काठमाडौं- रौतहटको राजदेवी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य स्वयंसेविका एवं स्वास्थ्यकर्मीहरुले सुविधा एवं भत्ता नपाएको भन्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए कार्यक्रम सञ्चालन गरेवापत र स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को समयमा खटिएवापत पाउनुपर्ने जोखिम भत्ताा, प्रोत्साहन भत्ता र अन्य सुविधा नपाएको भन्दै राजदेवी नगरपालिकामा ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा कर्मचारीहरुले आफ्नो जिउज्यान तथा परिवार समेतलाई जोखिममा राखी खटिएवापत पाउनुपर्ने सुविधा र भत्ता नपाएको उल्लेख गरेका छन्। नगर प्रमुख, प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका संयोजक समेतको रोहबरमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागप्रति बेवास्ता गरिएकाले विरोधका कार्यक्रम गर्न बाध्य भएको उनीहरुले जनाएका छन्।
स्वास्थ्यकर्मीहरुले साउन ६ र ७ गते नगरपालिकामा धर्ना दिने र ८ गते माग सम्बोधन नभएसम्म नगरपालिकाको प्रशासन, स्वास्थ्य शाखामा ताल्चा लगाई धर्ना जारी राख्ने कार्यक्रम राखेका छन्।