डा सुवास प्याकुरेल
भनिन्छ, अवसरले चुनौती आफैंसँग बोकेर आउँछ र त्यही चुनौती छिचोल्ने प्रयासमा थप अवसर थपिन सक्छन्। नेपालकै पहिलो चिकित्सा शिक्षा प्रदायक संस्था अर्थात् इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) का आशा र चुनौतीका चाङलाई तराजुमा राखिदिने हो भने यतिखेर चुनौतीकै पल्ला भारी देखिन्छ।
आइओएम एसियाकै राम्रो मेडिकल कलेज हो रे भनी धेरै अगाडिदेखि नै आम जनमानसमा समेत चर्चा हुने गर्दथ्यो। यहाँको करिकुलम आफैंमा नवीन र व्यावहारिक भएको भनी धेरैतिरबाट प्रसिद्धि पाएको भन्ने यथार्थ पनि हामी सबैले सुनेकै हो। समुदाय-केन्द्रित सिकाइ, कडाभन्दा कडा छान्ने र छाँट्ने जाँचका कारण यसको प्रतिष्ठामा कहिल्यै आँच आउन पाउन्नथ्यो।
विभिन्न तप्काका ६३ किसिमका विधामा पढाइ हुने र त्यति धेरै बिरामीलाई सेवा दिने अस्पताल अटाएको आइओएम आफैंमा भौतिक क्षेत्रफलमा सानो भए पनि यसले पुर्या एको योगदानको नैतिक क्षेत्रफल भने आजपर्यन्त फराकिलो देखिन आउँछ।
तर, केही समययता आइओएमको बारेमा राम्रो समाचारभन्दा नराम्रो समाचारले उछिन्न थालेको झैँ लाग्छ। पदका लागि हुने राजनीतिक भागबण्डाले यसको साखमा डण्डा बर्साउन थाल्यो, खिचातानी र गुटबन्दीले यसको सार्वजनिक छवीमा मन्दी ल्याउन थाल्यो। 'जेजे हुने हो हुन्छ यहाँ, पर्दा पछाडि नै' भन्ने गीतमा व्यक्त शब्दजस्तै पर्दा पछाडिका खेलाडीको गेमप्लानमा पो पर्योा कि भन्ने प्रकृतिको सोच आउन थालिसकेको बुझिन्छ, यसको जग हाल्न, गारो लगाउन र रंगरोगन गर्न मननयोग्य भूमिका खेलेका संस्थापक हस्तीहरुमा। त्यस्तैत्यस्तै विश्लेषणले डेरा जमाउन थालेको छ, आइओएमबाट पढेका डाक्टर, नर्स तथा स्वास्थ्य पेसाकर्मीहरुमा पनि।
आजभन्दा ४८ वर्षअघि खुलेको यस संस्थाले सुरुमा अहेव, अनमी तह हुँदै एकपछि अर्को भर्याङको खुड्किलो उक्लँदै हेल्थ एसिस्टेन्ट लगायत नर्सिङ र अन्य स्वास्थ्य क्षेत्रका विधाहरुको सर्टिफिकेट तहको अध्यापन गराउन थाल्यो र खुलेको ६ वर्षमा नै आफ्नो प्रगतिको गतिमा सिधै चार नम्बर गियर लगाउँदै एमबिबिएस कार्यक्रम सुरु गर्न सफल भयो। अन्य ब्याचलर तहका विधालाई पनि उत्तिकै प्राथमिकतामा राख्दै नेपालको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने र यहींको हावापानी सुहाउने विभिन्न थरी ह्युमन रिसोर्स तयार गराएर समग्र नेपाली चिकित्सा जगतकै मेरुदण्ड बनेको ओजपूर्ण इतिहास र गर्विलो प्रस्तुति छ आइओएमसँग।
छोटो-छिटो बोल्नु पर्दा चिकित्सा शिक्षामा प्राय: जुनसुकै तह र तप्काको पहिलो कार्यक्रम सुरु गरेको 'ट्रेण्ड सेटर' संस्था हो भनी ट्यागलाइन जोडन सकिन्छ आइओएमका बारेमा। यस संस्थाले नयाँ कार्यक्रम र विधाको पढाइ सुरु गर्न लाग्दा यस संस्थाका पूर्व डिनहरु हाँसोका पात्र बन्नु परेको र ठूलो डोजको खिसिट्युरी हुने गरेको भन्ने तितो सत्य उहाँहरुका विभिन्न अन्तर्वार्ता र अन्तर्क्रियामा व्यक्त हुने गरेको छ।
डिएम र एमसिएच जस्ता चिकित्सा जगतका एपेक्स कार्यक्रम सुरु गर्न खोज्दाको समयताका 'कुन प्रोफेसरले डिएम र एमसिएच गरेको छ र त्यत्रो हेभी वेट कोर्स पढाउन सक्नलाई' भनी कडा टिप्पणी उठेकै हो। सुरु गर्दाको बखतमा सबै काइदा कानुनको पूर्ण पालना गर्ने हो भने सबैभन्दा पहिले एक कक्षा पढ्ने विद्द्यार्थिको कापी कसले जाँच्यो होला, सबैभन्दा पहिलो पिएचडीको गाइड को थियो होला, पहिलो प्लेन उडाउने पाइलटको लाइसेन्स थियो कि थिएन भनी खोज्नुपर्ने हुन्छ। सायद जत्रो इफेक्ट, उत्रै साइड इफेक्ट भनेझैँ चिकित्सा जगतका इतिहास निर्माताहरुले 'ठूलै याक्सन, ठूलै रियाक्सन' भनी त्यसलाई सहजताका साथ नै लिनुभएको हुनुपर्छ।
दायित्वमा राष्ट्रिय बोझ बोकेको र सेवामा सामाजिक ओज बोकेको यस्तो संस्थामा पहिलो पटक महिला डिनले कार्यभार सम्हाल्नुभएको छ। यत्रतत्र महिला नेतृत्वको चर्चा चुलिएको बखतमा परेको यो संयोग आइओएमका हकमा पनि लागू हुन्छ भन्ने आशा धेरैले राखेका छन्। प्राडा दिव्यासिंह शाह प्रधानमन्त्रीको निजी चिकित्सक भएको कारण यो गिफ्ट मिलेको हो कि भनी संशय राख्नेहरुलाई उहाँका विगतदेखि वर्तमानका शैली हेर्दा उहाँको मूल ध्येय नै पढ्ने, पढाउने अनि आफ्नो विभाग र संस्था अघि बढाउनेमै दत्तचित्त चिकित्सक हो भनी थप प्रस्ट्याइराख्नु पनि नपर्ला।
सर्वसाधारण बिरामी जाँचेको र विद्द्यार्थीका कापी जाँचेको फलकै आधारमा उहाँको नियुक्ति भएको हो नकि प्रधानमन्त्रीको किड्नी जाँचेको आधारमा भनी बुझ्न जोकोहीलाई खासै कठिन छैन। जानकारी भएसम्म तीन जना नेपाली महिला चिकित्सक स्वास्थ्य सचिवको भूमिकामा समेत पुगेको देखिए तापनि चिकित्सा क्षेत्रमा महिला नेतृत्व आजपर्यन्त औंलामा गन्न सकिने स्थितिको पृष्ठभूमिमा उहाँको पदार्पण आफैंमा पृथक सकारात्मक सन्देश हो र सँगै नेपाली स्वास्थ्य क्षेत्रमा सम्भावनाका नयाँनयाँ द्वार खुल्दै जाने संकेत पनि हो।
निजी मेडिकल कलेजलाई समेत सम्बन्धन दिइएको हालको अवस्थामा आइओएमलाई अवसर एक बढेको मान्ने हो भने असर दुई बढेको बुझिन्छ। दृश्य बलभन्दा अदृश्य बल बढी सलबल हुनसक्ने अहिलेको परिदृश्यमा डा दिव्यासँग चुचुरोमा पुगिसकेका प्रष्ट पाँच चुनौती छन्। पहिलो, आइओएमको गुमेको गरिमा आफ्नो कार्यकालभरिमा कसरी फर्काएर ट्रयाकमा ल्याउने? दोस्रो, नीति र कूटनीति छिर्नुपर्ने संस्थामा राजनीतिले जकड्ड्याउँदै लगेको नरमाइलो स्थितिबाट कसरी छुटकारा दिने? तेस्रो, ग्लोबल मुभमेन्टसँग ताल मिलाउने गरी सेवा र करिकुलमलाई कसरी आधुनिकीकरण गर्दै जाने? चौथो, क्षेत्रफलको अभावमा खुम्चिँदै गएको भान हुने स्थितिलाई सम्बोधन गर्न अन्यत्र भए पनि कुन स्थानतिर जग्गा प्राप्ति गरेर राख्ने? पाचौं, आइओएमको गुरुयोजना बनाउँदै कसरी यसलाई मेडिकल युनिभर्सिटीको मार्ग प्रशस्त गर्ने?
आशा छ, उहाँकै पालामा नेपालकै चिकित्सा क्षेत्रको पिलर र नेपालीको ठूलो हिलरका रुपमा रहेको यस संस्थाप्रति कसैले किलर सोच राख्ने दुस्साहस नगरोस् र आइओएमको नाम मात्रै सुन्दा पनि एक छुट्टै आदरभाव र तरंग सिर्जना हुन सकोस्, पहिलेपहिलेको जस्तै।