डा दिवस अधिकारी
नेपालमा दन्त चिकित्सकको संख्या तुलनात्मक रुपमा अन्य चिकित्सकभन्दा थोरै छ। यस क्षेत्रका आफ्नै किसिमका समस्याहरु छन्। नीतिगत समस्यादेखि लिएर रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक, योग्यता नपुगेका मानिसहरुले चिकित्सक सरह सेवा दिनु यस क्षेत्रका पुराना समस्या हुन्।
कोरोना महामारीले गर्दा सम्पूर्ण क्षेत्र प्रभावित भएको बेला दन्त चिकित्सामा पनि यसले असर पारेको सहजै अनुमान लगाउन सकिन्छ। कोरोना संक्रमणका किटाणु (भाइरस) हरु मुख्य रुपमा नाक तथा मुखबाट सर्ने भएकाले दन्त चिकित्सकहरु उच्च जोखिममा हुने कुरा निश्चित नै छ। तसर्थ उनीहरुको सम्पर्कमा आउने बिरामीहरु पनि संक्रमित हुने सम्भावना बढी हुन्छ। त्यसैले चुनौतीपूर्ण यस समयमा दन्त चिकित्सकहरुले निकै सावधानी अपनाउनुपर्ने देखिन्छ।
चन्द चिकित्सकले डब्लुएचओ, एडिए तथा एनडिए जस्ता मार्गदर्शक तथा नियमनकारी निकायले तय गरेका मापदण्ड तथा गाइडलाइनहरु पूर्ण रुपमा पालना गर्ने काम गर्नुपर्छ। उपचारमा प्रयोग हुने औजार तथा उपकरणहरुको उचित स्टेरिअलाइजेसन तथा डिसइन्फेक्सन गरेर आफ्नो कार्य क्षेत्रलाई समेत संक्रमणको सम्भावनाबाट टाढा राख्न जरुरी छ।
अहिलेको अवस्था एउटा अवसर पनि हो। हामीमध्येका अधिकांश दन्त चिकिन्सकले उचित स्टेरिअलाइजेसन तथा डिसइन्फेक्सनका तरिकाहरु नअपनाई दन्त सेवा दिइरहेका छौं। हामीले यसलाई सुधार गर्नुपर्छ र कोरोनाको महामारीको अन्त्य भएपश्चात् पनि सुरक्षा र संक्रमण न्यूनीकरणका उपायहरुलाई आफ्नो दैनिक सेवा प्रवाहको समयमा अपनाउनु पर्छ।
अहिलेको समय आममानिसमा मुख तथा दाँतसँग सम्बन्धित विषयहरुमा जनचेतना जगाउने अवसर पनि हो। दाँतमा लाग्ने किरा र गिजाका समस्याहरु मुख भित्रको राम्रो सरसफाइले धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ। त्यसैले जनसाधारणलाई सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सञ्चारका अन्य माध्यमहरुबाट मुखको उचित सरसफाइ अपनाउन प्रोत्साहन गर्न जरुरी छ। यस्तो बानीले महामारीको अवस्थामा दाँत तथा मुखसँग सम्बन्धित समस्याबाट अस्पताल धाउनुपर्ने आकस्मिक अवस्थालाई रोक्न मद्दत पुर्याउँछ।
डेन्टल क्लिनिकको स्थापना गर्न ठूलो पूँजी लगानी गरिएको हुन्छ। नयाँ क्लिनिक सञ्चालन गर्ने कति चिकित्सकहरुले बैंकको ऋण सहायता पनि लिएका छन्। सानो स्थानमा सञ्चालन गर्न नपाइने भएकाले क्लिनिकहरु मापदण्ड अनुरुप सञ्चालन गरेकाहरुलाई चर्को कोठा भाडा तिर्नुपर्ने हुन्छ।
अहिलेको महामारीमा भाडा तिर्न नसकेर आफ्नै क्लिनिक भएका दन्त चिकित्सकहरु सानो र सस्तो ठाउँको खोजीमा छन् भने केही क्लिनिक सञ्चालन नै पूर्ण रुपमा बन्द गर्नेसम्मको पनि सोच्दै छन्। अरुले सञ्चालन गरेको क्लिनिकमा काम गर्नेहरुको जागिर गुम्ने सम्भावना पनि ठूलो छ। तसर्थ, यस विषयलाई गम्भीरता पूर्व सरोकारवाला निकायले मनन् गर्न जरुरी छ।
यस विषम परिस्थितिमा सम्बन्धित सबै निकाय तथा संगठनहरुले योग्य दन्त चिकित्सकलाई एक्यवद्ध गर्न आवश्यक छ। प्रचलित कानुन र सरकारले तोकेको मापदण्ड विपरीत सञ्चालनमा रहेका क्लिनिकलाई नियन्त्रण गरी दक्ष जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न सम्बन्धित सबैले भूमिका निर्वाह गर्नुपर्छ। यसले सेवाको गुणस्तर बढाउने र पेसाको मर्यादालाई उच्च राख्न आवश्यक सहयोग गर्नेछ।
कोरोनाको महामारी फैलने क्रम नरोकिएमा देशमा स्वास्थ्यकर्मीको अभाव सिर्जना हुने सम्भावना पनि छ। यदि त्यस्तो अवस्था आएमा दन्त चिकित्सकलाई उचित निर्देशन र परामर्श सहित स्वास्थ्य जनशक्तिको रुपमा प्रयोग गर्न सकिन्छ तथा सबै दन्त चिकित्सक त्यसको लागि तयार रहनुपर्छ।
तसर्थ, महामारीको वर्तमान अवस्थामा चुनौती थुप्रै छन् तर अवसरका ढोका पनि प्रशस्त छन्। यो अवसरको उचित प्रयोग गरेमा दन्त चिकित्सकीय सेवामा दीर्घकालीन सुधार ल्याउन सकिन्छ। सबै चिकित्सक, सरोकार निकाय र सरकारी संयन्त्रले यो कुरालाई मनन गरी आफ्नो स्थानबाट उचित भूमिका निर्वाह गर्नु पर्छ।