकता बुझिन्। सायद उनी पनि डाक्टर भएर होला मैले धेरै बुझाउनु परेन। बुबाले पनि कुरा बुझ्नु भो।
आमालाई भन्दा आमाले सोध्नु भो- बाबु तलाईं पिपिई त दिन्छ नि? नत्र म जान दिन्नँ। मैले हाँस्दै भनें- 'हजुर आमा।' आमा शब्द नै कति महान छ, निस्वार्थ छ।
पत्रपत्रिका र टिभीमा 'पिपिई सेटको अभाव', 'डाक्टरलाई पिपिई बिना नै काम गर्नुपर्ने बध्यता' जस्ता समाचार सुनेर पनि होला, यो प्रश्न सोध्नु स्वभाविक नै थियो। त्यति बेलासम्म हाम्रो कोभिड-१९ कोशी अस्पतालमा कुनै बिरामी आएको थिएन। तर हाम्रो अस्पताल सम्पूर्ण रुपले तयार थियो। यसका लागि म अस्पतालका मेसु डाक्टर संगीता मिश्र, प्रदेश १ का मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको कामको प्रसंशा गर्न चहन्छु।
यसैबीच एक दिन टिभी हेरिरहँदा समाचार आयो- 'उदयपुरमा १३ जना कोरोना संक्रमित भेटियो। विराटनगरको कोभिड-१९ कोशी अस्पताल ल्याइँदै।' मन झसङ्ग भयो। केही बोलिनँ। आमाले भन्नुभो, 'अब त तँलाई ड्युटी गर्न जानै पर्छ है?' मैले आमातिर हेरेर मुस्काउँदै भनें 'हजुर।'
२०७७ वैशाख १३ गतेदेखि मेरो ड्युटी थियो। ड्युटीको एक दिन अगाडि नै होटेलमा रिपोर्टिङ गर्नुपर्ने थियो। त्यो दिन मलाई जानु थियो। बिहानैदेखि मन भारी थियो। घरमा सबै मौन थिए। सबै जना भएको ठाउँमा गएर मुस्काउँदै भनें, 'आहा कति रमाइलो हुने भो। तीन हफ्ताको लागि बाहिर जाँदैछु। होटेलमा बस्छु, त्यहाँको मिठोमिठो खानेकुरा खान्छु, रमाइलो गर्छु।' श्रीमतीले हाँस्दै भनिन्, 'होटेलको खाना भनेपछि तपाईं फुरुक्कै।' तर यस्तो बेलामा परिवारसँग टाढा बस्नुको पीडा कसलाई थाहा न हुँदो हो। सायद म आफैंलाई ढाँटिरहेको थिएँ।
दिउँसोको बेला थियो। मेरो फोनमा घण्टी बज्न थल्यो। फोनमा हेरें। मेरो प्रोफेसर सरको फोन थियो। फोन उठाएँ। सरले मेरो हालखबर र कोरोना पोस्टिङको बारेमा सोध्नु भयो। अन्तिम सम्वादमा जे भन्नुभयो, सायद त्यसैको लागि उहाँले फोन गर्नुभएको थियो होला। उहाँले भन्नुभयो, 'बाबु तिमी ठूलो काम गर्न जाँदैछौ। यस्तो विपत्तिको बेला देश र जनताको सेवा गर्ने मौका जोकोहीले पाउँदैन। तिमी भग्यमानी छौ। आफ्नो काम जिम्मेवारीपूर्ण रुपमा गर्नु।' उचित समयमा उचित मार्गदर्शन गर्नु नै सायद गुरु शब्दको अर्थ होला।
बेलुकातिरको कुरा हो। मैले प्रशासनमा फोन गरेर सोधें, 'कति बजेसम्म आइपुग्नुपर्ने हो?' जवाफमा 'तपाईंको भोलि नाइट ड्युटी रहेछ, रातिको १२:०० बजेदेखि बिहानको ६:०० बजेसम्म। तपाईं भोलि आउँदा पनि हुन्छ बेलुका ६:०० बजेसम्म।'
घरमा यो कुरा सुनाएँ- आज होइन भोलि जानुपर्छ। सबै जाना खुसी भए। तर यो खुसी क्षणिक थियो। सत्यबाट कोही पनि भाग्न सक्दैन। सत्य यही थियो कि मलाई कोभिड-१९ को ड्युटी गर्न जानु थियो।
२०७७ वैशाख १३ गते। जानको लागि तयारी गर्दै थिएँ। मनमा अनेक प्रश्नहरु उठिरहेका थिए। डर पनि उत्तिकै लागिरहेको थियो। तर मैले आफूलाई सम्हालें। अहिले म कमजोर भएँ भने परिवारका सबै जना कमजोर हुन्छन्। एउटा युद्धमा जाँदै छु जस्तो आभास भयो। मैले नेपाली सेनालाई सम्झें। कताकता उनीहरु पनि युद्धमा जानुअघि यस्तै भावना आउँछ कि? मभित्र जे प्रश्न उठिराखेको छ, त्यस्तै प्रश्न उनीहरु भित्र पनि उठ्दो होला। मेरो त यो पहिलो पटकको अनुभव थियो। हाम्रा सेना युद्धमा जानुअघि परिवारसँग टाढा बस्नुको पीडा, फर्केर आउँदिन भन्ने डर, तर परिआएमा नेपाली आमाको लागि आफ्नो ज्यान दिने दृढतालाई म सलाम गर्न चाहन्छु।
बेलुकाको खाजा खाएर घरबाट बिदा भएँ। बुबाले होटेलसम्म पुर्याइदिन्छु भन्नु भयो। होटेल पुग्यौं। बुबाले म होटेलभित्र जानुअघि भारी स्वरमा भन्नुभो, 'तिमी आज डाक्टर नभएको भए यस्तो बेला म तिमीलाई जान दिन्नथिएँ होला। खैर, आफ्नो ध्यान रख्नु।'
म हुन्छ भन्दै होटेलभित्र पसें। होटेल भित्र बस्ने-खाने व्यवस्था राम्रो थियो। होटेलको रिसेप्सनमा गएर आफू आएको जानकारी गराएँ र आफ्नो कोठाको साँचो लिएँ। कोठामा गएँ, फ्रेस भएँ र खाना खाएर ११:४५ बजे रातिको ड्युटी जान तयार भएँ।
होटेलबाट अस्पतालसम्म जाने बसको व्यवस्था गरिएको थियो। राती ११:५५ तिर म कोभिड-१९ कोशी अस्पताल पुगें र मभन्दा अगाडि सिफ्टको ड्युटी डाक्टरसँग ह्यान्डओभर लिएँ।
त्यो दिनसम्म कुल २९ जाना कोरोना पोजिटिभ बिरामी भर्ना भइसकेका थिए। सबैको स्वस्थ्य अवस्था सामान्य थियो। डिस्चार्ज चाहिँ कसैको भएको थिएन। त्यतिखेर देशमा सबैभन्दा बढी कोरोना संक्रमित बिरामी हाम्रै अस्पतालमा भर्ना भएका थिए।
ड्युटीमा एउटा सिफ्टमा २ जना नर्स, १ जना प्यारामेडिक्स, १ जना कार्यालय सहायक र १ जना डाक्टर गरी ५ जनाको ड्युटी मिलाइएको थियो। सबै कोशी अस्पतालकै कर्मचारी थिए। सबैसँग परिचय गरियो। त्यो सिफ्टको इन्चार्ज म थिएँ। मैले सबैलाई सोधें, कोको डराएका छौं, हात उठाउँ। सबैले हात उठाए, मैले पनि उठाएँ। सबै जना एक अर्कातिर हेर्दै हाँस्न थाले। एक छिन एक आपसमा कुरा गर्यौं। एक अर्कोको साथ पाएर हौसला बढ्यो।
भित्र ग्रिन जोन र रेड जोन गरी २ वटा जोनमा छुट्टाएको थियो। बिरामीलाई रेड जोनमा राखिएको थियो। बिरामीको अवस्था बुझ्न म र दुई जाना नर्स रेड जोन भित्र छिर्न पिपिई लाउन थाल्यौं। पिपिई लगाउँदा एकदम गर्मी हुँदो रहेछ। मानौं ४०-४५ डिग्री सेल्सियसको गर्मी जस्तो। श्वास फेर्न पनि गाह्रो हुँदोरहेछ र चस्मामा वाफ पसेर हेर्न पनि गाह्रो हुँदो रहेछ।
हामी रेड जोनभित्र पस्यौं। अचानक मुटु एकदम जोडले ढुकढुक गरी धढ्कन थाल्यो। श्वास पनि लामोलामो फेर्न थालें। डरको पराकाष्ठा नाघिसकेको थियो। सायद यत्तिको डर जीवनमा कहिले पनि लागेको थिएन। रेड जोनभित्र छिर्दा भित्रको माहोल पनि हामी जस्तै थियो। सबै त्रसित थिए।
म भित्रको माहोल हेरेर विचार गर्दै थिएँ। मेरो नजर एउटा १७ वर्षको बालकमाथि पर्यो। ऊ झ्यालबाट बाहिर टोलाएर हेरिरहेको थियो। ऊ यस अस्पतालमा आएको ७ दिन बितिसकेको थियो। मैले उसको मनभित्र रहेका प्रश्न र भावना सुन्न र महसुस गर्न सकिरहेको थिएँ। मलाई मेरो जिम्मेवारीको बोध भयो। म केका लागि आएको हुँ र मैले के भूमिका खेल्नुपर्छ मलाई ज्ञान भयो।
यस्तो माहामारीको बेला परामर्श र आश्वासन नै सबैभन्दा ठूलो औषधि हो। स्वस्थ रहनको लागि मेन्टल हेल्थ पनि उत्तिकै आवश्यक छ, जति फिजिकल हेल्थ। बालक नजिक गएर सोधें, 'के भयो बाबु?' बाबुले जवाफमा भन्यो, 'बेलाबेलामा डर लाग्छ, त्यही भएर बेलाबेलामा झ्यालबाट बाहिरतिर हेर्ने गर्छु। म ठिक त हुन्छु नि डाक्टर साहेब? मेरो डिस्चार्ज कहिले हुन्छ?'
बालकको यति प्रश्न सुनेर मैले उसको मनोस्थिति बुझिसकेको थिएँ। त्यतिखेर मसँग बालकले सोधेको प्रश्नको जवाफ थिएन। डिस्चार्जको जटिल प्रक्रिया भनेर म बालकलाई अझै डराउन चाहन्नथिएँ। मैले हाँस्दै बालकलाई भने, 'किन डराएको बाबु? म तिम्रै लागि त आएको हुँ नि। कि मैले यो पिपिई लगाएको देखेर अर्कै ग्रहको हो की भनेर डराएको?' बालकले यो कुरा सुनेर छोटो र मिठो मुस्कान दियो। मैले बालकतिर हेर्दै भनें, 'डराउनु पर्दैन। भित्र एउटा मोबाइल राखिदिएको छु। तिमीलाई केही चाहिएमा, केही सोध्नु परेमा यसबाट फोन गर्नु।'
यति भन्दै म त्यहाँबाट बिदा भएँ र अर्को बिरामीकहाँ गएँ। बालकसँगको कुराकानीपछि मेरो मन हल्का भयो। डर कम भयो। त्यसपछि म कोभिड-१९ अस्पतालभित्र कामकाज गर्न कहिले पनि डराइनँ। यसका लागि म त्यो बालकलाई धन्यवाद दिन चाहन्छु। सबै बिरामी सहयोगी स्वभावका थिए, जसले गर्दा हामीलाई आफ्नो कामकाज गर्न धेरै कठिनाइ भएन।
सबै बिरामीको अवस्था बुझी बाहिर निस्कें। लगाएको पिपिई फुकालें। पूरा जिउ पसिनाले निथ्रुक्क भिजिसकेको थियो। म नुहाउनको लागि गएँ।
यसरी नै ७ दिनको ड्युटी कामकाज गर्दै बित्यो। १४ जना बिरामी डिस्चार्ज पनि भए। सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि आउनुभएको थियो बिरामीको बिदाई गर्न। मैले उहाँलाई सबै बिरामीको अवस्थाबारे जानकारी गराएँ। म त्यो दिन निकै खुसी थिएँ। १४ जाना बिरामी डिस्चार्ज हुनुको खुसी त छँदै थियो, साथै त्यो दिन मेरो ड्युटी पनि सकिएको थियो।
अब पालो थियो, १४ दिने क्वारेन्टाइनको। सबै जना आ-आफ्नो रूममा आफ्नो दिन बिताउँथे। कसैसँग पनि खासै भेटघाट हुँदैनथ्यो। खाना, खाजा, पानी सबै रूममै ल्याएर दिन्थ्यो। रूमभित्र एक्लै बस्दाबस्दा वाक्क लागिसकेको थियो। कति त्यही टिभी र मोबाइल चलाउँदै बस्नु
दिन गन्दै बस्थें, कैले घर जाने होला भनेर। घरबाट फोन आउँदा 'रमाइलो भैराछ यहाँ, सधै मिठोमिठो खान पाइन्छ' भन्थे। कहिलेकाहीँ त्यो बालकलाई सम्झेर झ्यालबाट टोलाएर बाहिरतिर हेरिराख्थें। त्यो बालकलाई आजसम्म पनि मैले बिर्सन सकेको छैन। सायद त्यो दिन त्यो बालकभित्र आफैँलाई पाएँ।
ड्युटीको १० दिनपछि पिसिआरको लागि स्वाब संकलन गर्न अस्पतालबाट टोली आएको थियो। अलिअलि डर लागिरहेको थियो। पिसिआर पोजिटि आयो भने के गर्ने? सबैको स्वाब संकलन भयो र भोलिपल्ट सबैको रिपोर्ट नेगेटिभ आयो। हामी एकदम खुसी भयौं। कोरोनामाथि जीत हासिल पारेजत्तिकै खुसी।
२०७७ जेठ २ गते घर फर्कने दिन। पिसिआरको रिपोर्ट नेगेटिभ र १४ दिनको क्वारेन्टाइन सकेपछि घर फर्किने दिन पनि आयो। १४ दिनको क्वारेन्टाइन १४ वर्षको वनबास जत्तिकै महसुस भयो। मनमा खुसी थियो साथै डर पनि थियो, समाजको प्रतिक्रियाबाट।
क्वारेन्टाइन बस्दा एक जना नर्सलाई घरभेटीले कोभिड-१९ मा ड्युटी परेकोले घरबाट निकालेको खबर सुनेर मलाई एकदमै दु:खी बनाएको थियो। हामीले आफ्नो ज्यान जोखिममा राखेर, घर परिवारलाई छोडेर देश र जनताको सेवा गर्दा समाजबाट यस्तो प्रतिक्रिया पाउँदा कस्तो हुँदो होला?
होटेलबाट घरसम्म पुर्याइदिन अस्पतालले गाडीको व्यवस्था मिलाइदिएको थियो। घरमा म भोलि आउँछु भनेको थिएँ। तर अचानक एक दिन अगाडि पुग्दा सबै अचम्मित भए। घर फर्किंदाको आनन्द र आफ्नो परिवारसँग हुनुको सुख म सायदै लेखेर व्यक्त गर्न सक्छु।
अहिल्यै यो युद्ध समाप्त भएको छैन। अहिले त खाली सुरुवात भएको हो। यसले कति क्षति गर्ने हो, कति जनाले ज्यान गुमाउने हुन्, कसैले अनुमान लाउन सक्दैन। त्यसैले कोरोनालाई हराउन हामी सबैको योगदान आवश्यक छ। सरकारले तोकेको लकडाउन पालना गर्न आवश्यक छ।
बाहिर निस्कँदा १-२ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क लगाएर निस्कने, बेलाबेलामा साबुन-पानीले हात धुने, खोक्दा, हाछ्युँ गर्दा आफ्नो मुख रुमाल अथवा कुहिनाले छोप्ने गर्नु आवश्यक छ। यी विधि नै कोरोना युद्धका महान अस्त्र हुन्।