भूपराज ढकाल
कोभिड–१९ ले टेक्नोलोजी र आधुनिकीकरणबाट मानव जीवनमा आउने समस्यालाई सजिलै पराजित गर्न सकिन्छ भन्ने प्रतिस्पर्धामा लागेको संसारलाई राम्रै पाठ सिकाएको छ। सम्पन्न र शक्तिको होडबाजी गर्दै आफूलाई सधैं माथिल्लो दर्जामा राख्ने राष्ट्रहरुलाई कोभिड–१९ ले वास्तविक धरातलमा उभ्याइदिएको छ। महामारीसँग लड्न हाम्रो स्रोत–साधन र पूर्वतायारी पर्याप्त छैन भन्ने प्रमाणित भएको छ।
स्वास्थ्य सेवाको हिसाबले अब्बल मानिएका राष्ट्रहरु नै आज सबैभन्दा ठूलो मानव क्षति व्यहोरिरहेको अवस्थामा विकासोन्मुख राष्ट्रहरुको व्यवस्थापन उनीहरुको तुलनामा अब्बल सावित भएको छ। आजको विश्व जनस्वास्थ्य व्यवस्थापन तथा उपचारात्मक व्यवस्थापन दुवै विधामा अपूर्ण सावित भएको छ।
इतिहासमा विभिन्न विश्वव्यापी महामारीहरुबाट गुज्रिसकेको अवस्थामा भविष्यमा पनि जनस्वास्थ्य संकटकाल आउनसक्ने अनुमान सहित आपूर्ति व्यवस्थापन, जनशक्ति, क्वारेन्टाइनन आइसोलेसन, अस्पताल जस्ता न्यूनतम मापदण्ड तयारी अवस्थामा नराख्नु नै सबैभन्दा ठूलो कमजोरी भएको छ।
अर्थतन्त्र
विश्वका अन्य राष्ट्रहरुसँगै नेपालको अर्थतन्त्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पार्ने निश्चित छ। विगत ३ महिनादेखि देशमा रहेका उद्योग, कलकारखाना र व्यवसाय ठप्प छ। जसका कारण जिडिपीमा नेपालमा ८–१० प्रतिशत र विश्वव्यापी ३ प्रतिशत ह्रास आउने अनुमान गरिएको छ। अब कोभिड–१९ तत्काल समाधान हुने सम्भावना नभएको अवस्थामा यसको दीर्घकालीन प्रभाव रहने देखिन्छ।
विश्व बैंकको तथ्यांक अनुसार नेपाल संसारका रेमिट्यान्स भित्र्याउने राष्ट्रहरुमध्ये १९औं स्थानमा पर्छ। सन् २०१८ मा नेपालले ८ दशमलव १ बिलियन डलर रेमिट्यान्स भित्र्याएको देखिन्छ, जुन कुल ग्राहस्थ उत्पादनको २८ प्रतिशत हुन आउँछ। नेपालीहरु कामका लागि जाने प्रमुख गन्तव्य भारत, खाडी मुलुक लगायतका देशहरु आफैं यस महामारीबाट ग्रसित छन् र त्यहाँ कम गर्दै आएका नेपाली स्वदेश फर्केको अवस्थामा नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्छ।
सन् २०१८ को तथ्यांक हेर्दा नेपालका लागि पर्यटन व्यवसायबाट २ दशमलव १ बिलियन डलर रेमिट्यान्स जम्मा भएको देखिन्छ, जुन नेपालको कुल ग्राहस्थ उत्पादनको ७ दशमलव ९ प्रतिशत हुन आउँछ। साथसाथै नेपालको पर्यटन व्यवसायले १ बिलियन मानिसलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको छ। नेपालमा मात्र नभई नेपालको पर्यटन व्यवसायले विश्व अर्थतन्त्रमा ८ दशमब ८ ट्रिलियन डलर योगदान गरेको तथ्यांकले देखाउछ।
कोभिड–१९ को प्रभाव केही वर्ष सामान्य हुने सम्भावना देखिँदैन। तसर्थ पहिलाकै अवस्थामा पर्यटकहरु ढुक्क भएर अन्य देश भ्रमण गर्ने अवस्था आउन लामो समय लागेमा नेपालको अर्थतन्त्रमा ठूलै प्रभाव पर्ने निश्चित छ।
निजी क्षेत्रको उद्योग–धन्दा तथा व्यवसाय बन्द भई पुनस्र्थापना हुन निकै समय लाग्ने र देशको ठूलो जनशक्ति बेरोजगार हुने अवस्था आएको छ। निजी उद्योगधन्दा तथा व्यवसायले सिर्जना गरेको रोजगारीको अवसर गुमाएका समूहलाई राज्यले रोजगारीको अवसर सिर्जना गर्न नसकेको अवस्थामा समाजमा धेरै किसिमका प्रतिकुल प्रभाव पर्ने देखिन्छ।
देशले यो अवस्थालाई अवसरको रुपमा लिई बेरोजगार र विदेशबाट फर्केका युवाहरुलाई कृषि आधुनिकीकरणमा लगानी गरी स्वरोजगार सिर्जना गर्ने, स्थानीय स्तरमा बजार व्यवस्थापन गरी कृषकलाई उत्पादनको उचित मूल्य प्रदान गर्ने, मझौला तथा साना उद्योग र व्यवसाय गर्न सस्तो ब्याजमा ऋण उपलब्ध गराउने, बेरोजगार युवालाई प्राविधिक ज्ञान, सिप प्रदान गरी आत्मनिर्भर बनाउने, पर्यटन व्यवसाय धरासायी हुनबाट जोगाउन आन्तरिक पर्यटन प्रवर्धन गर्ने योजना बनाई उचित कार्यान्वयन गर्न सके देश विकास सँगसँगै स्वाबलम्वी हुने अवसर कोभिड–१९ ले जुटाएको छ।
अन्य स्वास्थ्य समस्या तथा स्वास्थ्य सूचक
देशको सम्पूर्ण स्रोत–साधन कोभिड–१९ को व्यवस्थापनमा केन्द्रित हुँदा नेपालमा मृत्युको प्रमुख कारणको रुपमा रहेका अन्य स्वास्थ्य समस्याहरु बढ्न गई बाल मृत्यु, मातृ मृत्युसँगसँगै उपचारको अभावमा दीर्घ रोगहरुबाट मृत्यु बढ्ने अवस्था आउन सक्छ।
विगत लामो समयको अथक प्रयासमा नेपालले सुधार गरेको स्वास्थ्य सूचकहरु पुनः पहिलाको अवस्थामा फर्कन सक्छ। साथै कोभिड–१९ सँगसँगै अन्य स्वास्थ्य समस्याहरु जनस्वास्थ्य समस्याको रुपमा विकास भई नियन्त्रणभन्दा बाहिर जान सक्छ।
परिवार कल्याण महाशाखाको सूचना अनुसार गत २ महिनामा २४ जना महिलाको गर्भावस्थासँग सम्बन्धित कारणबाट मृत्यु भइसकेको छ। दादुरा आउटब्रेक, संक्रामक रोग र कुपोषणबाट बाल मृत्युदर बढ्न सक्छ। तसर्थ कोभिड–१९ व्यवस्थापनसँगसँगै अन्य अति अवश्यक स्वास्थ्य सेवा कार्यक्रमहरु पनि प्राथमिकताको रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ। अन्यथा स्वास्थ्यका सूचकहरुमा पाएको सफलता गुम्न सक्छ।
कोभिड–१९ ले गर्दा दैनिक जीवनयापनमा आएको त्रास र अभाव, बन्द भएको व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी गर्नेहरुको जीवनयापनको कठिनाइका कारण समाजमा मानसिक समस्या, घरेलु हिंसा तथा सामाजिक हिंसा बढ्ने अवस्था बढ्दै गएको छ। तसर्थ राज्यले ध्यान दिई समस्या समाधान र मनोसामाजिक सहयोगको तयारीमा पनि तत्काल विचार गरी व्यवस्थापकीय पक्षमा काम गर्नुपर्ने देखिन्छ। अन्यथा आत्महत्या, घरेलु हिंसा तथा सामाजिक हिंसा बढ्दै जाने र मानसिक असन्तुलन भएका व्यक्तिहरुलाई राज्यले पाल्नुपर्ने अवस्था आउन सक्छ।
महामारीमा स्वास्थ्य स्रोत–साधन व्यवस्थापन
नेपाल सरकारले कोभिड–१९ को नियन्त्रणमा भरमग्दूर प्रयास गर्दागर्दै पनि महामारी नियन्त्रण हुन सकेको छैन। महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति, नीतिनियमहरुमा समेत ध्यान दिन जरुरी देखिएको छ।
देशमा रहेको स्रोतसाधन तथा प्राविधिक मानव संसाधनको समेत उचित तथ्यांक उपलब्ध नहुनुले योजनामा प्रभाव पार्छ। महामारी नियन्त्रण नीति–नियमहरुको अभावमा सही दिशानिर्देश नहुने र वैज्ञानिकभन्दा पनि व्यावहारिक तरिकाले रेस्पोन्स हुँदा नियन्त्रणभन्दा बाहिर जान सक्छ।
विश्वव्यापी महामारीमा सबै देशहरु आफ्नै समस्यासँग जुधिराखेको अवस्थामा आफैं स्वाबलम्वन हुन जरुरी हुन्छ। सरकारले आउन सक्ने महामारीहरुलाई लक्षित गरी क्वारेन्टाइन, आइसोलेसन समुदाय स्तरसम्म जनशक्ति र उपचार आवश्यक हुनेहरुको लागि अस्पताल पूर्वाधार स्थानीय स्तरसम्म तयारी अवस्थामा राख्न जरुरी छ भन्ने पाठ कोभिड–१९ महामारीले सिकाएको छ।
उपकरणको सवालमा महामारीको बेला खरिद प्रक्रियामा जाँदा उपकरणहरुको उपलब्धतामा हुने ढिलाइको कारण पनि निदान तथा व्यवस्थापनमा प्रभाव पर्ने र हतारमा गर्नुपर्ने खरिदमा मूल्य र गुणस्तरमा सम्झौता हुने हुँदा पूर्वाधार र उपकरणको पूर्वतयारीमा बस्नुपर्ने र औषधिमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरी स्वाबलम्वन हुन आवश्यक हुन्छ। केन्द्रदेखि स्थानीय स्तरसम्म दक्ष जनशक्ति, स्रोतहरु सुनिश्चित तथा ‘सप्लाई चेन म्यानेजमेन्ट’ नर्देशिका तयार गरी सधैं तयारी अवस्थामा बस्नुपर्ने महसुस गराएको छ।
हाम्रो जस्तो समाज जहाँ संयुक्त परिवारमा बसोबास हुन्छ र बसोबासको शैली फरक छ। यस्तो समाजमा कोभिड–१९ फैलिनका लागि सहयोगी सिद्ध हुन सक्छ। तर पनि संक्रमण दर हेर्दा होम क्वारेन्टाइनको अवधारणासँगै परीक्षण दायरा बढाउदै स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुमा सामान्य उपचार आवश्यक रहेकाहरुलाई व्यवस्थापन गर्ने, अस्पताल भर्ना भई केयर गर्न आवश्यक बिरामीलाई मात्र हस्पिटल रेफेर गर्ने र व्यापक रुपमा जनस्वास्थ्य सम्बन्धी जनचेतनाका क्रियाकलाप समुदाय स्तरमा गर्नुको विकल्प देखिँदैन।
(ढकाल जनस्वास्थ्य विज्ञ हुन्)