काठमाडौं - हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी ह्याम्स अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोना संक्रमितको उपचार गर्ने गरेको जनाएको छ।
अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र कोरोना संक्रमितको उपचार गर्ने गरेको जनाएको हो।
कुनै पनि बिरामीमा कोरोना पोजेटिभ देखिए सरकारले तोकेको अस्पतालमा जान र त्यही सेवा दिन आग्रह गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि मात्र बिरामीको स्वीकृतिपछि मन्त्रालयको निर्देशिका अनुसार उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड – १९ पोजिटिभ देखिएको अवस्थामा यस अस्पतालका चिकित्सक लगायतको टोलीले सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामीसँग आग्रह गर्दछन्। त्यस पश्चात यदि बिरामीबाट यसै अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र स्वास्थ्य मन्त्रालय तथा यस अस्पतालले तय गरेको गाइडलाइन आधारमा उपचार गर्दै आएका छौं।’
पिसिआर परीक्षण पनि मन्त्रालयले तोकेको अस्पतालमा परीक्षण गर्न पठाउने गरेको विज्ञप्तिमा भनिएको छ। अस्पतालको साख गिराउने उद्देश्यका साथ गलत सन्देश बाहिर प्रवाह भएको अस्पतालको दाबी छ।
केही सञ्चार माध्यमहरूले कपोकल्पित र भ्रामक समाचारहरू प्रकाशन गरेकोमा खेद जनाउँदै यसअघि अस्पतालको बारेमा छापिएका नकारात्मक समाचारको पनि अस्पतालले खण्डन गरेको छ।
यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति
कोभिड–१९ ले विश्वभरी नै विषम परिस्थितीको सिर्जना भएको तथ्य सर्वविदितै छ। नेपालमा पनि यस महामारीेले गर्दा सम्पूर्ण क्षेत्रमा सामाजिक तथा आर्थिक हिसावले ठूलो असर पर्न गएको छ। स्वास्थ्य सेवा प्रवाह क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ। एकातर्पm आर्थिक रुपले संकट पर्न गएको छ भने अर्को तर्पm स्वास्थ्यकर्मीहरु संक्रमित हुने जोखिम उत्तिकै बढी छ। स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्दै यस महामारी संग लड्नु आज सवैको दायित्व हो।
स्थापनाकाल देखि नै हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले सेवाग्राही विरामीहरु लाई सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ। कोभिड–१९ ले सिर्जना गरेको यस भयावह परिस्थितीमा समेत यस अस्पताल तथा स्वास्थ्यकर्मीले रत्तिभर विचलित नभई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ। आफ्नो दायित्व सम्झेर अटोठ भावनाका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा समेत केही समाचार माध्यमहरुले विभिन्न स्वार्थका लागि कपोलकल्पित तथा भ्रामक समाचारहरु प्रकाशन गर्नु खेदपूर्ण तथा दुःखद छ। उक्त भ्रामक समाचारहरुमा कुनै सत्य तथ्य नभएको जानकारी गराउन यस अस्पतालमा सेवा लिन आउने सम्पूर्ण विरामी तथा विरामीका आफन्तहरु तथा आम जनमानसमा लाई अस्पतालको तर्फ बाट जानकारी गराउँदछौं।
बिरामी भई यस ह्याम्स अस्पताल मा सेवा लिने क्रममा कोभिड – १९ पोजिटिभ देखिएको अवस्थामा यस अस्पताल का चिकित्सक लगायत को टोलीले नेपाल सरकारले तोकेको अस्पताल मा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामी सँग आग्रह गर्दछन्। त्यस पश्चात यदि बिरामी बाट यसै अस्पताल मा उपचार गर्ने र अस्पताल ले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र यस अस्पताल ले सो बिरामी लाई स्वास्थ्य मन्त्रालय तथा यस अस्पताल ले तय गरेको गाईडलाईन आधारमा उपचार गरीने ब्यहोरा आम जनमानसमा जानकारी गराउँदछौं।
पि सी आर रिपोर्ट को सम्बन्धमा आज मिति २०७७ – ०४ –०३ गते का दिन सम्म पि सी आर रिपोर्ट यस ह्याम्स अस्पताल ले निर्देशिका बमोजिम विरामीको आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा टेष्ट गर्न पठाउने गरेको पनि जानकारी गराउन चाहान्छौं। कोभिड – १९ को कारण संसार नै अफ्ठ्यारो परिस्थितिमा रहेकोबेला हरेक क्षेत्र , नेपाल सरकार, सम्पूर्ण व्यवसायी, ब्यक्ती एकजुट भई कोभिड – १९ को बिरूद्ध सामूहिक लडाई आजको आवश्यकता हो। यसै कुरालाई मध्यनजर गर्दै यस ह्याम्स अस्पताल परिवार ले महिनाको करोडौँ रूपियाँ घाटा खाएर देश र जनता प्रति उत्तरदायित्व निर्वाह गरिरहेका छौं। यस्तो बिषम परिस्थितिमा व्यक्तिगत तथा निजी स्वार्थको लागि अस्पतालको साख गिराउने अभिप्रायका साथ गलत तथा झुठो समाचार सम्प्रेषण भएको प्रति अस्पताल परिवार खेद प्रकट गर्दछौं। साथै सत्यतथ्य समाचार पत्रकारिता को मूल धर्म रहने सत्य नभुल्न आग्रह गर्दछौं। यस विषम परिस्थिती संग जुध्न मिडियाहरुको ठूलो भूमिका रहने तथ्यलाई स्मरण गराउँदै जस्तो सुकै जटिल परिस्थिति सिर्जना भए पनि यस ह्याम्स अस्पताल तथा यहाँका स्वास्थ्यकर्मीहरु कटिबद्ध भएर सम्पूर्ण विरामीहरुको उपचारमा अहोरात्र इमान्दारीका साथ आफ्नो जीवनको परवाह नगरी जुट्ने प्रतिवद्धता व्यक्त गर्दछौ।
डा. ज्योतीन्द्र शर्मा
कार्यकारी निर्देशक
हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)