काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परिक्रमा विद्यार्थी परिवारले साहित्यिक कार्यक्रम 'काव्यक्रमा' को आयोजना गरेको छ। विश्वव्यापी कोरोना महामारीका कारण पाएको यथेष्ट समयमा आफूभित्र लुकेको प्रतिभा प्रष्फुटन गर्ने ध्येयका साथ काव्यक्रमाको आयोजना गरिएको हो।
यही ७ साउनदेखि ३१ साउनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशका मेडिकल कलेजमा स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अन्य देशमा चिकित्सा शास्त्र पढिरहेका तर कार्यक्रम अवधिभर नेपालमै रहेका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।
दुई चरणमा विभाजित उक्त कार्यक्रममा साउन १४ गतेसम्ममा सबैले आफ्ना कविता बुझाइसक्नुपर्ने छ। तत्पश्चात् निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा नेपाली विधाका १० एवं अङ्ग्रेजी विधाका १० उत्कृष्ट रचना छनोट गरिनेछ। त्यसरी छानिएका २० प्रतियोगीले आफ्नो सिर्जनाको वाचन गरी त्यसको भिडियो पठाउनुपर्नेछ, जसलाई परिक्रमाको आधिकारिक युटुब च्यानलमा राखिनेछ।
सोही भिडियोका आधारमा दुवै विधाका उत्कृष्ट ३ प्रतियोगीको घोषणा गरिनेछ। साथै अत्यधिक हेरिएको र रुचाइएको भिडियोलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ तर उत्कृष्ट ३ विजेताको छनोटमा भने निर्णायक मण्डलको एकाधिकार रहनेछ।
कार्यक्रममा दुवै विधाका विजेताले रु. २००० नगदसहित साहित्यिक पुस्तकहरू पाउनेछन् भने द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई साहित्यिक पुस्तकहरू साथै क्रमश रु १५०० र रु १००० नगद हस्तान्तरण गरिनेछ।
मेडिकल विद्यार्थीका साहित्यिक मोहलाई उजागर गर्ने उद्येश्यले आयोजित काव्यक्रमामा नेपाली विधाको निर्णायकका रूपमा कवि मनु मञ्जिल र साहित्यकार इन्दिरा प्रसाईँ रहने छन् भने अङ्ग्रेजीतर्फ प्राडा अभि सुवेदी र साहित्यकार तथा समालोचक महेश पौड्याल रहने छन्। आफ्ना अन्य कार्यक्रमझैँ यस कार्यक्रम पनि भव्यताका साथ सम्पन्न हुने विश्वास परिक्रमा परिवारले लिएको छ।