काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि उत्पादक संघ (एपोन)को आन्दोलनबारे वार्ता गरी रायसुझाव दिन समिति गठन गरेको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटाको नेतृत्वमा समिति गठन भएको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निणर्य गर्दै आइतबार एपोनको समस्या समाधान गर्न डा देवकोटा संयोजक, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री सदस्य रहेको समिति गठन गरेका हुन्।
समितिका संयोजक डा देवकोटाले आजै एपोनसँग पहिलो चरणको वार्ता भएको जानकारी दिँदै भने,‘आजको बैठकमा उहाँहरुले आफ्ना मागका बारेमा जानकारी गराउनुभयो। केही बुँदामा बिस्तृत छलफल पनि भयो। बाँकि विषयमा भोलिको बैठकमा छलफल हुन्छ।’
एपोनले एकसाता देखि स्वास्थ्य मन्त्रालयले आफुहरुसँगको विगतमा गरेका सम्झौता कार्यान्वयन नभएको, स्वदेशमा उत्पादनका लागि सक्षम कम्पनी हुँदाहुँदै विदेशी कम्पनीलाई स्यानीटाइजरका लागि समय थप गरेको भन्दै विरोध गर्दै आइरहेको छ।
त्यसबाहेक मन्त्री संयोजक र औषधि उत्पादकहरु रहेको परामर्श समिति र सचिवको संयोजक रहेको सल्लाहकार समितिको बैठक नबसेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।