काठमाडौं - अमेरिका नेपाल मेडिकल फाउण्डेशनले काठमाडौं उपत्यकाका तीन वटा अस्पताललाई पावर्ड एयर प्यूरिफाइङ रेस्पिरेटर पिएपिआर ( प्यापर ) उपलब्ध गराएको छ।
कोरोना संक्रमितको उपचारका लागि सहयोगी हुने भन्दै फाउण्डेशनले वीर, पाटन र त्रिवि शिक्षण अस्पताललाई प्यापर उपलब्ध गराएको हो। आईसियुमा लामो समयसम्म पिपिई लगाएर काम गर्नुपर्ने चिकित्सकका लागि यो सहयोगी हुने अमेरिका नेपाल मेडिकल फाउण्डेशन नेपालका अध्यक्ष डा भूपेन्द्र बस्नेतले बताए।
यी तीन वटा अस्पताललाई दुई/दुई वटा प्यापर उपलब्ध गराएको उनले जानकारी दिए । काठमाडौं उपत्यका बाहिरका अस्पतालमा पनि ६ वटा प्यापर वितरण गर्ने फाउण्डेशनको तयारी छ।
विराटनगर अस्पताल र नेपालगञ्ज अस्पतालमा प्यापर वितरण गर्ने योजना भएको अध्यक्ष बस्नेतले बताए । फाउण्डेशनले १२ लाखमा १२ वटा प्यापर अस्पतालमा वितरणका लागि खरिद गरेको थियो।
