डा अर्जुनहरि रिजाल
गिजासम्बन्धी समस्या वयस्क मानिसमा मात्र नभई बच्चामा पनि देखिने गर्छ। तर बच्चामा देखिने समस्या वयस्क मानिसको भन्दा फरक हुन्छ। गिजासम्बन्धी समस्या मुख्यतया ब्याक्टेरियाले हुन्छ। जसका कारण गिजा र दाँतलाई बाँधेर राख्ने अन्य संरचनाहरुमा समस्या देखापर्छ।
कारण
हरेक पटक खाना खाएपछि खाना दाँतमा टाँसिने हुन्छ। हामीले खाएको खाना दाँतको सतहमा एक किसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केही सेकेन्डमा नै पातलो तह बन्छ। यस प्रक्रिया २-४ घण्टादेखि सुरु भएर करिब ४ दिनसम्ममा दाँतबाट ननिस्किने दन्तेलेउमा परिवर्तन हुन्छ। यही दन्तेलेउ नै गिजासम्बन्धी समस्याको मुल कारण हो।
यदि दन्तेलेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्तेपत्थरमा बदलिन्छ, जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरीरका विभिन्न अङ्गमा हुने पत्थरी जस्तै हुन्छ। उक्त दन्तेपत्थरले अझै धेरै दन्तेलेउ जम्मा गराउन मद्दत गर्छ। जसले गर्दा गिजाको संक्रमण देखा पर्छ। बच्चामा देखिने गिजासम्बन्धी समस्याको प्रमुख कारण भनेको दन्तेलउ नै हो।
जोखिमजन्य कारण
- वंशाणुगत गुण
- दाँत र गिजाको बीचमा अड्किने खानेकुरा
- मुखबाट श्वास फेर्ने समस्या, जसले दाँत तथा गिजालाई सुख्खा बनाउने गर्छ
- पौष्टिक खानेकुराको अभाव
- शरीरमा भएका अन्य रोग जस्तैः मधुमेह
- शरीरमा हुने हर्मोनको परिवर्तन
- दाँत किट्ने समस्या
लक्षण
- रातो भएर गिजा सुन्निनुका साथै मन्द गतिमा दुखाइको महसुस हुनु
- दाँत ब्रस गर्दा रगत आउनु
- गिजा दाँतको सतहबाट क्रमशः तल सर्दै जानु
- दाँतहरु बीचको दूरी सामान्यभन्दा बढ्दै जानु
- श्वास गन्हाउनु
- गिजा र दाँतको बीचबाट पिप आउनु
कसरी पत्ता लगाउने?
माथि लेखिएका लक्षणहरु देखिएमा सकेसम्म चाँडै दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसमक्ष लगिहाल्नुपर्छ। रोगसम्बन्धी सम्पूर्ण जानकारी लिइसकेपछि गिजासम्बन्धी समस्याको बारेमा जानकारी प्राप्त हुने गर्छ। कुनैकुनै अवस्थामा एक्स-रे पनि लिनुपर्ने हुनसक्छ।
उपचार
- सामान्य दाँतको सफाइ
- डिप क्लिनिङः धेरै नै समस्या भएको खण्डमा गिजा भित्रैबाट जराको भाग सफा गर्नुपर्ने हुन्छ।
- पिप जम्मा भएको अवस्थामा औषधि सेवन गर्नुपर्छ।
- गिजाको आकार एकदमै बढेको अवस्थामा सर्जरी पनि गर्नुपर्ने हुनसक्छ।
कसरी बच्ने?
- दिनको दुई पटक उपयुक्त तरिकाको प्रयोग गरेर फ्लोराइडेटेड टुथपेस्टको सहायताले ब्रस गराउने।
- बच्चाको उमेर अनुसारको ब्रसको साइजको प्रयोग गराउने।
- दाँतको बीचमा फसेको फोहोर निकाल्नको लागि डेण्टल फ्लसको नियमित प्रयोग गराउने
- हरेक पटक खानेकुरा खाएपछि राम्रोसँग मुख कुल्ला गराउने
- नियमित रुपमा दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परीक्षण गराउने
- पौष्टिक खानेकुरा खुवाउने तर चिनीजन्य खानेकुरा कम खुवाउने
दाँत तथा गिजासम्बन्धी समस्या मुख्यतया हेलचेक्र्याईँका कारण हुन्छ। त्यसैले आफ्ना बालबच्चाको मुख तथा दाँतसम्बन्धी स्वास्थ्यको बारेमा बेलैमा सचेत हुनुपर्छ। रोग लागिसकेपछि उपचार गराउनुभन्दा पनि रोग नै लाग्न नदिनु बुध्दिमानी हुन्छ।