डा लता गौतम, डा जया सत्याल
घटना १
हप्तामा ६ दिन अस्पताल, होम भिजिट, कन्फरेन्स, मिटिङ। यस्तैयस्तै व्यस्त दिनहरुबाट एक दिन भए पनि छुटकारा पाउनुपर्यो भन्ने ठानेर आकाश आफ्ना समकक्षी साथीहरुसँग रमाइलो शुक्रबार मनाउन धुलिखेल रिसोर्ट पुग्छन्। सबै साथीहरु आ–आफ्नै सुरमा नाच्दै, गाउँदै चिसो पेय पदार्थ पिउँदै थिए। आकाश पनि गिलासमा राखिएको चिसो बियर एक–दुई घुट्की पिउँदै थिए। उनलाई एक्कासि टाउको भारी भए जस्तो, निद्रा लागे जस्तो, आँखा धमिलो भए जस्तो महसुस हुन्छ। साथीहरुले उनलाई तुरुन्त अस्पताल लगे। अस्पतालमा परीक्षण पश्चात् कसैले आकाशको पेय पदार्थमा केही मिसाएको हुनसक्ने चिकित्सकले बताए र यस परीक्षणको लागि उनको रगत, पिसाब विधि विज्ञान प्रयोगशालामा पठाइयो।
घटना २
आदर्श र अस्मिता दाजुबहिनी हुन्। उनीहरुका बाबुआमा प्रायः कामको सिलसिलामा बाहिर फिल्डमा गइरहन्छन्। दाजु आदर्श १२ कक्षा उत्तीर्ण भइसकेका थिए र उनी अस्ट्रेलिया जाने तयारीमा जुटेका थिए। उता बहिनी अस्मिता भने कक्षा ८ मा पढ्दै थिइन्। अस्मितालाई दाजु आदर्शको जिम्मा लगाउँदै बाबुआमा काममा जान्थे। अस्मितालाई पनि दाजुसँग बस्न मनै लाग्दैनथ्यो। उनको मनमा डर र त्रास पैदा हुन्थ्यो। दाजुले बहिनीलाई कहिले जुसमा, कहिले दूधमा त कहिले खानामा बहिनीले थाहा नपाई निद्राजनक औषधि मिसाइदिँदा रहेछन् र बहिनीलाई यौनहिंसा गर्दा रहेछन्। औषधिको प्रभावको कारण अस्मिताले कुनै पनि प्रतिकार गर्न नसक्ने हुँदिरहिछन्। एकदिन अस्मिताले यो कुरा बुबाआमालाई भन्छिन् तर उल्टै बुबाआमाले आदर्श सँगसँगै लागेर तँ पढ्दिनस्, परीक्षामा पनि राम्रो अंक ल्याउँदिनस्, अझ दाइलाई नै जे पायो त्यही भन्छेस् भन्दै हप्काउँदा रहेछन्। आफ्नै दाजुबाट दिनहँुजसो यौन हिँसा खेपिरहेकी अस्मिता अहिले कक्षा १० मा पढ्दैछिन् भने उनका दाजु केही महिनाअघि अस्ट्रेलिया पुगेका छन्।
घटना ३
धर्मप्रति अन्धभक्त राधा विवाह भएको ११ वर्ष बितिसक्दा पनि कुनै सन्तानको जन्म नभएका कारण धेरै चिन्तित थिइन्। सन्तान प्राप्तिको सपना पूरा गर्न उनी जसले जे भन्यो त्यही गर्थिन्। पूर्वमा एक प्रसिद्ध बाबा छन् र नेपालका उच्च पदस्थ व्यक्तिहरु पनि उनका भक्तहरु रहेका छन्। उनले जे भन्यो त्यही वरदान दिन्छन् भन्ने राधाका श्रीमान्ले साथीभाइहरुबाट सुनेका थिए।
सन्तानको झिनो आशा बोक्दै उनीहरु ती बाबाको दर्शनको लागि पुगे। बाबाले भनेझैं झन्डै एक लाखको होमपूजा, चन्दा दान पनि गरे। सधैं स्नान गरी शुद्ध भएर, फलाहार मात्र गरी बाबासँगै राधाले एकान्तमा ध्यान गर्नुपर्ने कुरा ती बाबाले गरेका थिए। एक दिन धेरै घन्टासम्म पनि राधा बाबासँग ध्यान गरेर बाहिर नआएपछि उनका श्रीमान् किन ढिलो भयो भन्दै ध्यान स्थल पुग्दा तीनछक परे। राधा अर्धचेत अवस्थामा थिइन् भने ती बाबा राधाको शरीरमाथि नानाथरी यौनक्रियाकलाप गरिरहेका थिए। होसमा आएपछि राधाले बाबाले अनुहारमा केही छर्किदिएको र नाकबाट सन्तानप्राप्ति हुन्छ भन्दै एक सुगन्धित वस्तु सुँघ्न दिएको र त्यसपछि के भयो भन्ने उनलाई केही थाहा नभएको जानकारी दिइन्।
माथि उल्लेखित प्रतिनिधि घटना नेपाली समाजमा दिनदिनै घटिरहेका छन्। त्यस्ता घटनामध्ये एकदमै कम घटनाहरु मात्र बाहिर आउँछन्। अन्य घटनाहरु यसै हराएर जान्छन्। माथिका सबै घटनाहरु औषधि वा औषधिजन्य यौन हिंसा (अर्थात् ड्रग प्यासिलेटेड सेक्सुअल असल्ट) सँग सम्बन्धित छन्, जसलाई हामी छोटकरीमा डिएफएसए पनि भन्छौं।
के हो डिएफएसए?
पीडित पक्षले आफैंले मदिरा वा अन्य औषधिजन्य पदार्थ खाएको अवस्थामा अथवा अरु कसैले पीडित पक्षको ज्ञान विना खाद्य वा पेय पदार्थमा विभिन्न प्रकारका निद्राजन्य औषधिहरुको प्रयोग गरेको स्थितिमा मञ्जुरी नभई घटनालाई प्रतिकार गर्न नसकेको अवस्था गरिने यौनजन्य हिंसालाई डिएफएसए भनिन्छ। यौनजन्य हिंसालाई साइलेन्स भ्वाइलेन्ट इपिडेमिक भनिएको छ।
डिएफएसएका लागि के प्रयोग गरिन्छ?
फरेन्सिक साइन्स इन्टरनेसनलमा अगधा ग्रेल र डा लता गौतमले गर्नुभएको रिभ्यु आर्टिकल अनुसार विभिन्न देशहरुमा डिएफएसएका लागि प्रयोग भएका औषधिजन्य पदार्थहरु फरकफरक पाइएको छ। विधि विज्ञान प्रयोगशालामा पीडित पक्षको पिसाब, रगत परिक्षण तथा उनीहरुले खाएका पेय र खाद्य पदार्थको परीक्षण गर्दा देशपिच्छे फरकफरक पदार्थको प्रयोग भएको देखिएको छ।
धेरैजसो एसियन देशहरुमा अल्कोहलको प्रयोग भएको पाइन्छ। बंगलादेशमा बेन्जोडाइजिपिन समूहका औषधिहरुको प्रयोग बढी मात्रामा देखिएको छ। त्यस्तै पाकिस्तान, श्रीलंकामा पनि बेन्जोडाइजिपिन समूहका औषधिहरुको विषाक्त लक्षण बढी भेटिएको छ। नेपालमा डिएफएसएका लागि मुख्य रुपमा अल्कोहल र गाँजाको प्रयोग बढी हुने गरेको देखिएको छ।
यस्ता डिएफएसएमा प्रयोग हुने पदार्थहरु कुनै पनि पेय वा खाद्य पदार्थमा सजिलै घुलमिल हुने रंगहीन र गन्धहीन हुन्छन्। त्यस्तै कतिपय अवस्थामा सुगन्धित क्लोरोफर्म, जाइलिन, बेन्जिन जस्ता पदार्थहरु कपडामा भिजाएर मुख वा नाकको माध्यमबाट प्रयोग भएको पाइएको छ। नेपालमा डिएफएसएजन्य घटनाहरुमा प्रायः अल्कोहल, गाँजा र कतिपय निद्राजनक औषधिहरु प्रयोग भएको देखिन्छ।
डिएफएसए घटनाका पीडित पक्षको अवस्था कस्तो हुन्छ?
डिएफएसएको लागि प्रयोग गरिने वस्तुहरु रंगहीन र गन्धहीन भएको हुँदा पीडित पक्षलाई खाद्य वा पेय पदार्थमा के मिसाएको छ भन्ने पत्तै हुँदैन। अल्कोहल भने पीडित पक्ष आफैंले सेवन गरेको पनि हुनसक्छ तर यी अल्कोहल, लागुपदार्थ वा औषधिजन्य पदार्थको विषाक्तताको अवस्थामा पीडित पक्षलाई चेतना हुँदैन र पीडित पक्ष कुनै पनि प्रकारको प्रतिकार गर्न नसक्ने अवस्थामा हुन्छ। यी औषधिजन्य पदार्थहरुले एम्नेसिया अर्थात् स्मृति नाश गराउने हुँदा घटना घटेदेखि भोलिपल्ट बिहान नहुञ्जेल पीडित पक्षलाई कुनै कुराको याद हुँदैन वा हो कि होइन जस्तो दोधार हुन्छ। यसैको फाइदा पिडक पक्षले लिने गर्छन्। केवल आफूले लगाएका लुगाफाटोमा, दाग लागेको, फाटेको देखेर वा शरीरमा भएका निलडाम, कोतरिएका घाउ चोटपटकको आधारमा मात्र पीडित पक्षलाई ज्ञान हुन्छ।
डिएफएसए रिपोर्टिङको अवस्था कस्तो छ?
विश्वमा नै हेर्ने हो भने पनि डिएफएसएका घटनाहरु अत्यन्त न्यून मात्रामा मात्रै रिपोर्ट हुने गर्छन्। मित्रराष्ट्र भारतमा पनि डिएफएसएसहित यौनजन्य हिंसाहरु केवल १० प्रतिशत मात्र रिपोर्ट हुन्छन्। त्यस्तै संयुक्त राज्य अमेरिकामा २५ प्रतिशत, संयुक्त अधिराज्यमा १७ प्रतिशत मात्र रिपोर्ट हुने गर्छन्। नेपालमा कतिपय यस्ता घटनाहरु रिपोर्ट हुन्छन् भन्ने आधिकारिक तथ्यांक खासै उपलब्ध छैन।
डिएफएसए घटना रिपोर्ट नहुनुका कारण
– पीडित पक्षको आत्मविश्वासको कमी
– मनमा डर र चिन्ता
– समाजको डर
– औषधिको प्रभावको कारण के घटना घटेको थियो भनी बिर्सनु
– आफूलाई नै दोषी ठान्नु (आफूले लगाएका लुगा, मेकअप, आफ्नो आनिबानीलाई दोष दिनु)
– प्रहरी प्रशासन तथा न्यायालयप्रति विश्वास नहुनु
– परिवारको सहयोग नहुनु।
नेपालमा डिएफएसएको अवस्था
विश्वमा हेर्ने हो भने सन् १९९० सालतिर मात्र डिएफएसएको धारणा आएको देखिन्छ। विगत केही वर्षदेखि नेपालमा पनि यौनजन्य हिंसाहरु बढ्दै गएको भए तापनि डिएफएसए हाम्रो लागि नयाँ विषय हो। सन् २०१८ सालदेखि डा लता गौतमको नेतृत्वमा संयुक्त अधिराज्यको एन्जेला रुस्किन युनिभर्सिटी र अन्नपूर्ण न्युरो अस्पतालको समन्वयमा डिएफएसएसम्बन्धी कार्यशाला गोष्ठीहरु आयोजना भएपछि न्यायक्षेत्र, चिकित्सा क्षेत्र, पत्रकारिता जगत, प्रहरी प्रशासन, विद्यार्थीहरु बीचमा यो विषयको चर्चा सुुरु हुन थालेको छ।
नेपालमा गरिएको डिएफएसएको अनुसन्धानबाट के देखियो?
सन् २०१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न कलेजका विभिन्न संकायका १८ वर्षभन्दा माथिका ४१८ जना विद्यार्थीसँग डिएफएसए सम्बन्धी सर्वेक्षण गरिएको थियो। त्यस अनुसन्धानबाट प्राप्त परिणाम अनुसार झन्डै ५३.३ प्रतिशत सहभागीहरुले डिएफएसएको बारेमा थाहै नभएको बताएका छन्। त्यस्तै सहभागीमध्ये ३.४ प्रतिशतले डिएफएसएको घटना आफूले अनुभव गरेको र १४.९ प्रतिशत सहभागीहरुले अन्य चिनेजानेको व्यक्तिहरुमा डिएफएसएको घटना देखेको बताएका छन्। सहभागीहरुमध्ये ५०.७ प्रतिशतले अल्कोहल, २०.४ प्रतिशतले बेन्जोडाइजिपिन समूहका औषधि, १६.१ प्रतिशतले गाँजा र १०.५ प्रतिशतले क्लोरोफर्मको प्रयोग हुने बताएका छन्। त्यस्तै पहिलो पटक २.७ प्रतिशत पुरुष सहभागीहरुले पनि आफूहरुले डिएफएसएको सिकार हुनु परेको बताएका छन्।
डिएफएसएबाट बँच्न के गर्ने?
डिएफएसएको घटनाबाट प्रायः महिलाहरु पीडित रहेका छन्। अनुसन्धानको आँकडाले बताए अनुसार पनि ४ जना महिलामध्ये एक जना महिलामा यौन हिंसा हुने गर्छ भने हरेक ३ जना छात्रामध्ये एक जना छात्रा र हरेक ८ जना पुरुषमध्ये १ जना पुरुष छात्र कुनै न कुनै रुपमा यौन हिंसाको सिकार हुन पुग्छन्। त्यस्तै अर्को एउटा अनुसन्धानले के देखाएको छ भने यस्ता घटनाहरु जुनसुकै समयमा जोसुकैलाई जस्तोसुकै अवस्थामा घट्न सक्छ। अपराधी पिडक पक्षले यस्ता घटना घटाउने क्रममा पीडित पक्षको ड्रेसअप, मेकअप केही पनि हेरेको हुँदैन।
प्रायः डिएफएसएका घटनाहरु चिनेजानेका व्यक्तिहरुले नै गराएका हुन्छन्। यसर्थ डिएफएसएका घटना न्यूनीकरण गर्न निम्न कुरामा ध्यान दिनुपर्छः
– जनचेतनामा अभिवृद्धि
– विद्यालय, कलेजको पाठ्यक्रममा यस्ता विषयहरु समावेश गरी पठनपाठन गराउने
– पार्टी, क्लब जाँदा चनाखो बन्ने, आफू कहाँ जाने हो कतिखेर फर्कने हो परिवारका सदस्यहरुलाई थाहा दिने
– पार्टी, क्लब, समारोहमा जाँदा आफ्नो खाद्य र पेय पदार्थ राम्ररी हेर्ने, बीचमा उठ्नुप¥यो भने पेय पदार्थ सकाएर मात्र उठ्ने वा फेरि पेय पदार्थ लिनुपरेमा नयाँ पेय पदार्थ मात्र लिने
– खाद्य वा पेय पदार्थको प्रयोगपश्चात् टाउको दुख्ने, रिंगटा लाग्ने वा आँखा धमिलो भए आफ्ना चिनेजानेकालाई जानकारी गराई तुरुन्त चिकित्सकको परामर्शको लागि जाने
– वन स्टप एप्रोच अन्तर्गत देशभरिमा नै सेक्सुअल एसल्ट रिफेरल सेन्टर खडा गर्ने र त्यहीँबाट चिकित्सा र कानुनी परामर्श हुनुपर्ने।
(डा गौतम युकेस्थित एग्लिया रस्किन विश्वविद्यालय र डा सत्याल अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा कार्यरत छन्।)