काठमाडौं- सरकारले कोभिड-१९ को प्रदेश र जिल्लामा स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरमा प्रदेश निदेशनालय र जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई समेत समावेश गर्ने जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको उक्त प्रस्ताव मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्वाव स्वीकृत गरेको जानकारी दिए।
सरकारले कोभिड-१९ को व्यवस्थापन गर्न गत चैत १६ गते संघ, प्रदेश र जिल्लास्तरमा कोभिड-१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो।
प्रदेशस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सिस्टममा स्वास्थ्य निर्देशनालयका प्रमुख र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सिस्टममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पनि समावेश हुनेछन्।