काठमाडौं- कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताए।
आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन्। नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०/१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ/छ जना, बाँके र दाङमा पाँच/पाँच जना रहेका छन्। यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई÷दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक/एक जना सङ्क्रमित रहेका छन्।
उनका अनुसार आज कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ। योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन्। यो ६६.२४ प्रतिशत रहेको छ। मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन्। भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन्।
यसैगरी नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्कादेशभन्दा पिसिआर परीक्षण धेरै गरेको छ। नेपालले प्रति १० लाखमा १० हजार ८२७ जनाको पिसिआर परीक्षण गरेको छ। अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ। नेपालमा हालसम्म ४० जनाको कोभिड– १९ बाट मृत्यु भएको छ। रासस