डा सुनिल सापकोटा
रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरसका विषयमा पनि लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। अर्कोतिर, यो भाइरसको भ्याक्सिन र औषधि पत्ता लागिसकेको छैन। यस्तो अवस्थामा यो भाइरस लामो समयसम्म लागि रहनसक्छ। तसर्थ, यो भाइरससँग जोगिनु नै बुद्धिमानी हो।
कोरोना भाइरस रोकथामका उपायहरूको साथमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि अति आवश्यक छ। यो महामारीको अवस्थामा मानसिक तनाव पनि ठूलो समस्या बन्दै गइरहेको छ। तसर्थ, तनाव व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ।
स्वस्थ मान्छेमा भन्दा पहिलादेखि नै कुनै पनि दीर्घरोग लागेको व्यक्तिमा यो भाइरसको संक्रमणपछि जटिल समस्याहरु देखिनसक्ने हुनाले स्वास्थ्यको ख्याल राख्नु अति नै जरुरी हुन्छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन, तनाव व्यवस्थापन गर्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न निम्नलिखित उपाय अपनाउन सकिन्छ:
सरसफाइमा ध्यान दिउँ
• बारम्बार साबुनपानीले हात धुने गरौँ।
• हात धुदा कम्तीमा पनि २० सेकेन्डसम्म हातको सबैतिर पर्नेगरी मिचिमिची धुने गरौँ।
• हातले नाक मुख अथवा आँखा छुने नगरौं ।
• हाच्छिउँ गर्दा कुहिनोले नाक र मुखलाई छोप्ने गरौं ।
• बाहिरबाट घरमा फर्केपछि सरसफाइमा विशेष ध्यान दिने गरौं।
• सार्वजनिक स्थानका कुनै पनि वस्तु छोएपछि साबुन वा सेनिटाइजरले हात सफा गरौं।
सामाजिक नियमको पालना गरौं
• अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कने।
• आफ्नो कामकाजमा जानुपर्ने भएमा सुरक्षाका सबै उपाय अपनाउने।
• घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने।
• भीडभाडबाट बचौं किनकी यो महामारी फैलाउने प्रमुख कारक तत्व हो।
• सार्वजनिक ठाउँ तथा भीडभाडमा जानै पर्ने भए कम्तीमा १/२ मिटरको सामाजिक दूरी कायम गर्ने।
• विवाह, व्रतबन्ध, जमघट जस्ता धेरै भीड हुने कार्यक्रमहरूमा सहभागी नभएकै राम्रो, यदि हुनुपर्ने भए सामाजिक दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिने।
• मास्कको प्रयोग: फोहोर हातले मास्क नछुने, दैनिक मास्कको सरसफाइ गरेर घाममा सुकाउने, प्रत्येक दिन नयाँ अथवा धोएर सफा बनाएको मास्क प्रयोग गर्ने।
स्वास्थ्यको ख्याल गरौं
स्वास्थ्य राम्रो भए शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। रोग प्रतिरोधात्मक क्षमता यो भाइरससँग बच्न तथा लड्नको लागि एकदमै महत्त्वपूर्ण हतियार हो। तसर्थ, आफ्नो स्वास्थ्यको ख्याल गरौं।
• ज्वरो आएमा, रुघाखोकी लागेमा अथवा अरू कुनै लक्षणहरू देखापरेमा घरमा नै बस्ने, यदि कोरोनाको शंका लागेमा तुरुन्तै चिकित्सकलाई देखाउने।
• मुटु रोग, दम, मधुमेह तथा कुनै पनि दीर्घरोग छ भने यी रोगीहरूको राम्रो हेरचाह गर्ने।
• मद्यपान र धूमपानको सेवन नगर्ने।
खानपानमा ध्यान दिउँ
• सम्भव भएसम्म घरबाहिर खाना नखाने। यदि बाध्यतावस खानैपर्ने भएमा सरसफाइमा विशेष ध्यान दिने।
• पर्याप्त मात्रामा पानी पिउने (उमालेर राखेको मनतातो पानी)।
• दैनिक मनतातो दूधमा एक चिम्टी शुद्ध बेसार मिसाएर पिउने।
• प्राकृतिक र स्वस्थकर खाना खाने। अस्वस्थकर खाना त्याग गर्ने।
• खानासँग काँचो सलाद खाने। सलादमा २/३ पोटी लसुन र प्याजलाई अनिवार्य गर्ने।
• प्राकृतिक जडिबुटीको सेवन गर्ने: गुर्जो,अदुवा, बेसार, तुलसी, अमला।
• रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरू: प्राकृतिक खाना, काँचो सलाद, उमारेका गेडागुडी, फलफूल, अमिला जातका फलफूल, गेडागुडी, सूर्यमुखी तथा फर्सीको बियाँ, गाजर, हरिया सागपात इत्यादि।
योग गरौं
दैनिक योगको अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा तनाव व्यवस्थापनमा सहयोग गर्छ। निम्नलिखित योगका अभ्यासहरु गर्न सकिन्छ:
• आसन: सूक्ष्म व्यायाम, सूर्य नमस्कार, गोनुखासन, नौकासन, मार्जरी आसन,धनुरासन, त्रिकोणासन, नाडासन, बज्रासन, शशंकासन, शवासन् आदि।
• प्राणायाम: अलुलोम-विलोम, भस्त्रिका, कपालभाती, नाडीशुद्धि, भ्रामरी आदि।
• जल नेती (दैनिक), कुञ्जल ( हप्तामा २ पटक)।
• कुनै पनि ध्यान, योग निद्रा,भजन-किर्तन आदि।
प्राकृतिक तरिका
प्राकृतिक तरिकाहरुले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न तथा तनाव व्यवस्थापनमा सहयोग गर्छ।
• सूर्य स्नान गर्ने दैनिक रुपमा सम्भव भएसम्म (बिहान ९ बजेभित्र अथवा बेलुका ५ बजेपछि मात्र, २० देखि ३० मिनेटको लागि)।
• मनतातो पानीमा नुन राखेर घाँटी कुल्ला गर्ने (दिनको १/२ पटक)।
• तातो पानीको बाफ लिने (दिनको १/२ पटक)।
• उपवास बस्ने (हप्तामा १ पटक वा १५ दिनमा एक पटक)।
• बेलुका छिट्टै सुत्ने तथा बिहान सबेरै उठ्ने।
• ६ देखि ८ घन्टाको निद्राको आवश्यकता पूरा गर्ने।
• शारीरिक तथा मानसिक शान्तिमा ध्यान दिने।
• अनावश्यक तथा गलत समचारहरु नसुन्ने।
• मोबाइल, टिभी तथा विद्युतीय सामग्रीको कम प्रयोग गर्ने।
• सामाजिक दूरी बनाउनुपर्ने यो अवस्थामा भावनात्मक रुपमा आफ्नो परिवार,साथीभाइ,नातेदारसँग नजिकै रहने।
नडराउँ तर सुरक्षित बनौं
अहिले कोरोनाको नाममा एकदमै डर-त्रास बढ्दै गएको छ। कोरोना भाइरस लाग्दैमा मृत्यु हुने होइन। यदि विश्वको तथ्याङ्क हेर्ने हो भने १०० जनामा यो भाइरस लाग्दा ४/५ जना तथा नेपालमा ४५० जनाभन्दा बढीमा लाग्दा १ जनाको मृत्यु भएको पाइन्छ। खासगरी यसले ६० वर्ष उमेर काटेका तथा पहिलादेखि नै दीर्घरोग भएकाहरुलाई यो भाइरसले गाल्ने गरेको पाइन्छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने ५० वर्षभन्दा कम उमेर समूहमा यो रोग देखिएको छ तर रोग लागेकामध्ये एकदमै कममा मात्र जटिल अवस्था देखिएको छ। ३९ जना मृत्यु भनिएको छ, मृत्यु हुनेमा कोरोना संक्रमण त देखियो तर कोरोना भाइरसका कारणले मृत्यु भएको हो भन्ने अवस्था भने छैन। तसर्थ कोरोनको नाममा फैलएको डर-त्रासबाट जोगिऔं, साथमा कोरोन संक्रमणबाट जोगिन यथासम्भव उपायहरु पनि अपनाऔं।
कथंकदाचित कोरोना संक्रमण भइहाल्यो भने भने पनि डराउनु पर्दैन, किनकि यो रोग लाग्दैमा मरिहालिँदैन। यदि यो रोग लागिहाल्यो भने चिन्ता गरेर बस्नुको सट्टा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनतिर लाग्नुपर्छ। किनकि रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा यो रोगमाथि सजिलै तथा छिटो विजय पाउन सकिन्छ।