डा दिनेश गौतम
चीनबाट युरोप, अमेरिका हुँदै दक्षिण एसिया र विशेषगरी १ सय ३० करोड जनसंख्या भएको विशाल भारतमा कोरोना संक्रमण फैलिसकेको थियो। भारतसँग सीमा जोडिएका रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी लगायतका जिल्लाको उपचार केन्द्रको अवस्था बोकेको लुम्बिनी प्रदेशिक अस्पतालमा रहेका हामीले सुरुदेखि नै यो क्षेत्रमा फैलिन सक्ने कोरोनाको प्रकोपलाई राम्ररी बुझेका थियौं।
भविष्यमा हुनसक्ने प्रकोपलाई मध्यनजर गरी बुटवल धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पताल चैत १९ गतेदेखि नै बिरामी भर्नाको लागि तयारी अवस्थामा थियो। कोरोना संक्रमित क्रिटिकल बिरामीका लागि भेन्टिलेटर सहितको सघन उपचार कक्ष पनि तयारी अवस्थामा थियो।
युरोप, अमेरिकामा दैनिक सयौँ मानिसको ज्यान गएको र डाक्टर–नर्सले रातदिन खटेर बिरामीको सेवा गरेको देख्दा मनमा एक किसिमको डर थियो। तर, डरभन्दा बढी त्यस्तोे अवस्था आएमा निडर भएर आत्मबलका साथ बिरामीको उपचारमा होमिने एउटा दृढता पनि उत्तिकै थियो।
कोभिड प्रकोप राष्ट्रहरुले हस्पिटलमा गर्ने उपचार पद्घतिहरुको बारेमा हामी मेडिकल विभागमा पनि घन्टा्रै छलफल गथ्र्यौं। आफ्नाआफ्ना अनुभव साथै विभिन्न देशले अपनाएका उपचार पद्घति र भारतको एम्स अस्पताल तथा विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई हामी विशेष चासो दिन्थ्यौँ।
लुम्बिनी प्रदेशिक अस्पताल कोरोना विशेषका फोकल पर्सन डा सुर्दशन थापा, वरिष्ठ डा नुन्दुप्रसाद पाठक, सहित मेडिकल डिपार्टमेन्टका सबै फिजिसियनको संलग्नतामा हामीले ट्रिटमेन्ट प्रोटोकल र इमिडेट रेस्पोन्स टिमको सेड्युल तयारी अवस्थामा राखेका थियौं। जसअनुसार क्रिटिकल केयर (आइसियु) चाहिने कोभिड–१९ केस आउने बित्तिकै म लगायत एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा समिर आचार्य तयारी अवस्थामा थियौँ।
जेठ १४ गते बिहान साढे ८ बजेतिर फोकल पर्सन डा सुदर्शन थापाको फोन आयो। उहाँले कोरोना संक्रमित एउटा सिरियस बिरामी आउँदै हुनुहुन्छ र तत्कालै धागो कारखानास्थित आइसियु कक्षमा गएर बिरामीलाई म्यानेज गर्नु भन्नुभयो। खाँदै गरेको चिया बीचैमा छोरेर तुरुन्त गाडी निकाली म अस्पताल हानिएँ। डर, कौतुहलता र आत्मबलको एकै पलमा अनुभव गर्दै अस्पताल पुगें र आइसियुको गेट अगाडि गाडी रोकें।
हामीले अनेकौं रोगका क्रिटिकल केयर गरेका छौं तर यो अवस्था अलि बेग्लै थियो। युरोप अमेरिकामा कोरोना संक्रमित मरेपछि आफन्त शव बुझ्न नआई भागेको सुनिरहेका थियौं। त्यो कुरा पनि दिमागमा घुमिरहेको थियो। यो कस्तो रोग हो, छट्पटाएर श्वास छोड्न लागेको मानिसलाई समात्न पनि जान नमिल्ने अथवा डराउनुपर्ने। मरेपछि अन्तिम संस्कारका लागि मलामी पनि जान नपाइने, यो कस्तो बिडम्वना! एउटा डा भइसकेपछि ममा भरिएको आत्मबलदेखि म आफैं अन्योल थिएँ।
छेउमा पिपिई सेट सहितका एम्बुलेन्स चालक, आइसियु गेट अगाडि भुइँमा लडेको श्वास घिटीघिटी भएको अवस्थामा बिरामी। बिरामी देखि १ मिटर जति पर रुँदै, कराउँदै बिरामीका बुबा, भित्र चेन्जिङ रुममा हस्याङफस्याङ गर्दै पिपिई लगाउँदै ड्युटीका नर्सहरु। म तुरुन्त चेन्जिङ रुममा गएँं। सक्दो सुरक्षित तरिकाले केही मिनेटमै व्यक्तिगत सुरक्षा लगाएर लगाएर तुरुन्त बिरामीलाई बोकी बिरामीलाई उचालेर आइसियु बेडमा सारियो।
यति बेलासम्म एनेस्थेसियोलोजिस्ट डा समिर पनि आइसक्नु भएको थियो। बिरामीको अवस्था ज्यादै नाजुक थियो। अक्सिजन लेभल ७० प्रतिशतभन्दा पनि कम, बेहोस अवस्था। हाई फ्लो अक्सिजन दिँदा पनि अक्सिजनको मात्रा बढ्न नसकेपछि र ब्लड प्रेसर र नाडीको गति बढ्न नमानेपछि तुरुन्त भेन्टिलेटरमा राख्ने सल्लाह भयो।
पिपिई सेट र त्यसको माथि भएको फेससिल्डले गर्दा काम गर्न असहज अवस्था थियो । जसोतसो एकोहोरो मिहिनेतले हामी बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिन भेन्टिलेटरमा राख्न सफल भयौं। मुटुको चाल र प्रेसर बढाउने सुई लगायत विभिन्न औषधि उचित समयमा दिन सफल भएकोले बिरामीको श्वासप्रश्वास एसएओ २ मा सकारात्मक परिवर्तन आई अक्सिजन लेभल ८० प्रतिशत हुँदै ८५ र १०० प्रतिशतमा पुग्दा त हामीलाई आफ्नै रोकिएको छातीमा श्वास भरिएको अनुभूति। कताकता बिरामीलाई बचाइएला कि भन्ने आशा पलायो। भोक तिर्खाको त अनुभव नै भएन।
जब साढे २ बजे आइसियुबाट बाहिर निस्क्यौं, मोबाइलमा घरबाट धेरै पटक फोन आएको रहेछ। कल ब्याक गर्दा मेरो सानो छोराले उठाएर ‘बाबा तपाईं घर नआई किन होटलमा जानुभएको?’ भन्दा अलिकति मन कुँडियो तर ध्यान जति सबै अस्पतालमा बिरामीको अवस्था के भयो भन्नेमा नै थियो। साँझसम्म बिरामीको अक्सिजन लेभल सकारात्मक नै भए पनि बेलुकी अलि खस्किएको खबर आयो।
डा समिर र म तुरुन्त अस्पताल गयौं। औषधि मिलायौं र राति साढे १ बजेसम्म आइसियुमा बसिराख्यौं। ड्युटीको मेडिकल अफिसरलाई आवश्यक निर्देशनपछि केही भएमा तुरुन्त खबर गर्नु भन्दै हामी राति २ बजे आराम गर्न गयौँ। करिब ४८ घन्टाको भेन्टिलेटर सपोर्टपश्चात् बिरामीले आफैं श्वासप्रश्वास गरेको देख्दा हामीलाई ठूलो लडाईं नै जितेको जस्तो अनुभव भयो।
भेन्टिलेटरबाट बिरामीलाई झिकियो। टाइप १ डाइबेटिज र किटोएसिडोसिस पनि भएको हुनाले उनको रगत र मिर्गौलामा सुधार आउन बाँकी थियो। क्रमिक रुपमा सुधार हुँदै आज १६औँ दिनमा कोरोनालाई जितेर तथा डाइबेटिज कम्प्लिकेसनबाट बिरामीलाई बचाउँदा मन ज्यादै खुसी तथा डाक्टर हुनुमा गौरवको अनुभूति भयो।
कोभिड–१९ पोजेटिभ निदान भइसकेर ज्यादै क्रिटिकल अवस्थामा आएको बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गरी सन्चो बनाएर घर पठाएको यो सम्भवतः नेपालको पहिलो घटना हो। बिरामीको उपचारमा संलग्न फ्रन्टलाइन डाक्टरको नाताले मलाई यो सौभाग्य प्राप्त भयो।
यो केवल एउटा बिरामीलाई सञ्चो बनाएर घर पठाउने कुरा मात्र नभई एउटा सन्देश पनि थियो। हौसला र निडरतापूर्वक काम गरियो भने मुत्युको मुख नजिक पुगिसकेको कोरोना बिरामीलाई पनि बचाउन सकिने रहेछ भन्ने उदाहरण तथा सकारात्मक भावनाको अनुभव गरियो।
अन्त्यमा कोभिड–१९ को विश्वव्यापी माहामारीमा आफ्नो शरीरको ख्याल नगरी फ्रन्टलाइनमा रहेर प्रत्यक्ष बिरामीको सम्पर्कमा बसेर काम गर्ने सबै चिकित्सक साथीहरु, नर्सहरु पारामेडिक्स र सहयोगी सबैलाई धन्यवाद भन्न चाहन्छु र बिरामी निको पार्नु जस्तो सुखद अनुभव अरुभन्दा पृथक र प्रबल भएको कुरा सबैमा बाँड्न चाहन्छु।
(डा गौतम लुम्बिनी प्रदेशिक अस्पतालका फिजिसियन हुन्)