चितवन- भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष छन्।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए। ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती बिरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ।
उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए। उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ।
मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ। चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ। मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ। रासस