क्षीतिज कार्की
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा पनि ठूलो असर गरिसकेको छ। तर कोभिड–१९ को व्यवस्थापन र रोकथाममा भने जनचाहना र जनस्वास्थ्यको मुल प्रवाह अनुसार स्वास्थ्य मन्त्रालय हिँड्न नसकेको कुरा जगजाहेर छ।
यो रोगको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय तथा सरकार चुक्दै गइरहेको छ। पैसाको लालचमा लोभीपापीले मानिसको जीवनसँग नै खेलिरहेका छन् भन्ने आवाजहरु नेपथ्यमा सुनिइरहेको छ। तर यसको समाधानका उपाय खोज्ने काम पनि सरकारी निकायकै हो।
बिरामीको संख्या दिनदिनै बढ्दै छ र यो समुदायसँगै टोलटोलमा पुग्ने डर छ। हुन त बाहिरबाट सल्लाह र उपदेश दिए अनुसार काम गर्न सजिलो छैन तर पनि नगरी नहुने केही कामहरु भने गर्न सकिन्छ।
सरकारले गरेको लकडाउन कोभिडसँग लड्नका लागि हुनुपर्ने थियो। तर तीन महिनासम्म बिना तयारी जनतालाई थुनेर राख्दा देशलाई कति धेरै क्षति पुगेको छ त्यो त सायद कल्पना नै गर्न सकिँदैन। विभिन्न तथ्यहरुले के देखाएको छ भने मुलुकमा आत्महत्याको दर बढेको छ। २०० प्रतिशतभन्दा धेरै सुत्केरीको मृत्यु भएको छ। आधाभन्दा बढी बालबालिका नियमित खोपबाट बन्चित छन्। भोकै मर्ने कति छन्, उपचार नपाई मर्ने कति छन्। साथै शिक्षा, रोजगारी गुमाएका लाखौं छन्। अब मानिसहरु आफू र आफ्नालाई बचाउन ज्यान जोखिममा राखेर काममा निस्कन थालेका छन्। त्यसको मतलब सरकार र जनता सबै चनाखो हुनुपर्छ।
पहिले नै गर्नुपर्ने धेरै कामहरु जस्तैः क्वारेन्टाइनको उचित व्यवस्थापन, कन्ट्याक्ट टे«सिङ तथा बिरामीको पहिचान गरी गरी आइसोलेसन तथा अस्पतालमा उपचारको व्यवस्था गर्ने जस्ता कामहरु अब पनि धेरै सुधार्न सकिन्छ। चोकचोकमा पिसिआर मेसिन राख्नु भनेको अर्को थुप्रै अर्ब सक्नु मात्रै हो। मेसिन मात्रै भएर हँुदैन, त्यसको लागि किट, प्रयोग गर्न मानव संशाधन, सुरक्षित स्थान, नियमित मर्मत सम्भार पनि गर्नुपर्छ। त्यसको भार जनताले धेरै समय व्यहोर्नु पर्नेछ।
अस्पतालको आइसोलेसनमा बिरामीहरु झाडापखालाले समेत जीवनजल नपाएर मर्नुपर्ने भनेको लज्जास्पद अवस्था हो। अहिलेको परिस्थितिमा यीभन्दा उत्तम उपाय अरु हुन सक्दैनन्। त्यसैले अहिले पनि समय छँदै कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनमा सही उपाय अवलम्बन गर्नु नै आजको आवश्यकता हो।
अहिले तत्कालै नगरी नहुने काम भनेको सीमा र विमानस्थलमा व्यवस्थित र सुरक्षित क्वारेनटाइन, सामाजिक दूरी कायम गर्ने (कम्तीमा २ मिटर), लक्षण देखिएकालाई अन्यसँग नराख्ने, तालिम प्राप्तहरुबाट कन्ट्याक्ट ट्रेसिङ र व्यवस्थापन गर्ने, अस्पतालमा आएको व्यक्तिमा लक्षण देखिए पिसिआर टेस्ट गर्ने र अन्य रोग भएकाको उपचार लापरबाही बिना गर्ने कामहरु गर्नुपर्छ। जनचेतना फैलाउन सबै संयन्त्रको प्रयोग गर्ने र सिकिस्तहरुलाई तत्काल अस्पताल र भेन्टिलेटरको व्यवस्था गरी सघन उपचार गर्न जरुरी देखिन्छ।
त्यसका साथै मानसिक स्वास्थ्य र आर्थिक क्रियाकलापमा (रोकथामका सुरक्षित नियमहरु पालना गरी) समेत विशेष ध्यान दिनु जरुरी छ। हाम्रो सरकारी संयन्त्र तथा अन्य सहयोगीहरुको साथमा सच्चा मन, विज्ञानलाई आधार मानी र तथ्यांकको विश्लेषण गरी काम गरे हामी अवश्य उठ्ने छौं र डटेर कोभिड–१९ सँग सामना गर्न सक्छौं।