डा हरि रिजाल
दीर्घकालीन दुखाइ र डिप्रेसन दुवै विश्वव्यापी अशक्तताका प्रमुख कारण हुन्, किनकि यी दुवै समस्या सामान्यतया: परम्परागत उपचार ढाँचामा निर्मुल हुँदैनन्। यस्ता समस्याको समाधानका लागि केटामिन प्रविधि प्रभावकारी मानिएको छ। यो प्रविधिले डाक्टर, बिरामी र बिरामीको हेरचाह गर्नेहरूबीच ठूलो भूमिका खेलेको देखिन्छ।
सबएनेस्थेटिक केटामिन इन्फ्युजनको नियममा केटामिनको कम मात्र प्रयोग गरिन्छ। डोज र उपचारको अवधि रोगको आधारमा निर्भर गर्छ। केटामिनले एक घण्टामै टुटेका कनेक्सनहरू मर्मत गर्दै दिमागमा न्युरोन वृद्धिलाई उत्प्रेरित गर्ने गर्छ।
केटामिनले मस्तिष्क न्युरोट्रोफिकका कारक र मस्तिष्कमा न्युरोनको वृद्धिलाई उत्तेजित गरेर काम गर्ने गर्छ। यो न्युरोनल विकास र बढेको न्युरोनल इन्टरकनेक्टिभिटीले लामो दुखाइका लक्षणहरूलाई कम गर्छ।
केटामिन इन्फ्युजनपछि बिरामीले तत्काल राहतको महसुस गर्छन् र स्वास्थ्यमा क्रमिक सुधार हुन्छ। यी सुधारहरूमा सशक्तीकरण, बढी ऊर्जा, नकारात्मक विचारहरू क्रमिक रुपमा कम, दुखाइ राहतको दिशामा नयाँ प्रगति र जीवनमा सकारात्मक भावनाहरूको वृद्धि भएको अनुभव हुने गर्छ।
बिरामीहरूले आश्चर्यजनक रुपमा नतिजा प्रस्तुत गर्छन् कि केटामिन थेरापीले उनीहरूको अस्तित्वको लागि नयाँ अध्याय खोल्यो र अब उनीहरू स्वस्थ जीवनमा फर्कन सक्छन्।
मनोरोगको लागि केटामिन इन्फ्युजन प्रभावकारी मानिन्छ। धेरै व्यक्तिले उपचारका विभिन्न विधि अपनाएर डिप्रेसनसँगको संघर्ष जारी राख्छन्। दैनिक गोली औषधि वा इलेक्ट्रो सक थेरापीको तुलनामा केटामिन अधिक प्रभावकारी हुने पछिल्ला अध्ययनहरुले देखाएका छन्।
पार्किन्सनसँग सम्बन्धित पुरानो दुखाइबाट हुने उदासिनतालाई समेत यस प्रविधिले कम गर्ने गरेको छ। केटामिन उपचार गराउँदा बिरामीले चिन्तित विचारबाट उत्साहपूर्ण मुड अनुभव गर्न सक्छन्। र, रोग निको हुनेमा बिरामीलाई आशावादी बनाउँदै लैजान्छ।
पोस्टपार्टम डिप्रेसन एक प्रकारको मुड डिसअर्डर हो। यो समस्या बच्चा जन्मेपछि विकास हुन्छ। अत्यधिक उदासी, कम ऊर्जा, चिन्ता, चिडचिडापन र निद्रा वा खाने बानीमा परिवर्तन आउनु यसका लक्षण हुन्। यस प्रकारको पोस्टपार्टम डिप्रेसन लागि पनि इन्रा नभेनस केटामिन एउटा आधारभूत उपचार विधि हो, जसले नयाँ आमाहरूलाई आफ्नो खुसी र ऊर्जा फिर्ता दिन सक्छ।
यो उपचार विधि पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डरमा पनि प्रभावकारी मानिन्छ। पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर एक मानसिक स्वास्थ्य अवस्था हो, जुन चकित बनाउने, स्तब्ध पार्ने, डरलाग्दो, खतरनाक घटनापछि सुरू हुन्छ। दुःस्वप्न, गम्भीर चिन्ताका साथै घटनाको बारेमा अनियन्त्रित विचारहरू आउने यसका लक्षण हुन्।
साथै यो विधि ओब्सिसिभ कम्पल्सिव डिसअर्डर (ओसिडी) मा पनि उत्तिकै प्रभावकारी मानिन्छ।
केटामिनले मानिसमा आउने आत्महत्याका विचारहरुलाई समेत मन्थर पार्छ। विभिन्न मनोवैज्ञानिक समस्याबाट ग्रस्त बिरामीहरूमा आत्महत्या गर्ने विचार आउँछ। केटामिन थेरापीको प्रयोगबाट आत्मघाती विचारहरू उन्मुलन गर्न सकिन्छ।
पुरानो दुखाइको लागि केटामिन इन्फ्युजन
मेरुदण्डको चोटले पक्षघातका विभिन्न चरण निम्त्याउँछ। यस्ता बिरामीमा दुखाइ निकै हुन्छ र धेरै वर्षसम्म रहिरहन सक्छ। मेरुदण्डमा चोटपटक पछिको दुखाइमा केटामिन एलोडाइनिया कम गर्न र न्युरोप्याथिक पीडाको लागि उपयोगी छ।
केटामिनले हर्पेस जोस्टरपछि न्युरोनको उत्तेजना कम गर्छ र यसबाट हुने दुखाइ निर्मुल गर्न मद्दत गर्छ। सबएनेस्टेटिक केटामिन इन्फ्युसनहरू दीर्घकालीन माइग्रेन भएका व्यक्तिहरूमा पनि लाभदायक हुन्छ।
फाइब्रोमायाल्जिया र क्यान्सरमा पनि प्रभावकारी
केटामिनले फाइब्रोमाइल्जिया बिरामीमा केन्द्रीय संयन्त्रलाई लक्षित गर्छ। मांसपेसी हाइपर अल्जेसिया र मांसपेसीको दुखाइ केटामिनले कम गर्छ। मोर्फिन एनाल्जेसिकले काम नगरेका क्यान्सरको दुखाइमा पनि केटामिन प्रयोग गरिन्छ।
अन्त्यमा, केटामिन विभिन्न प्रयोगका अलावा दीर्घकालीन दुखाइमा प्रयोग गर्न मिल्ने प्रभावकारी दबाई हो। सम्बन्धित दुखाइ विशेषज्ञ चिकित्सकको परामर्शमा यसको प्रयोग गरेमा पुरानो दुखाई, मानसिक समस्या लगायत क्यान्सरका दुखाइहरुमा पनि सकारात्मक प्रभाव ल्याई बिरामीको दुखाइ कम गर्न सकिन्छ र उनीहरुको जीवनलाई सहज बनाउन सकिन्छ।