डा मुकेश जोशी
नेपाल लगायत सम्पूर्ण विश्व नै कोरोना महामारीको चपेटामा परेको अवस्था विदितै छl युरोप तथा अमेरिका जस्ता महाशक्ति राष्ट्रमा समेत यो भाइरसले ठूलो क्षति गरेको छ। हाल ती देशहरुमा भाइरसको प्रकोपमा केही कमी आएको देखिए तापनि नेपाल र अन्य विकासोन्मुख राष्ट्रहरुमा अहिले कोरोना तीब्र गतिमा बढिरहेको छ।
नेपालमा कोरोना संक्रमण छिटो फैलन नदिन सरकारबाट अपनाइएको लकडाउन अहिले केही कुखुलो बनाइएको छ। कोभिड महामारीका दौरान मैले पनि देशको लेवेल-२ हस्पिटलमा काम गरेको अनुभवका आधारमा यो रोगको अवस्थाबारे मानिसको विचार बुझ्न र नियाल्न पाएको छु। आफ्नो अनुभवको आधारमा केही लेख्ने जमर्को गरेको छु।
नेपालमा कोरोनाको सुरुवात
नेपालमा कोरोनाको पहिलो संक्रमण ९ माघ २०७६ मा देखिए पनि यसको त्रास जनता माझ चैत १० गतेबाट फैलिएको थियो, जब फ्रान्सबाट आएकी एक जना महिलामा संक्रमण पुष्टि भयो । तत्कालीन अवस्थामा चीन, इटाली, इरान जस्ता देशहरुमा यसको संक्रमण तथा मृत्युदर समेत बढिरहेको र छिमेकी राष्ट्र भारतमा पनि प्रभाव देखिइराखेको थियो।
यस दौरान सरकारले भारत र चीनसँग नाका सिल गर्ने, यातायत र हवाई यात्रामा रोक लगाउने, मानिसको भीड हुने ठाउँ जस्तै: होटेल, रेस्टुरेन्ट, स्विमिङ पूल बन्द गर्ने जस्ता कदम चालेर देशब्यापी रुपमा चैत ११ गते बाट लकडाउनको मोडालिटी ल्याएको थियो। आम जनमानसमा कोरोनको बारेमा जनचेतना फैलाउने काम तिब्रताका साथ भयो, जसका लागि फोन, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनले ठूलो भूमिका खेलेका थिए।
त्यस समयमा मानिसबीच एउटा त्रासको वातावरण पनि बनिरहेको थियो। किनभने देशमा कोरोनाको संक्रमण बढ्दो क्रममा थियो र विश्व चित्रमा भयानक रुप लिइसकेको थियो।
म पहिलो दिन कोरोना ज्वरो क्लिनिकमा काम गर्दा मनमा एक प्रकारको डर महसुस गरिरहेको थिएँ। कतिपय आफन्त र साथीभाइले त्रसित फोन गरेका र कतिपयले राजीनामा दिनसम्म सुझाव दिएका थिए।अझ त्रसित त तब भइयो, जब चैत १४ गते मैले काम गर्ने अस्पतालमा पहिलो संक्रमण पुष्टि भयो। जनतामाझ त्रास सिर्जना भएर हो वा चेतनाले, सुरुवाती केही दिन लकडाउनको पालना अनुशासित रुपमा भएको महसुस गरेको थिएँ। तर समय बित्दै जाँदा लकडाउनको अवस्था पनि खस्किँदै गएको थियो।
हालको अवस्था
आजको दिनसम्म आइपुग्दा औपचारिक लकडाउनलाई खुकुलो बनाउने भन्दै उद्योग, कलकारखाना, कार्यालय र बजार धेरै खुलिसकेको अवस्था छ। यसका साथसाथै भारत लगायतका अन्य देशमा रहेका नेपालीहरु स्वदेश फर्किने संख्या दिनप्रतिदिन बढ्दो छ। विदेशबाट आएका नेपाली नागरिकको उचित व्यवस्थापन गर्नुको साटो नेपालमा त्यस्ता नागरिकलाई न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टाइनमा राखेको पाइन्छ। यस्तो अवस्थामा कोरोनाको टेस्ट धेरै हुनुपर्ने र कोरोना भएका र नभएका मानिसलाई छुट्याई सोहीअनुरुप उचित व्यवस्थापन हुनुपर्ने हुन्छ। बिडम्वना के छ भने सरकारले उल्टै टेस्टको दायरा घटाएको, क्वारेन्टाइन र अस्पतालमा उचित व्यवस्थापन मिलाउन नसकेको हुनाले स्वास्थ व्यक्तिमा पनि संक्रमण हुने र संक्रमणको संख्या वृद्धि हुने जोखिम देखिएको छ।
व्यवस्थापनको कमजोरीसँगै संक्रमण बढाउने अर्को कारण कोरोनाप्रति मानिसको मानसिकता हो। सुरुवाती अवस्थाबाट आजसम्म आइपुग्दा आम जनमानसमा कोरोनाप्रतिको सोच र धारणा धेरै परिवर्तन भएको पाइन्छ। अहिले मानिसले यस रोगबाट बच्न अपनाउनुपर्ने सामान्य सावधानीहरु जस्तै: भीडभाड नगर्ने, मास्क लगाउने, हात समय-समयमा धुने, दूरी कायम गर्ने जस्ता कार्य पनि नगरेको पाइन्छ।
हुन त नेपालमा कोरोनको संक्रमण र मृत्युदर अरु राष्ट्रको तुलनामा कम भएर त्यस्तो सोचको विकास भएको हुन सक्छ। तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा टेस्ट नै कम भइरहेका कारण संक्रमितको संख्या कम देखिएको हुनसक्ने र हाम्रै घर समाजमा यो रोग जरा गाडेर बसेको नहोला भन्न सकिँदैन। सरकार र व्यवस्थापन पक्षबाट उचित सहयोग नभएको अवस्था रहिरहँदा आफ्नो मानसिकता र मनोबल पनि उच्च नभए यस कोरोना महामारीले भोलिको दिनमा विस्फोटक रुप लिन सक्छ।
अहिलेको तथ्यांक हेरेर यस महामारीलाई सामान्य रूपमा लिएर आफू तथा आफ्ना आफन्त, साथीभाइ र समाजलाई जोखिमा पार्नुभन्दा व्यक्तिगत तर्फबाट हुने सामान्य सावधानी (मुख र नाक छोप्नेगरी मास्क लगाउने र पटकपटक साबुनपानीले २० सेकेन्डसम्म हात धुने) मात्रै अपनाए पनि यस रोगसँग लड्ने एउटा महत्वपूर्ण अस्त्र हुनसक्छ।