काठमाडौं - गण्डकी प्रदेशमा सोमबार १२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा मात्र संक्रमितको संख्या १३ हजार १ सय १७ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गरी सोमबार थप १२ जनामा कोरोना पुष्टि भएको जनाएको हो। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको निर्देशनालले जनाएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका २ र स्याङजाका १ जनामा कोरोना भेटिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङका १ र कास्कीका ८ जनामा कोरोना भेटिएको विज्ञप्तिमा उल्लेख छ।
गण्डकी प्रदेशमा हाल १ हजार ८ सय २४ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयले जनाएको छ।
